आज्ञाकारीहरूमाथि आइपर्ने आशिष्हरू
28
“अनि यस्तो हुनेछ: परमप्रभु आफ्ना परमेश्वरका ती सबै आज्ञाहरू, जुन आज्ञाहरू म आज तिमीलाई आज्ञा गर्दछु, तिमीले होशियारसाथ पालन गर्नका निम्ति उहाँको सोर यत्नपूर्वक सुन्यौ भने परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीका सबै जातिहरूभन्दा उच्च पार्नुहुनेछ; 2 अनि तिमीले परमप्रभु तिम्रा परमेश्वरको सोर ध्यानपूर्वक सुन्यौ भने यी सबै आशिष्हरू तिमीमाथि आइपर्नेछन्क र तिमीलाई भेट्टाउनेछन्: 3 तिमी शहरमा आशिषित हुनेछौ, र तिमी खेतबारीमा आशिषित हुनेछौ। 4 तिम्रो शरीरको फल, तिम्रो जमिनको फल, तिम्रा घरेलु पशुहरूको फल, तिम्रो गाईबस्तुको वृद्धि र तिम्रा भेड़ाबाख्राहरूको बगाल आशिषित हुनेछन्। 5 तिम्रो डालो र तिम्रो पीठो मुछ्ने आरी आशिषित हुनेछन्। 6 भित्र आउँदा तिमी आशिषित हुनेछौ, र बाहिर जाँदा तिमी आशिषित हुनेछौ।7 तिम्रो विरोधमा उठ्ने तिम्रा शत्रुहरूलाई परमप्रभुले तिम्रो मुखको सामु हार खुवाउनुहुनेछ; तिनीहरू तिम्रो विरोधमा एउटा बाटोबाट निस्केर आउनेछन् र तिम्रो सामुबाट सातवटा बाटाबाट भाग्नेछन्। 8 तिम्रा ढुकुटीहरूमा, र तिमीले आफ्नो हात लगाएका सबै कुराहरूमा परमप्रभुले तिमीमाथि आशिष् बर्सनेख आज्ञा गर्नुहुनेछ; अनि उहाँले तिमीलाई त्यस देशमा आशिष् दिनुहुनेछ, जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ। 9 तिमीले परमप्रभु तिम्रा परमेश्वरका आज्ञाहरू पालन गर्यौ र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीसँग शपथ खानुभएअनुसार परमप्रभुले तिमीलाई आफ्ना निम्ति एउटा पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ। 10 अनि तिमी परमप्रभुको नामले कहलाइएका छौग भनी पृथ्वीका सबै जातिहरूले देख्नेछन्, र तिमीसँग डराउनेछन्। 11 अनि परमप्रभुले तिमीलाई तिम्रो शरीरको फलमा, तिम्रा पशुहरूको फलमा र तिम्रो जमिनको फलमा असल कुराले भरपूर पार्नुहुनेछ, त्यस देशमा, जुन देश परमप्रभुले ‘तिमीलाई दिनेछु’ भनी तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो। 12 तिम्रो जमिनमाथि आफ्नो ऋतुमा झरी बर्साउन र तिम्रो हातका सबै काममा आशिष् दिनलाई परमप्रभुले तिम्रा निम्ति आफ्नो आकाशरूपी उत्तम भण्डार खोलिदिनुहुनेछ; अनि तिमीले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीले चाहिँ ऋण लिनेछैनौ। 13 अनि यदि तिमीले परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू, जुन आज्ञाहरू आज म तिमीलाई दिन्छु,घ मान्न र पालन गर्नका निम्ति ध्यानसित सुन्यौ भने, 14 अनि जुन वचनहरू म आज तिमीलाई आज्ञा गर्दछु, ती वचनमध्ये कुनैबाट दाहिने वा देब्रेतिर अरू देवताहरूको पछि लागेर तिनीहरूको पूजाङ गर्नलाई भड़्किएर गएनौ भने परमप्रभुले तिमीलाई पुच्छर होइन, तर शिर बनाउनुहुनेछ; अनि तिमी तल रहनेछैनौ, तर माथि मात्र रहिरहनेछौ।”
