सारा तनमनले परमप्रभुकहाँ फर्केर आएमा पाउने आशिष्‌हरू
30
“अनि यस्तो हुनेछ: जब यी सबै कुराहरू अर्थात् मैले तिम्रो सामु राखिदिएको आशिष्‌ र श्राप तिमीमाथि आइपर्छन्, अनि जब सबै जातिहरूको बीचमा, जहाँ परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई धपाइपठाउनुभएको छ, तिमीले तिनलाई सम्झना गर्छौ, 2 र परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्कन्छौ, अनि मैले आज तिमीलाई आज्ञा गरेका सबै कुराहरूअनुसार तिमी र तिम्रा छोराछोरीहरूले आफ्नो सम्पूर्ण हृदय र आफ्नो सम्पूर्ण प्राणले उहाँको वाणी पालन गर्छौ; 3 तब परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई कैदबाट फर्काएर ल्याउनुहुनेछ, र तिमीलाई टिठाउनुहुनेछ, अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई जहाँ-जहाँ छरिदिनुभएको छ, ती सबै जातिहरूबाट तिमीलाई फर्काएर भेला पार्नुहुनेछ। 4 यदि तिमीमध्ये कुनै आकाशको पल्‍लो छेउसम्म धपाइएको छ भने पनि त्यहाँबाट परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई भेला पार्नुहुनेछ, र त्यहाँबाट पनि तिमीलाई ल्याउनुहुनेछ; 5 अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई तिम्रा पितापुर्खाहरूले अधिकार गरेको देशभित्र ल्याउनुहुनेछ, अनि तिमीले त्यसलाई अधिकार गर्नेछौ; अनि उहाँले तिम्रो भलाइ गर्नुहुनेछ, र तिमीलाई संख्यामा तिम्रा पितापुर्खाहरूभन्दा ज्यादै बढ़ाउनुहुनेछ। 6 अनि परमप्रभु तिम्रा परमेश्‍वरलाई तिम्रो सम्पूर्ण हृदय र तिम्रो सम्पूर्ण प्राणले प्रेम गर्नका निम्ति परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रो हृदय र तिम्रा सन्तानको हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमी जिउनेछौ। 7 अनि परमप्रभु तिम्रा परमेश्‍वरले यी सबै श्रापहरू तिम्रा शत्रुहरूमाथि र तिमीलाई घृणा गर्नेहरूमाथि लगाउनुहुनेछ, जसले तिमीलाई सताएका थिए। 8 तब तिमी फर्कनेछौ र परमप्रभुको वाणी पालन गर्नेछौ अनि उहाँका सबै आज्ञाहरू पूरा गर्नेछौ, जुन आज्ञाहरू आज म तिमीलाई आज्ञा गर्दछु। 9 अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रो हातको हरेक काममा, साथै तिम्रो शरीरको फलमा, तिम्रा गाईबस्तुको फलमा र तिम्रो जमिनको फलमा तिमीलाई असल कुराले भरपूर पार्नुहुनेछ; किनकि जसरी परमप्रभुले तिम्रा पितापुर्खाहरूमा आनन्द गर्नुहुन्थ्यो, त्यसरी नै उहाँले तिमीमा पनि भलाइका निम्ति फेरि आनन्द गर्नुहुनेछ; 10 यदि परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू र उहाँका विधिहरू, जुन आज्ञा र विधिहरू यस व्यवस्थाको पुस्तकमा लेखिएका छन्, पालन गर्नका निम्ति तिमीले उहाँको सोर सुन्छौ भने, र आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले तिमी परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्कन्छौ भने।
जीवन र मृत्यु, आशिष्‌ र श्रापको बीचमा जीवन चुन!
11 “किनकि यो आज्ञा, जो आज म तिमीलाई आज्ञा गर्दछु, योचाहिँ तिमीबाट लुकेको छैन, न ता यो टाढ़ा नै छ। 12 न ता यो स्वर्गमा छ, र तिमीले भनौला: ‘हाम्रा निम्ति माथि स्वर्गमा को जाला, र त्यसलाई हामीकहाँ ल्याउला, कि हामी त्यो सुनौं र त्यसलाई पालन गरौं?’ 13 न ता यो समुद्रपारि नै छ, र तिमीले भनौला: ‘हाम्रा निम्ति समुद्रपारि को जाला र त्यसलाई हामीकहाँ ल्याउला, कि हामी त्यो सुनौं र त्यसलाई पालन गरौं?’ 14 तर वचन तिम्रो अति नजिकमा छ, तिम्रै मुखमा र तिम्रै हृदयमा छ, यसैले कि तिमीले यसलाई पालन गर्न सक।
15 हेर, मैले आज तिम्रो अघि जीवन र भलाइ, मृत्यु र खराबी राखिदिएको छु; 16 यसैले परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड़्नू अनि उहाँका आज्ञाहरू, उहाँका विधिहरू र उहाँका नियमहरू पालन गर्नू भनी म आज तिमीलाई आज्ञा गर्दछु; जसले गर्दा तिमी जिउनेछौ र संख्यामा बढ़्नेछौ; अनि परमप्रभु तिम्रा परमेश्‍वरले त्यस देशमा तिमीलाई आशिष्‌ दिनुहुनेछ, जहाँ तिमी त्यसलाई अधिकार गर्न गइरहेका छौ। 17 तर तिम्रो हृदय बहकिएर तिमी आज्ञाकारी भएनौ भने, अनि लालायित भएर तिमीले अरू देवताहरूलाई दण्‍डवत्‌ गर्‍यौ र तिनीहरूको पूजा गर्‍यौ भने, 18 म आज तिमीहरूलाई घोषणा गर्दछु: तिमीहरू निश्‍चय नै नाश हुनेछौ; जुन देशमा त्यसलाई कब्जा गर्नलाई पस्‍न तिमीहरू यस यर्दनपारि जान्छौ, त्यस देशमा तिमीहरू धेरै दिनसम्म रहन पाउनेछैनौ। 19 म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरोधमा साक्षी राख्दछु, कि मैले तिम्रो सामु जीवन र मृत्यु, आशिष्‌ र श्राप राखिदिएको छु; यसकारण जीवन चुन, तब तिमी जिउनेछौ – तिमी र तिम्रा सन्तान; 20 र तिमीले परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रेम गर्न सक, उहाँको वाणी पालन गर्न सक र उहाँसँग टाँसिरहन सक; किनकि उहाँ नै तिम्रो जीवन र तिम्रो लामो आयु हुनुहुन्छ; अनि परमप्रभुले तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसँग तिनीहरूलाई ‘दिनेछु’ भनी शपथ खानुभएको देशमा तिमी रहिरहन सक।”