पहिलोफल र दसौं अंश
26
“अनि यस्तो होस्: जब तिमी त्यस देशभित्र प्रवेश गर्छौ, जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ, त्यसलाई आफ्नो अधिकारमा लिन्छौ र त्यहाँ बस्छौ; 2 तब जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, तिम्रो त्‍यस देशबाट तिमीले भित्र्याउने जमिनको सारा फलको पहिलो भागबाट केही लिएर तिमीले एउटा डालोमा हाल्नू, र त्यस ठाउँमा जानू, जुन ठाउँ परमप्रभु तिम्रा परमेश्‍वरले त्यहाँ आफ्नो नाम राख्‍नका निम्ति चुन्‍नुहुनेछ। 3 अनि तिमी त्यस समयको पूजाहारीकहाँ जानू, र उसलाई भन्‍नू: ‘आज म परमप्रभु तपाईंका परमेश्‍वरकहाँ यो घोषणा गर्दछु: जुन देशको विषयमा परमप्रभुले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिनेछु भनी शपथ खानुभएको थियो, त्यस देशमा म आइपुगेको छु।’ 4 अनि पूजाहारीले तिम्रो हातबाट त्यो डालो लेओस्, र त्यसलाई परमप्रभु तिम्रा परमेश्‍वरको वेदीको सामु राखिदेओस्! 5 अनि तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको सामु बोल्नू र भन्‍नू: ‘मेरा पुर्खा नाश हुन लागेका अरामी मानिस थिए; अनि उनी तल मिस्रमा झरे, र थोरै मानिसहरूसित उनले त्यहाँ बसोबास गरे; अनि त्यहाँ उनी एउटा ठूलो, शक्तिशाली र धेरै जनसंख्या भएको जाति बने। 6 अनि मिस्रीहरूले हामीसित खराब व्यवहार गरे, हामीलाई कष्‍ट दिए र हामीमाथि कठोर दासत्व लादिदिए; 7 अनि जब हामीले परमप्रभु हाम्रा पितापुर्खाहरूका परमेश्‍वरलाई पुकार्‍यौं, तब उहाँले हाम्रो विन्‍ती सुन्‍नुभयो अनि हाम्रो कष्‍ट, हाम्रो परिश्रम र हाम्रो थिचोमिचोमाथि दृष्‍टि लगाउनुभयो; 8 अनि परमप्रभुले आफ्नो सामर्थी हात र पसारेको पाखुराले, साथै ठूला आतङ्कहरू, चिन्हहरू र अचम्मका कामहरू देखाएर हामीलाई मिस्रबाट निकालेर ल्याउनुभयो। 9 अनि उहाँले हामीलाई यस ठाउँमा ल्याइपुर्‍याउनुभयो, र हामीलाई यो देश, एक दूध र मह बग्‍ने देश दिनुभयो। 10 अनि अब हेर्नुहोस्, हे परमप्रभु, जुन जमिन तपाईंले मलाई दिनुभएको छ, त्यस जमिनको पहिलो फल मैले ल्याएको छु।’ अनि तिमीले त्यसलाई परमप्रभु आफ्ना परमेश्‍वरको सामु राख्‍नू, र परमप्रभु आफ्ना परमेश्‍वरको सामु दण्‍डवत्‌ गर्नू; 11 अनि जति असल कुरा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई र तिम्रो घर-परिवारलाई दिनुभएको छ, ती सबै कुराहरूका निम्ति तिमीले, साथै लेवी र तिम्रो बीचमा बस्‍ने परदेशीले आनन्द मनाउनू!
12 तेस्रो वर्ष अर्थात् दसौं अंश दिने वर्षमा तिमीले आफ्नो सबै उब्जनीको दसौं अंश निकालिसकेपछि, र त्यो लेवी, परदेशी, अनाथ र विधवालाई, तिनीहरूले तिम्रा मूलढोकाहरूभित्र खाऊन् र तृप्‍त होऊन् भन्‍ने हेतुले दिइसकेपछि, 13 तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको सामु यसो भन्‍नू: ‘तपाईंले मलाई आज्ञा गर्नुभएका तपाईंका सबै आज्ञाहरूअनुसार मैले पवित्र वस्तुहरू मेरो घरबाट निकालें, अनि ती लेवी, परदेशी, अनाथ र विधवालाई पनि दिएँ; मैले तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरेको छैनँ, बिर्सेको पनि छैनँ; 14 मैले आफ्नो शोकको समयमा त्यसबाट केही खाएको छैनँ, न ता अशुद्ध अवस्थामा त्यसबाट केही निकालेको छु, न ता मरेकोका निम्ति त्यसबाट केही दिएको छु; तर मैले परमप्रभु मेरा परमेश्‍वरको सोर ध्यानपूर्वक सुनेको छु; तपाईंले मलाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार नै गरेको छु। 15 तपाईंले आफ्नो पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्, र आफ्नो प्रजा इस्राएललाई अनि यस भूमिलाई आशिष्‌ दिनुहोस्, जुन भूमि तपाईंले हाम्रा पितापुर्खाहरूसँग शपथ खानुभएअनुसार हामीलाई दिनुभएको छ – एक दूध र मह बग्‍ने देश।’
16 आजको दिन परमप्रभु तिम्रा परमेश्‍वरले यी विधिहरू र नियमहरू पालन गर्नू भनी तिमीलाई आज्ञा गर्नुभएको छ; यसकारण तिमीले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले तिनलाई मान्‍नू र पालन गर्नू! 17 ‘परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँका मार्गहरूमा हिँड़्‍नेछु, उहाँका विधिहरू, उहाँका आज्ञाहरू र उहाँका नियमहरू पालन गर्नेछु र उहाँको सोर ध्यानसित सुन्‍नेछु’ भनी तिमीले आजको दिन उहाँलाई स्वीकार गरेका छौ; 18 अनि परमप्रभुले तिमीसित प्रतिज्ञा गर्नुभएअनुसार तिमी उहाँको विशेष जाति हौ भनी उहाँले आजको दिन तिमीलाई स्वीकार गर्नुभएको छ; यसैले तिमीले उहाँका सबै आज्ञाहरू पालन गर्नुपर्छ; 19 तब उहाँले तिमीलाई प्रशंसामा, नाममा र महिमामा आफूले बनाउनुभएका सबै जातिहरूभन्दा उच्‍च पार्नुहुनेछ; यसैले उहाँले भन्‍नुभएअनुसार तिमी परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हुनुपर्छ।”