मोशाको सट्टामा यहोशूको नियुक्ति
31
अनि मोशा गए, र यी वचनहरू सारा इस्राएललाई भने। 2 अनि उनले तिनीहरूलाई भने: “आज म एक सय बीस वर्ष पुगें; अब उसो म बाहिर जान र भित्र आउन सक्दिनँ; परमप्रभुले पनि मलाई ‘तिमी यस यर्दनपारि नजानू!’ भन्नुभएको छ। 3 परमप्रभु तिम्रा परमेश्वर नै तिम्रो सामु पारि जानुहुनेछ; उहाँले नै ती जातिहरूलाई तिम्रो सामुबाट नष्ट पार्नुहुनेछ; अनि तिमीले तिनीहरूलाई आफ्नो कब्जामाक पार्नेछौ; अनि यहोशू – तिनीचाहिँ परमप्रभुले भन्नुभएअनुसार तिम्रो अघि-अघि पारि जानेछन्। 4 अनि एमोरीहरूका राजा सीहोन र ओगसित, साथै तिनीहरूको देशसित परमप्रभुले जस्तो गर्नुभएको थियो – जसलाई उहाँले नष्ट गर्नुभयो – तिनीहरूसित पनि उहाँले त्यस्तै गर्नुहुनेछ। 5 अनि परमप्रभुले तिनीहरूलाई तिमीहरूको सामु सुम्पिदिनुहुनेछ, र तिमीहरूले तिनीहरूसित ती सबै आज्ञाहरूअनुसार गर्नू, जुन आज्ञाहरू मैले तिमीहरूलाई आज्ञा गरेको छु! 6 बलिया होओ र खूब साहसी होओ! नडराओ, न ता तिनीहरूसित भयभीत होओ; किनकि परमप्रभु तिम्रा परमेश्वर, अँ, उहाँ नै तिम्रो साथमा जानुहुन्छ; उहाँले न तिमीलाई छोड़्नुहुन्छ, न तिमीलाई त्याग्नुहुन्छ।”7 तब मोशाले यहोशूलाई बोलाए, र सारा इस्राएलको सामु तिनलाई भने: “बलिया होऊ, र खूब साहसी होऊ; किनकि तिमी नै यी मानिसहरूको साथमा त्यस देशमा जानुपर्छ, जसको विषयमा परमप्रभुले तिनीहरूका पितापुर्खाहरूसँग ‘तिनीहरूलाई दिनेछु’ भनी शपथ खानुभएको थियो; अनि तिमीले तिनीहरूलाई त्यसको अधिकारी तुल्याउनेछौ। 8 अनि परमप्रभु नै, अँ, उहाँ नै तिम्रो अघि-अघि जानुहुन्छ; उहाँ तिम्रो साथमा रहनुहुन्छ; उहाँले तिमीलाई छोड़्नुहुन्न र तिमीलाई त्याग्नुहुन्न; नडराऊ, निराश नहोऊ!”
9 अनि मोशाले यो व्यवस्था लेखे र परमप्रभुको वाचाको सन्दुक बोक्ने लेवी पूजाहारीहरू र इस्राएलका सबै बूढ़ा प्रधानहरूलाई सुम्पे। 10 अनि मोशाले उनीहरूलाई यसो भन्दै आज्ञा गरे: “हरेक सात वर्षको अन्तमा, छोड़िदिनेख वर्षको तोकिएको समयमा, झुपड़ीहरूको चाड़को समयमा, 11 जब सारा इस्राएल परमप्रभु तिम्रा परमेश्वरको सामु, त्यस ठाउँमा देखा पर्न आउँछ, जुन ठाउँ उहाँले चुन्नुहुनेछ, तब तिमीले यो व्यवस्था सारा इस्राएलको सामु तिनीहरूका सुन्ने गरीग पढ़िदिनू! 12 मानिसहरूलाई अर्थात् पुरुषहरू, स्त्रीहरू र बालबच्चाहरू, साथै तिम्रा मूलढोकाहरूभित्र बस्ने तिम्रो परदेशीलाई भेला गर, र तिनीहरूले सुनून्, तिनीहरूले सिकून्, परमप्रभु तिमीहरूका परमेश्वरको डर मानून् र यस व्यवस्थाका सबै वचनहरू होशियारसाथ पालन गरून्; 13 अनि जुन देशमा त्यसलाई कब्जाघ गर्न तिमीहरू यस यर्दनपारि गइरहेका छौ, त्यहाँ तिमीहरू बाँचुन्जेल तिनीहरूका छोराछोरीहरूले, जसले केही जानेका छैनन्, सुनून् र परमप्रभु तिमीहरूका परमेश्वरको डर मान्न सिकून्।”
इस्राएलीहरूले परमप्रभुलाई त्याग्ने सम्बन्धमा भविष्यवाणी