अनाज्ञाकारीहरूमाथि आइपर्ने श्रापहरू
15 “तर यस्तो हुनेछ: परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू र उहाँका विधिहरू, जुन आज्ञा र विधिहरू आज म तिमीलाई आज्ञा गर्दछु, होशियारसाथ पालन गर्नका निम्ति तिमीले उहाँको सोर ध्यानसित सुनेनौ भने यी सबै श्रापहरू तिमीमाथि आइपर्नेछन्, र तिमीलाई भेट्टाउनेछन्: 16 तिमी शहरमा श्रापित हुनेछौ, र तिमी खेतबारीमा श्रापित हुनेछौ। 17 तिम्रो डालो र तिम्रो पीठो मुछ्ने आरी श्रापित हुनेछन्। 18 तिम्रो शरीरको फल, तिम्रो जमिनको फल, तिम्रो गाईबस्तुको वृद्धि र तिम्रा भेड़ाबाख्राहरूको बगाल श्रापित हुनेछन्। 19 भित्र आउँदा तिमी श्रापित हुनेछौ, र बाहिर जाँदा तिमी श्रापित हुनेछौ।
20 तिम्रा कामहरूको दुष्टताले गर्दा, जसद्वारा तिमीले मलाई त्यागेका छौ, जबसम्म तिमी नाश हुँदैनौ र चाँड़ै मेटिँदैनौ, तबसम्म तिमीले गर्नलाई आफ्नो हात लगाएका सबै कामकुराहरूमा परमप्रभुले तिमीमाथि श्राप, गड़बड़ीच र हप्की पठाइरहनुहुनेछ। 21 जुन देशमा, त्यसलाई अधिकार गर्न तिमी जान्छौ, त्यहाँबाट तिमीलाई नमेटाउन्जेल परमप्रभुले तिमीमाथि महामारी पठाइरहनुहुनेछ।छ 22 परमप्रभुले क्षय-रोग, भुङ्ग्रे ज्वरो, दहन, भतभती पोलाइ, तरवार, सेप्र्याइ र ढुँड़ीले तिमीलाई हिर्काउनुहुनेछ; अनि जबसम्म तिमी नाश हुँदैनौ, तबसम्म ती कुराहरूले तिमीलाई खेदिरहनेछन्। 23 अनि तिम्रो टाउकोमाथिको तिम्रो आकाश पित्तल बन्नेछ, र तिमीमुनि भएको पृथ्वी फलाम बन्नेछ। 24 परमप्रभुले तिम्रो देशको झरीको रूपमा धूलो र बालुवा दिनुहुनेछ; तिमी नाश नहोउन्जेल आकाशबाट त्यो तिमीमाथि बर्सनेछ। 25 तिम्रा शत्रुहरूको सामु परमप्रभुले तिमीलाई हार खुवाउनुहुनेछ; तिमी तिनीहरूको विरोधमा एउटा बाटोबाट निस्केर जान्छौ, तर तिनीहरूको सामुबाट सातवटा बाटाबाट भाग्नेछौ; पृथ्वीका सबै राज्यहरूमा तिमी आतङ्कको कारण बन्नेछौ। 26 तिम्रो लास आकाशका सबै चराहरू र पृथ्वीका पशुहरूको आहार हुनेछ; अनि कसैले तिनीहरूलाई धपाउनेछैन।
27 परमप्रभुले तिमीलाई मिस्रको पोल्ने खटिरा, सुजनहरू,ज लुतो र दादले हिर्काउनुहुनेछ, जसबाट तिमी निको हुन सक्नेछैनौ। 28 परमप्रभुले तिमीलाई पागलपना, अन्धापना र हृदयको अत्यासले हिर्काउनुहुनेछ। 29 अनि अन्धाले अन्धकारमा छामछुम गरेझैं तिमीले मध्यदिनमा छामछाम-छुमछुम गर्नेछौ; अनि तिमीले आफ्ना मार्गहरूमा उन्नति गर्नेछैनौ; अनि तिमी थिचोमिचोमा मात्र पर्नेछौ र सधैंभरि लुटिनेछौ; अनि कसैले तिमीलाई बचाउनेछैन। 