कुटाइ दिने सजायको नियम
25
“यदि मानिसहरूको बीचमा झगड़ा भयो, र न्यायकर्ताहरूले तिनीहरूको न्याय गरिदिऊन् भनी तिनीहरू न्यायका निम्ति नजिक आए भने उनीहरूले धर्मीलाई निर्दोष, र दुष्‍टलाई दोषी ठहऱ्याऊन्! 2 अनि यस्तो होस्: दुष्‍ट मानिस कुटाइ खान लायकको छ भने न्यायकर्ताले त्यसलाई भुइँमा सुताओस्, र त्यसको दोषअनुसार सङ्‍ख्‍यामा आफ्नै सामु कोर्रा हान्‍न लगाओस्! 3 उसले त्यसलाई चालीस कोर्रा दिन सक्छ, बढ़ी होइन; नत्र कहीं उसले बढ़ी गर्ला, र त्यसलाई यीभन्दा बढ़्‍ता कोर्रा हान्ला, तब तिम्रो भाइ तिम्रो नजरमा तुच्छ ठहरिएला।
4 दाइँ गर्दा तिमीले गोरुको मुखमा मोहोलो नलगाउनू!”
दाजुको वंश थाम्‍ने भाइको कर्तव्य
5 “यदि दाजुभाइहरू एकसाथ बस्छन्, र तीमध्ये एकजना सन्तान नभईकन मर्‍यो भने मृतककी पत्‍नीले परिवारदेखि बाहिर कुनै अन्य मानिससँग विवाह नगरोस्; उसको पतिको भाइ उसकहाँ जाओस्, उसलाई आफ्नी स्‍वास्‍नी तुल्याओस् र उससँग पतिको भाइको कर्तव्य पूरा गरोस्! 6 अनि यस्तो होस्: जुन जेठो छोरा त्यसले जन्माउँछे, त्योचाहिँ त्यस मानिसको मरेको दाजुको नामको ठहरियोस्, र इस्राएलबाट यसको नाम नमेटियोस्! 7 अनि त्यस मानिसले आफ्नो दाजुकी पत्‍नीलाई लिन चाहेन भने त्यसको दाजुकी पत्‍नी माथि मूलढोकामा बूढ़ा प्रधानहरूकहाँ जाओस् र भनोस्: ‘मेरा पतिको भाइले इस्राएलमा आफ्ना दाजुको नाम कायम राख्‍न इन्कार गर्छ; उसले मेरा पतिको भाइको कर्तव्य पूरा गर्न चाहँदैन।’ 8 तब त्यसको शहरका बूढ़ा प्रधानहरूले त्यसलाई बोलाऊन्, र त्यससँग कुरा गरून्; अनि त्यसले आफ्नो कुरामा अडिग रहेर ‘म उसलाई विवाह गर्न चाहँदिनँ’ भन्यो भने, 9 त्यसका दाजुकी पत्‍नी बूढ़ा प्रधानहरूको सामु त्यसको नजिक आओस्, त्यसको पाउबाट त्यसको जुत्ता फुकालोस्, त्यसको मुखमा थुकोस् र जवाफ दिँदै भनोस्: ‘जुन मानिसले आफ्नो दाजुको घर बनाउन चाहँदैन, त्यस मानिससँग यस्तै गरिन्छ।’ 10 अनि इस्राएलमा त्यसको नाम यस्तो राखिनेछ: ‘जुत्ता फुकालिएको मानिसको घराना।’ ”
अन्य केही नियमहरू
11 “मानिसहरू आपसमा एक-अर्कासँग लड़्‍दाखेरी एकजनाकी पत्‍नीले आफ्ना पतिलाई उसलाई हिर्काउनेको हातबाट छुटाउनका निम्ति नजिक आएर आफ्नो हात बढ़ाई त्यसको गुप्‍त अङ्ग पक्री भने, 12 तिमीले त्यसको हात काटिदिनू; तिम्रो आँखाले त्यसलाई नटिठाओस्!
13 तिमीले आफ्नो थैलोमा बेसी र कम्ती तौल भएका थरी-थरीका ढकहरू नराख्‍नू! 14 तिमीले आफ्नो घरमा कम्ती र बेसी नाप भएका थरी-थरीका माना-पाथीहरू नराख्‍नू! 15 तर तिम्रो ढक बिलकुल ठीक र धर्ममय होस्, तिम्रो माना-पाथी बिलकुल ठीक र धर्ममय होस्; फलस्वरूप जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, त्यस देशमा तिम्रो आयु लामो हुनेछ। 16 किनकि यस्ता काम गर्नेहरू सबै र अधर्म गर्ने सबै परमप्रभु तिम्रा परमेश्‍वरका निम्ति घृणित हुन्।”
अमालेकीहरूलाई नाश गर!
17 तिमीहरू मिस्र देशबाट निस्केर आउँदा बाटोमा अमालेकले तिमीसित के गर्‍यो, सो सम्झना गर! 18 अर्थात् त्यसले तिमीलाई बाटोमा भेट्यो, अनि तिमी क्लान्त र थकित भएको बेलामा तिम्रा सबैभन्दा पछिल्‍लाहरूलाई अर्थात् तिम्रा पछिल्तिरका सबै कमजोरहरूलाई मार्‍यो; अनि त्यसले परमेश्‍वरको डर मानेन। 19 यसकारण यस्तो होस्: परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा जुन देश, त्यसको अधिकार गर्न भनी दिनुहुन्छ, त्यस देशमा जब परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई चारैतिर तिम्रा सबै शत्रुहरूबाट विश्राम दिनुहुन्छ, तब तिमीले आकाशमुनिदेखि अमालेकको सम्झनाधरि मेटाइदिनू; तिमीले यो कुरा नबिर्सनू!”