14 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “हेर, तिम्रो मर्ने दिन नजिक आइपुग्यो; यहोशूलाई बोलाऊ, अनि तिमी दुईजना भेट हुने पालमा हाजिर होओ, र म उसलाई जिम्मेवारीङ सुम्पुँला।” तब मोशा र यहोशू गए, र भेट हुने पालमा हाजिर भए। 15 अनि परमप्रभु निवासस्थानमा बादलको खाँबामा देखा पर्नुभयो; अनि बादलको खाँबा निवासस्थानको ढोकामा खड़ा भयो। 16 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “हेर, तिमी आफ्ना पितापुर्खाहरूसित सुत्नेछौ;च अनि यी मानिसहरू उठ्नेछन्, र त्यस देशका परदेशी देवताहरूको पछि लागेर वेश्याकर्म गर्नेछन् – त्यस देशको बीचमा, जहाँ तिनीहरू गइरहेका छन्; अनि तिनीहरूले मलाई त्याग्नेछन्, र मैले तिनीहरूसँग बाँधेको वाचा तोड़्नेछन्। 17 अनि त्यस दिन मेरो क्रोध तिनीहरूको विरोधमा दन्कनेछ; अनि म तिनीहरूलाई त्याग्नेछु र तिनीहरूबाट आफ्नो अनुहार लुकाउनेछु; अनि तिनीहरू आहार बन्नेछन्, र तिनीहरूमाथि धेरै खराबी र सङ्कष्टहरू आइपर्नेछन्; तब तिनीहरूले त्यस दिन भन्नेछन्: ‘हाम्रा परमेश्वर हाम्रो बीचमा नहुनुभएको हुनाले त यी खराबीहरू हामीमाथि आइपरेका होइनन्?’ 18 अनि अरू देवताहरूतिर लागेर जुन खराबी तिनीहरूले गर्नेछन्, ती सबैको कारणले म निश्चय नै त्यस दिन आफ्नो अनुहार लुकाउनेछु। 19 यसकारण अब तिमीहरूले यो गीत आफ्ना निम्ति लेख, र इस्राएलीहरूलाई यो सिकाओ; यो तिनीहरूलाई मुखस्त गराओ,छ र यो गीत इस्राएलीहरूको विरोधमा मेरा निम्ति साक्षी बनोस्! 20 किनकि जब म तिनीहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएको दूध र मह बग्ने देशमा ल्याइपुर्याउँला; अनि तिनीहरू खाई-खाईकन तृप्त हुन्छन् र मोटाउँछन्, तब तिनीहरू अरू देवताहरूतिर लाग्नेछन्, उनीहरूको पूजा गर्नेछन् र मलाई तुच्छ ठानेर मेरो वाचा तोड़्नेछन्। 21 अनि यस्तो हुनेछ: जब तिनीहरूमाथि धेरै खराबी र सङ्कष्टहरू आइपर्छन्, तब यस गीतले एउटा साक्षी भईकन तिनीहरूको विरोधमा गवाही दिनेछ; किनकि तिनीहरूका सन्तानको मुखबाट यो बिर्सिइनेछैन; किनकि अहिले नै, मैले तिनीहरूलाई आफूले शपथ खाएको देशमा ल्याइपुर्याउनुभन्दा पहिल्यै म तिनीहरूले गरिरहेको तिनीहरूको कल्पना जान्दछु।”
22 यसकारण मोशाले त्यही दिन त्यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए। 23 अनि परमप्रभुलेज नूनका छोरा यहोशूलाई जिम्मेवारीझ सुम्पेर भन्नुभयो: “बलिया होऊ, र खूब साहसी होऊ; किनकि तिमीले इस्राएलीहरूलाई त्यस देशमा पुर्याउनेछौ, जसको विषयमा मैले तिनीहरूसित शपथ खाएको थिएँ; अनि म तिम्रो साथमा हुनेछु।”
24 अनि यस्तो भयो: जब मोशाले यस व्यवस्थाका वचनहरू अन्तसम्मै एउटा पुस्तकमा लेखिसिद्धाए, 25 तब मोशाले परमप्रभुको वाचाको सन्दुक बोक्ने लेवीहरूलाई यसो भन्दै आज्ञा गरे: 26 “यस व्यवस्थाको पुस्तक लेओ, र यसलाई परमप्रभु तिमीहरूका परमेश्वरको वाचाको सन्दुकको छेउमा राख, र त्यहाँ यो तिम्रो विरोधमा साक्षीको रूपमा रहोस्! 27 किनकि म तिम्रो विद्रोह र तिम्रो हठीपनाञ जान्दछु; हेर, आज तिमीहरूको साथमा म जीवित हुँदा-हुँदै पनि तिमीहरू परमप्रभुको विरोधमा विद्रोही भएका छौ भने मेरो मृत्युपछि त झन् कति बढ़ी हुनेछौ!
28 तिमीहरूका कुलहरूका सबै बूढ़ा प्रधानहरू र तिमीहरूका अधिकारीहरूलाई मकहाँ भेला गर! र म तिनीहरूका कानमा यी वचनहरू बोल्नेछु, र तिनीहरूको विरोधमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्नेछु। 29 किनकि म जान्दछु, मेरो मृत्युपछि तिमीहरूले आफूलाई बिलकुलै भ्रष्ट पार्नेछौ, र मैले तिमीहरूलाई आज्ञा गरेको बाटोबाट भड़्किनेछौ; अनि पछिल्ला दिनहरूमा तिमीहरूमाथि खराबी आइपर्नेछ; किनकि आफ्ना हातको कामद्वारा उहाँको रिस उठाउनका निम्ति तिमीहरूले परमप्रभुको दृष्टिमा खराबी गर्नेछौ।”
30 अनि मोशाले त्यस गीतका वचनहरू अन्तसम्मै इस्राएलका सम्पूर्ण सभाका कानहरूमा भनिदिए।