30 तिमीले कुनै स्त्रीसँग मगनी गर्नेछौ, तर अर्को मानिसले त्यसलाई भ्रष्ट पार्नेछ;झ तिमीले घर बनाउनेछौ, तर तिमी त्यसमा बस्न पाउनेछैनौ; तिमीले दाखबारी लगाउनेछौ, तर तिमीले त्यसको फल खान पाउनेछैनौ। 31 तिम्रै आँखाको सामु तिम्रो गोरु मारिनेछ, तर तिमीले त्यसबाट खान पाउनेछैनौ; तिम्रो गधा तिम्रै सामुबाट जबर्जस्ती खोसिनेछ, तर तिमीकहाँ फर्काइनेछैन; तिम्रा भेड़ाबाख्राहरू तिम्रा शत्रुहरूलाई दिइनेछन्, तर तिनलाई छुटाउने तिम्रो कोही हुनेछैन। 32 तिम्रा छोराहरू र तिम्रा छोरीहरू अर्को जातिलाई दिइनेछन्; अनि तिम्रा आँखाले हेर्नेछन्, र दिनभरि तिनीहरूको चाहना गरेर ती टट्टाउँछन्;ञ तर तिमी केही गर्न सक्दैनौ।ट 33 तिम्रो जमिनको उब्जनी र तिम्रो सारा परिश्रम तिमीले नजानेको जातिले खाइदिनेछ; अनि तिमी थिचोमिचोमा मात्र पर्नेछौ, र सधैंभरि पिँधिनेछौ; 34 अनि तिमीले आफ्ना आँखाहरूले जे देख्नेछौ, त्यस दृश्यको कारणले तिमी पागल हुनेछौ। 35 परमप्रभुले तिमीलाई घुँड़ामा र खुट्टाहरूमा तिम्रो पैतालादेखि तिम्रो थाप्लोसम्म नराम्रा पोल्ने खटिराहरूले हिर्काउनुहुनेछ, जुन खतिराहरू निको हुन सक्दैनन्। 36 परमप्रभुले तिमीलाई र तिम्रा राजालाई, जसलाई तिमीले आफूमाथि नियुक्त गर्नेछौ, एउटा जातिकहाँ लैजानुहुनेछ, जसलाई न तिमीले न ता तिम्रा पितापुर्खाहरूले चिनेका छन्; अनि त्यहाँ तिमीले अरू देवताहरूको, काठ र ढुङ्गाको पूजाङ गर्नेछौ। 37 अनि सबै जातिहरूको बीचमा, जहाँ परमप्रभुले तिमीलाई पुर्याउनुहुनेछ, तिमी अत्यास, उपमा र खिसीको पात्र बन्नेछौ।
38 तिमीले बाहिर खेतबारीमा धेरै बीउ लैजानेछौ, तर थोरै मात्र भित्र जम्मा गर्नेछौ; किनकि सलहले त्यसलाई खाइदिनेछ। 39 तिमीले दाखबारीहरू लगाउनेछौ, र परिश्रम गर्नेछौ, तर तिमीले न ता दाखमद्य पिउनेछौ न अङ्गुर बटुल्नेछौ; किनकि कीराले तिनलाई खाइदिनेछन्। 40 तिम्रा सारा सिमानाभरि तिम्रा जैतुनका रूखहरू त हुन्छन्, तर तिमीले त्यसको तेल लाउनेछैनौ; किनकि तिम्रो जैतुनको फल झर्नेछ। 41 तिमीले छोराहरू र छोरीहरू जन्माउनेछौ, तर ती तिम्रा हुनेछैनन्; किनकि ती कैदमा जानेछन्। 42 तिम्रा सबै रूखहरू र तिम्रो जमिनको फल सलहले स्वाहा पार्नेछन्। 43 तिम्रो बीचमा बस्ने परदेशी तिमीभन्दा धेरै माथि उठ्नेछ, तर तिमी धेरै तल झर्नेछौ। 44 त्यसले तिमीलाई ऋण दिनेछ, तर तिमीले त्यसलाई ऋण दिनेछैनौ; त्यो शिर हुनेछ, तर तिमी पुच्छर हुनेछौ।
