मोआब देशमा परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्‍नुभएको वाचा र शपथ
29
होरेबमा इस्रालीहरूसँग बाँध्‍नुभएको वाचाबाहेक यी त्यस वाचाका वचनहरू हुन्, जुन वाचा परमप्रभुले मोआब देशमा तिनीहरूसँग बाँध्‍नू भनी मोशालाई आज्ञा गर्नुभयो।
2 अनि मोशाले सारा इस्राएललाई बोलाएर तिनीहरूलाई भने: “परमप्रभुले तिमीहरूका आँखाहरूको सामु मिस्र देशमा फाराओ, त्यसका कर्मचारीहरू र त्यसको सारा देशसँग जे-जे गर्नुभयो, ती सबै कार्यहरू तिमीहरूले देखेका छौ; 3 अर्थात् तिम्रा आँखाहरूले देखेका ती ठूला-ठूला विपत्तिहरू, ती चिन्हहरू र ती ठूला-ठूला अचम्मका कामहरू; 4 तरै पनि आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने हृदय, देख्‍ने आँखाहरू र सुन्‍ने कानहरू दिनुभएको छैन। 5 अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाड़स्थानमा डोर्‍याएँ; तिमीहरूका लुगाहरू तिमीहरूका शरीरमाथि पुराना भएका छैनन्, न ता तिम्रो जुत्ता तिम्रो पाउमा पुरानो भएको छ। 6 तिमीहरूले रोटी खाएका छैनौ, न ता तिमीहरूले दाखमद्य र मदिरा पिएका छौ; परमप्रभु तिम्रा परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍न सक भनेर यस्तो भएको हो। 7 अनि जब तिमीहरू यस ठाउँमा आयौ, तब हेश्बोनको राजा सीहोन र बाशानको राजा ओग हामीसँग लड़ाइँ गर्न निस्केर आए, अनि हामीले तिनीहरूलाई मार्‍यौं; 8 अनि हामीले तिनीहरूको देश लियौं, र त्यो रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौं। 9 यसकारण यस वाचाका वचनहरू मानेर तिनलाई पालन गर! तब तिमीहरूले जे गर्दछौ, ती सबै कामहरूमा तिमीहरू सफल हुनेछौ।
10 आज तिमीहरू आफ्ना परमेश्‍वरको सामु खड़ा छौ, तिमीहरू सबै – तिमीहरूका कुलहरूका तिमीहरूका कप्‍तानहरू, तिमीहरूका बूढ़ा प्रधानहरू र इस्राएलका सबै पुरुषहरूको साथमा तिमीहरूका अधिकारीहरू, 11 तिमीहरूका बालबच्‍चाहरू, तिमीहरूका पत्‍नीहरू र तिम्रो छाउनीमा बस्‍ने तिम्रो परदेशी – तिम्रो दाउरा काट्नेदेखि लिएर तिम्रो पानी भर्नेसम्म खड़ा छौ, 12 परमप्रभु तिम्रा परमेश्‍वरको यस वाचामा र उहाँको यस शपथमा सहभागी हुनलाई, जुन वाचा र शपथ परमप्रभु तिम्रा परमेश्‍वरले आज तिमीसँग बाँध्‍नुहुन्छ। 13 फलस्वरूप उहाँले आज तिमीलाई आफ्ना निम्ति प्रजाको रूपमा स्थापित गर्नुहुनेछ र उहाँ आफूचाहिँ तिम्रा परमेश्‍वर हुनुहुनेछ, जसरी उहाँले तिमीलाई भन्‍नुभएको छ, र जसरी उहाँले तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो।
