व्यवस्थाका सबै वचनहरू ठूला ढुङ्गाहरूमाथि लेख्‍ने आदेश
27
अनि मोशाले इस्राएलका बूढ़ा प्रधानहरूसित मानिसहरूलाई यसो भन्दै आज्ञा गरे: “जति आज्ञाहरू म आज तिमीहरूलाई आज्ञा गर्दछु, ती सबै आज्ञाहरू पालन गर! 2 अनि यस्तो होस्: जुन दिन तिमीहरू यर्दन पार गरेर परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको देशमा पुग्छौ, त्यस दिन तिमीले आफ्ना निम्ति ठूला-ठूला ढुङ्गाहरू खड़ा गर्नू, र तिनलाई चुनाले लिप्‍नू! 3 अनि तिमी पार भएपछि यस व्यवस्थाका सबै वचनहरू ती ढुङ्गाहरूमाथि लेख्‍नू, फलस्वरूप परमप्रभु तिम्रा पितापुर्खाहरूका परमेश्‍वरले तिमीलाई प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको देशमा अर्थात् त्यस देशमा, जहाँ दूध र मह बग्छन्, तिमी प्रवेश गर्न सक! 4 यसकारण यस्तो होस्: जब तिमीहरू यर्दन पार गर्दछौ, तब तिमीहरूले ती ढुङ्गाहरू, जसको विषयमा म आज तिमीहरूलाई आज्ञा गर्दछु, एबाल पहाड़माथि खड़ा गर्नू, र तिमीले तिनलाई चुनाले लिप्‍नू! 5 अनि त्यहाँ तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति एउटा वेदी, ढुङ्गाहरूको एउटा वेदी बनाउनू; तिमीले ती ढुङ्गाहरूमाथि कुनै फलामको हतियार नचलाउनू! 6 तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको वेदी सिङ्गा-सिङ्गा ढुङ्गाहरूको बनाउनू; अनि त्यसमाथि तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति होमबलिहरू चढ़ाउनू! 7 तब तिमीले मेलबलिहरू चढ़ाउनू, र त्यहीं खानू, अनि परमप्रभु आफ्ना परमेश्‍वरको सामु आनन्द मनाउनू! 8 अनि ती ढुङ्गाहरूमाथि तिमीले यस व्यवस्थाका सबै वचनहरू एकदम सफासँग लेख्‍नू!”
9 अनि मोशा र लेवी पूजाहारीहरूले सारा इस्राएललाई यसो भने: “हे इस्राएल, चुप लाग, र सुन! आजको दिन तिमी परमप्रभु आफ्ना परमेश्‍वरको प्रजा भएका छौ। 10 यसकारण तिमीले परमप्रभु तिम्रा परमेश्‍वरको वाणी पालन गर्नू, र उहाँका आज्ञाहरू र उहाँका विधिहरू, जुन आज्ञा र विधिहरू म आज तिमीलाई आज्ञा गर्दछु, पूरा गर्नू!”
एबाल पहाड़बाट सुनाउनुपर्ने श्रापहरू
11 अनि त्यही दिन मोशाले मानिसहरूलाई यसो भन्दै आज्ञा गरे: 12 “तिमीहरू यर्दन पार भएपछि मानिसहरूलाई आशीर्वाद दिनका निम्ति यिनीहरू अर्थात् शिमोन, लेवी, यहूदा, इस्साकार, यूसुफ र बिन्यामिनचाहिँ गेरिजीम पहाड़माथि खड़ा होऊन्! 13 अनि श्राप दिनका निम्ति यिनीहरू अर्थात् रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली एबाल पहाड़माथि खड़ा होऊन्! 14 अनि लेवीहरूले बोलून् र चर्को सोरले इस्राएलका सबै मानिसहरूलाई भनून्:
15 ‘श्रापित होस् त्यो मानिस, जसले कुनै खोपेको वा ढालेको मूर्ति, त्‍यो परमप्रभुका निम्ति घृणित वस्तु हो, त्‍यो कारिगरका हातको काम बनाउँछ, र त्यसलाई कुनै गुप्‍त स्थानमा राख्छ!’ अनि सबै मानिसहरूले जवाफ दिएर भनून्: ‘आमेन!’
16 ‘श्रापित होस् त्यो मानिस, जसले आफ्ना बुबा वा आफ्नी आमालाई तुच्छ ठान्दछ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
17 ‘श्रापित होस् त्यो मानिस, जसले आफ्नो छिमेकीको सिमाना-ढुङ्गा सार्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
18 ‘श्रापित होस् त्यो मानिस, जसले अन्धालाई बाटोबाट भड़्काइदिन्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
19 ‘श्रापित होस् त्यो मानिस, जसले परदेशी, अनाथ र विधवाको न्याय बिगारिदिन्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
20 ‘श्रापित होस् त्यो मानिस, जसले आफ्ना बुबाकी पत्‍नीसँग कुकर्म गर्छ! किनकि त्यसले आफ्ना बुबाको वस्त्र उघार्छ।’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
21 ‘श्रापित होस् त्यो मानिस, जसले कुनै पशुसँग गमन गर्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
22 ‘श्रापित होस् त्यो मानिस, जसले आफ्नी बहिनी अर्थात् आफ्ना बुबाकी छोरी वा आफ्नी आमाकी छोरीसँग कुकर्म गर्छ! ’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
23 ‘श्रापित होस् त्यो मानिस, जसले आफ्नी सासुसँग कुकर्म गर्छ! ’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
24 ‘श्रापित होस् त्यो मानिस, जसले गुप्‍तमा आफ्नो छिमेकीलाई मार्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
25 ‘श्रापित होस् त्यो मानिस, जसले निर्दोष मानिसलाई मार्नका निम्ति घूस लिन्छ!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’
26 ‘श्रापित होस् त्यो मानिस, जसले यस व्यवस्थाका सबै वचनहरू पालन गर्नलाई तिनलाई पक्‍का तुल्याउँदैन!’ अनि सबै मानिसहरूले भनून्: ‘आमेन!’ ”