45 अनि जबसम्म तिमी नाश हुँदैनौ, तबसम्म यी सबै श्रापहरू तिमीमाथि आइपर्नेछन्, तिनले तिमीलाई पिछा गर्नेछन् र तिमीलाई फेला पार्नेछन्; किनकि परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू र उहाँका विधिहरू, जुन आज्ञा र विधिहरू उहाँले तिमीलाई आज्ञा गर्नुभयो, पालन गर्नका निम्ति तिमीले उहाँको सोर ध्यानसित सुनेनौ; 46 अनि यी कुराहरू एउटा चिन्ह र एउटा छक्क पार्ने विषयठ बनेर तिमीमाथि र तिम्रा सन्तानमाथि सधैंभरि रहिरहनेछन्। 47 सबै थोकको भरपूरी भए तापनि तिमीले परमप्रभु आफ्ना परमेश्वरको सेवा हर्ष र हृदयको आनन्दको साथ गरेनौ; 48 यसैकारण तिमीले भोकमा, तिर्खामा, नाङ्गो अवस्थामा र सबै थोकको खाँचोमा परेर आफ्ना शत्रुहरूको सेवा गर्नेछौ, जसलाई परमप्रभुले तिम्रो विरोधमा पठाउनुहुनेछ; अनि जबसम्म उहाँ तिमीलाई नष्ट पार्नुहुन्न, तबसम्म उहाँले तिम्रो गर्दनमाथि फलामको जुवा राख्नुहुनेछ।
49 परमप्रभुले एउटा जातिलाई टाढ़ाबाट अर्थात् पृथ्वीको छेउबाट गरुड़ उड़ेझैं वेगसित तिम्रो विरोधमा उठाएर ल्याउनुहुनेछ – एउटा जाति, जसको भाषा तिमी बुझ्दैनौ; 50 एउटा जाति, जसको चेहरा निर्दयी हुन्छ, जसले न वृद्ध मानिसको आदर गर्नेछ, न युवकयुवतीमाथि दया देखाउनेछ; 51 अनि जबसम्म तिमी नाश हुँदैनौ, तबसम्म त्यसले तिम्रो गाईबस्तुको फल र तिम्रो जमिनको फल खानेछ; जबसम्म त्यसले तिमीलाई नाश पार्दैन, तबसम्म त्यसले तिम्रा निम्ति न अन्न, न दाखरस, न तेल, न ता गाईबस्तुको वृद्धि, न ता भेड़ाबाख्राको बगाल छोड़्नेछ। 52 अनि जबसम्म तिम्रो सारा देशभरि तिम्रा अग्ला र बलिया पर्खालहरू गिर्दैनन्, जसमाथि तिमीले भरोसा गर्दछौ, तबसम्म त्यसले तिम्रा सबै मूलढोकाहरूभित्र तिमीलाई घेरिराख्नेछ; अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको तिम्रो सारा देशभरि तिम्रा सबै मूलढोकाहरूभित्र त्यसले तिमीलाई घेरिराख्नेछ। 53 अनि त्यस घेराबन्दी र सङ्कष्टले गर्दा, जसद्वारा तिम्रा शत्रुहरूले तिमीलाई सङ्कष्टमा पार्नेछन्, तिमीले आफ्नै शरीरको फल अर्थात् परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएका आफ्नै छोराहरू र आफ्नै छोरीहरूको मासु खानेछौ। 54 यसो हुँदा तिम्रो बीचमा जुन मानिस कोमल र अति दयालु छ, त्यसको आँखाधरि आफ्नो भाइप्रति र आफ्नै छातीमा टाँसिने स्वास्नीप्रति, साथै आफूले छोड़ेका आफ्नै बाँकी छोराछोरीहरूप्रति खराब हुनेछ; 55 यसैले आफूले खान चाहेका आफ्नै छोराछोरीहरूको मासुबाट त्यसले तीमध्ये कसैलाई पनि केही दिनेछैन; किनकि त्यस घेराबन्दी र सङ्कष्टले गर्दा, जसद्वारा तिम्रा शत्रुहरूले तिम्रा सबै मूलढोकाहरूभित्र तिमीलाई सङ्कष्टमा पार्नेछन्, त्यसका निम्ति केही खानेकुरा बाँकी रहेको हुँदैन। 56 तिम्रो बीचमा जो स्त्री कोमल र दयालु छे, जसले सुकुमारीपना र कोमलताले गर्दा आफ्नो पैताला भुइँमा टेकाउने साहस गरेकी हुँदैन, त्यसको आँखाधरि आफ्नै छातीमा टाँसिने लोग्नेप्रति, साथै आफ्नै छोरा र आफ्नै छोरीप्रति खराब हुनेछ; 57 साथै आफ्नै खुट्टाहरूको बीचबाट निस्कने आफ्नो सालप्रति र आफ्नै बालबच्चाहरूप्रति पनि, जो त्यसले जन्माउनेछे, त्यसको आँखा खराब हुनेछ; किनकि त्यो घेराबन्दी र सङ्कष्ट हुँदा, जसद्वारा तिम्रा शत्रुहरूले तिम्रा मूलढोकाहरूभित्र तिमीलाई सङ्कष्टमा पार्नेछन्, त्यसले सबै कुराको घटीले गर्दा तिनीहरूलाई लुकेरड खानेछे।
