त्याग-पत्र
24
“कुनै मानिसले कुनै स्त्रीलाई लिएर उसलाई विवाह गर्छ; अनि यस्तो होला: उसमा त्यसले केही अशुद्ध कुरा पाएको हुनाले त्यसको दृष्‍टिमा ऊ अप्रिय भई भने त्यसले उसलाई एउटा त्याग-पत्र लेखोस्, त्यो पत्र उसको हातमा देओस् र उसलाई आफ्नो घरबाट पठाइदेओस्! 2 अनि त्यसको घरबाट निस्केपछि ऊ गएर कुनै अर्को मानिसकी स्‍वास्‍नी हुन सक्छे। 3 अनि यस पछिल्‍लो लोग्‍नेले उसलाई घृणा गर्‍यो, उसलाई एउटा त्याग-पत्र लेखेर त्यो उसको हातमा दियो र उसलाई आफ्नो घरबाट पठाइदियो भने, अथवा उसलाई आफ्नी पत्‍नी तुल्याउने यो पछिल्‍लो लोग्‍ने मर्‍यो भने, 4 उसलाई पठाइदिने उसको पहिलो लोग्‍नेले, ऊ अशुद्ध भइसकेपछि, उसलाई फेरि आफ्नी पत्‍नी तुल्याउन पाउनेछैन; किनकि परमप्रभुको दृष्‍टिमा यो घृणित कुरा हो; अनि जुन देश परमप्रभुले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ, त्यस देशलाई तिमीले पाप गर्न नलाउनू!
5 कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यो लड़ाइँमा नजाओस्, न ता त्यसमाथि कुनै कामको भार लगाइयोस्; तर त्यो घरमा एक वर्ष छुट्टीमा रहोस्, र आफूले विवाह गरेको आफ्नी पत्‍नीलाई आनन्दित तुल्याओस्!
6 कसैले जाँतोको तल्‍लो फग्ल्याँटो वा माथिल्‍लो फग्ल्याँटो बन्धकको रूपमा नलेओस्; किनकि त्यसले त मानिसको प्राण नै बन्धकमा लिन्छ।
7 यदि कुनै मानिसलाई आफ्ना इस्राएली दाजुभाइहरूमध्ये कसैलाई अपहरण गरिरहेको भेट्टाइयो भने, अनि यसलाई व्यापारको माल तुल्यायो र यसलाई बेच्यो भने त्यो चोर मारियोस्; अनि तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनू!
8 कोरको रोगको विषयमा लेवी पूजाहारीहरूले तिमीहरूलाई जे सिकाउँछन्, ती सबै कुराहरू यत्‍नपूर्वक पालन गर्न र तीअनुसार गर्न होशियार होऊ! जस्तो मैले उनीहरूलाई आज्ञा गरेको छु, त्यस्तै तिमीहरूले होशियारसाथ पालन गर्नू! 9 तिमीहरू मिस्रबाट निस्केर आएपछि परमप्रभु तिम्रा परमेश्‍वरले बाटोमा मरियमलाई के गर्नुभयो, सो कुरा तिमीले सम्झना गर्नू!”
गरिब, परदेशी, अनाथ र विधवाप्रतिको व्यवहार
10 “जब तिमी आफ्नो छिमेकीलाई कुनै कुरा सापट दिन्छौ, तब त्यसको धरौटी लिन तिमी त्यसको घरभित्र नजानू! 11 तिमी बाहिरै उभिनू, अनि जुन मानिसलाई तिमीले सापट दिएका छौ, त्यसले धरौटी बाहिर तिमीकहाँ ल्याओस्! 12 तर त्यो मानिस गरिब छ भने त्यसको धरौटी आफूसँग राखेर तिमी नसुत्‍नू! 13 घाम अस्ताउनुसाथ तिमीले त्यो धरौटी निश्‍चय नै फर्काइदिनू, र त्यो आफ्नै ओढ़्नेभित्र सुतोस्, र तिमीलाई आशीर्वाद देओस्; अनि योचाहिँ परमप्रभु तिम्रा परमेश्‍वरको दृष्‍टिमा तिम्रा निम्ति धार्मिकता ठहरिनेछ।
14 तिमीले कुनै गरिब र खाँचोमा परेको ज्यालादारी नोकरलाई थिचोमिचो नगर्नू – चाहे त्यो आफ्नै दाजुभाइहरूबाटको होस्, चाहे आफ्नो देशका आफ्ना मूलढोकाहरूभित्र भएका आफ्ना परदेशीहरूबाटको होस्; 15 तिमीले त्यसको ज्याला त्यही दिन घाम अस्ताउनुभन्दा पहिले दिहाल्नू; किनकि त्यो गरिब छ, र आफ्नो मन त्यसैमाथि लगाएको हुन्छ; नत्र त्यसले तिम्रो विरोधमा परमप्रभुलाई पुकार्ला, र यो तिम्रा निम्ति पाप ठहरिनेछ। 16 छोराहरूका निम्ति बुबाहरू नमारिऊन्, न ता बुबाहरूका निम्ति छोराहरू मारिऊन्; हरेक मानिस आफ्नै पापका निम्ति मारियोस्!
17 तिमीले परदेशी वा अनाथको न्याय नबिगार्नू; न ता विधवाको ओढ़्ने बन्धक-स्वरूप लिनू! 18 तर तिमी पनि मिस्रमा कमारा थियौ, र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई त्यहाँबाट छुटकारा दिनुभयो भन्‍ने कुरा तिमीले सम्झना गर्नू; यसैले म तिमीलाई यही कुरा गर्नू भनी आज्ञा गर्दछु।
19 तिमीले आफ्नो खेतबारीमा आफ्नो बाली काट्दा तिमीले खेतबारीमा एउटा बिटा बिर्स्यौ भने त्यसलाई लिन तिमी फेरि नजानू; त्योचाहिँ परदेशी, अनाथ र विधवाका निम्ति होस्, फलस्वरूप परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई तिम्रा हातको सबै काममा आशिष्‌ दिनुहुनेछ। 20 जब तिमीले आफ्नो जैतुनको रूखबाट फल झार्छौ, तब तिमीले पछिबाट फेरि हाँगाहरूमा फल नखोज्‍नू; त्योचाहिँ परदेशी, अनाथ र विधवाका निम्ति होस्! 21 जब तिमीले आफ्नो दाखबारीबाट अङ्‍गुर बटुल्छौ, तब तिमीले पछिबाट फेरि टिपनटापन नगर्नू; त्योचाहिँ परदेशी, अनाथ र विधवाका निम्ति होस्! 22 अनि तिमी पनि मिस्र देशमा कमारा थियौ भन्‍ने कुरा तिमीले सम्झना गर्नू; यसैले म तिमीलाई यही कुरा गर्नू भनी आज्ञा गर्दछु।”