14 यो वाचा र यो शपथ म तिमीहरूसँग मात्र बाँध्दिनँ; 15 तर त्योसँग पनि, जो आज हामीसित परमप्रभु हाम्रा परमेश्‍वरको सामु खड़ा छ; र त्योसँग पनि, जो आज यहाँ हामीसित छैन; 16 (किनकि तिमीहरू जान्दछौ, कसरी हामी मिस्र देशमा बसेका थियौं, र कसरी हामी ती जातिहरूको बीचबाट भएर आयौं, जसलाई तिमीहरूले पछिल्तिर छोड़्यौ; 17 अनि तिमीहरूले तिनीहरूका घृणित वस्तुहरू देखेका छौ, तिनीहरूका मूर्तिहरू – काठ र ढुङ्गा, चाँदी र सुन – जुन मूर्तिहरू तिनीहरूको बीचमा थिए।) 18 होशियार, नत्र कहीं तिमीहरूको बीचमा कुनै यस्तो पुरुष, वा स्त्री, वा परिवार वा कुल होला, जसको हृदय आज ती जातिहरूका देवताहरूको पूजा गर्न जानलाई परमप्रभु आफ्ना परमेश्‍वरबाट बहकिएला! नत्र कहीं तिमीहरूको बीचमा पित्त र तीतेपाती उमार्ने जरा निस्कला! 19 अनि यस्तो हुन्छ: जब त्यसले यी श्रापका वचनहरू सुन्छ, र ‘मैले मेरो हृदयको हठीपनामा हिँड़े पनि मलाई शान्ति हुन्छ नै’ भन्दै त्यसले सिँचिएकोलाई तिर्खा लागेकोसँग उठाइलैजानलाई आफ्नो हृदयमा आफूलाई आशीर्वाद दिन्छ भने, 20 परमप्रभुले त्यसलाई छोड़्नुहुनेछैन, तर त्यस बेला परमप्रभुको क्रोध र उहाँको जलन त्यस मानिसको विरोधमा जलिउठ्नेछन्, अनि यस पुस्तकमा लेखिएका सबै श्रापहरू त्यसमाथि आइपर्नेछन्, अनि परमप्रभुले त्यसको नाम आकाशमुनिबाट मेटाइदिनुहुनेछ। 21 अनि व्यवस्थाको यस पुस्तकमा लेखिएको वाचाका सबै श्रापहरूअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलहरूबाट खराबीका निम्ति अलग पार्नुहुनेछ;
22 तब आउनेवाला पुस्ता अर्थात् तिमीहरूपछि खड़ा हुने तिमीहरूका छोराछोरीहरू र टाढ़ा देशबाट आउने परदेशीले परमप्रभुले यसमाथि ल्याउनुभएको यस देशका विपत्तिहरू र यसका रोगहरू देखेर भन्‍नेछन् – 23 यसको सारा जमिन गन्धक र नुन, अँ, जलिरहेको आगो भएको छ; यहाँ बीउ छरिँदैन, न फल लाग्छ, न यहाँ कुनै घाँस उम्रन्छ – परमप्रभुले आफ्नो क्रोध र आफ्नो तातो रिसमा नष्‍ट गर्नुभएका सदोम र गमोरा, अद्‌मा र सबोयीमजस्तै; 24 अँ, सबै जातिहरूले भन्‍नेछन्: ‘परमप्रभुले यस देशसँग किन यस्तो गर्नुभयो? यस ठूलो रिसको तापको अर्थ के हो?’ 25 तब मानिसहरूले भन्‍नेछन्: ‘किनभने तिनीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको उहाँको वाचालाई तिनीहरूले त्यागिदिए; 26 किनकि तिनीहरूले गएर अरू देवताहरूको पूजा गरे, र तिनीहरूलाई दण्‍डवत्‌ गरे; यस्ता देवताहरूलाई, जसलाई तिनीहरूले जानेकै थिएनन्, र जसमा उहाँले तिनीहरूलाई कुनै भाग दिनुभएकै थिएन। 27 यसैले यस देशको विरोधमा, यस पुस्तकमा लेखिएका सबै श्रापहरू यसमाथि खन्याउनलाई परमप्रभुको क्रोध दन्केको हो। 28 अनि परमप्रभुले रिसमा, क्रोधमा र ठूलो प्रकोपमा तिनीहरूलाई तिनीहरूको देशबाट उखालेर तिनीहरूलाई अर्को देशमा फालिदिनुभयो, जस्तो आज भइरहेको छ।’
29 गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्; तर यस व्यवस्थाका सबै वचनहरू हामीले पालन गरौं भनेर प्रकट गरिएका कुराहरूचाहिँ सधैंका निम्ति हाम्रा र हाम्रा छोराछोरीहरूका हुन्।”