58 यदि तिमीले यस महिमित र भययोग्य नाम ‘परमप्रभु तिम्रा परमेश्वर’को डर राख्नका निम्ति यस पुस्तकमा लेखिएका यस व्यवस्थाका सबै वचनहरू होशियारसाथ पालन गरेनौ भने, 59 परमप्रभुले तिम्रा विपत्तिहरू र तिम्रा सन्तानका विपत्तिहरू अद्भूत तुल्याउनुहुनेछ: लामो समयसम्म भइरहने ठूला विपत्तिहरू, अनि लामो समयसम्म भइरहने नराम्रा रोगहरू। 60 अनि उहाँले मिस्रका सबै रोगहरू, जससँग तिमी डराउँथ्यौ, तिमीमाथि फर्काएर ल्याउनुहुनेछ; अनि ती तिमीमा टाँसिरहनेछन्। 61 अनि यस व्यवस्थाको पुस्तकमा नलेखिएको हरेक रोग र हरेक विपत्ति पनि, तिमी नाश नहोउन्जेल परमप्रभुले तिमीमाथि ल्याउनुहुनेछ। 62 अनि तिमीहरू आकाशका ताराहरूझैं असंख्य भीड़ थियौ, तापनि तिमीहरू संख्यामा थोरै बाँकी रहनेछौ; किनकि तिमीले परमप्रभु आफ्ना परमेश्वरको वाणी पालन गर्न चाहेनौ। 63 अनि यस्तो हुनेछ: तिमीहरूको विषयमा परमप्रभुलाई तिमीहरूको भलाइ गर्न र तिमीहरूलाई संख्यामा बढ़ाउनमा जसरी आनन्द लाग्दथ्यो, त्यसरी नै तिमीहरूको विषयमा तिमीहरूलाई नष्ट गर्न र तिमीहरूको सत्यनाश पार्नमा परमप्रभुलाई आनन्द लाग्नेछ; अनि जुन देशमा, त्यसलाई अधिकार गर्न तिमी जाँदैछौ, त्यस देशबाट तिमीहरू उखालिनेछौ। 64 अनि परमप्रभुले तिमीलाई पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितरबितर पार्नुहुनेछ; अनि त्यहाँ तिमीले अरू देवताहरूको, काठ र ढुङ्गाको पूजाच गर्नेछौ, जसलाई न तिमीले न तिम्रा पितापुर्खाहरूले जानेका छन्। 65 अनि यी जातिहरूको बीचमा तिमीले कुनै चैन पाउनेछैनौ, न ता तिम्रो पैतालाले विश्राम पाउनेछ; तर परमप्रभुले तिमीलाई त्यहाँ कामिरहने हृदय, धमिलो देख्ने आँखाहरू र मनको व्याकुलता दिनुहुनेछ; 66 अनि तिम्रो जीवन तिम्रो सामु दोधारमा झुन्डिरहनेछ; दिनरात तिमीले डराउनुपर्नेछ; अनि तिम्रो जीवनको कुनै भरोसा हुनेछैन। 67 तिम्रो हृदयको डरको कारणले, जुन डरमा तिमी पर्नेछौ, र तिम्रा आँखाहरूको दृश्यको कारणले, जुन दृष्य तिमीले देख्नेछौ, तिमीले बिहानीपख भन्नेछौ: ‘अहिले साँझ हुनु नि!!’ र साँझपख भन्नेछौ: ‘अहिले बिहान हुनु नि!!’ 68 अनि परमप्रभुले तिमीलाई फेरि जहाजहरूमा मिस्रमा ल्याउनुहुनेछ, त्यही बाटोबाट, जसको विषयमा मैले तिमीलाई भनेको थिएँ, ‘तिमीले यसलाई फेरि कहिल्यै देख्नेछैनौ’; अनि त्यहाँ तिमीहरू कमारा-कमारीहरू हुनका निम्ति तिम्रा शत्रुहरूको हातमा बेचिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।”