परमप्रभुको सभामा को-को पस्‍न पाउँदैनन्?
23
“जसको अण्डकोषमा चोट लागेको छ, वा जसको गुप्‍त अङ्ग काटिएको छ, त्यसले परमप्रभुको सभामा पस्‍न पाउनेछैन। 2 ठिमाहा परमप्रभुको सभामा नपसोस्; त्यसको दसौं पुस्तासम्म पनि त्यसको कोही परमप्रभुको सभामा नपसोस्! 3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा नपसोस्; अँ, तिनीहरूको दसौं पुस्तासम्म पनि तिनीहरूको कोही परमप्रभुको सभामा नपसोस्; 4 किनकि तिमीहरू मिस्र देशबाट निस्केर आउँदा तिनीहरूले तिमीहरूलाई बाटोमा रोटी र पानी लिएर भेटेनन्; अनि तिमीलाई श्राप दिन तिनीहरूले तिम्रो विरोधमा मेसोपोटामियाको पतोरबाट बओरको छोरा बालामलाई भाड़ामा लिए। 5 तरै पनि परमप्रभु तिम्रा परमेश्‍वरले बालामको कुरा सुन्‍न चाहनुभएन; तर परमप्रभु तिम्रा परमेश्‍वरले त्यो श्राप तिम्रा निम्ति आशिष्‌मा बदली गर्नुभयो; किनकि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई प्रेम गर्नुभयो। 6 तिमीले आफ्नो सारा जीवनभरि नै तिनीहरूको शान्ति र तिनीहरूको भलाइ नखोज्‍नू!
7 तिमीले एदोमीलाई घृणा नगर्नू, किनकि त्यो तिम्रो दाजु हो; तिमीले मिस्रीलाई घृणा नगर्नू, किनकि त्यसको देशमा तिमी परदेशी थियौ। 8 तिनीहरूको तेस्रो पुस्तामा तिनीहरूबाट जन्मेका सन्तानहरू परमप्रभुको सभामा पस्‍न पाउनेछन्।”
लड़ाइँमा छाउनी अशुद्ध नहोस्!
9 “जब तिमी सेनाको रूपमा तिम्रा शत्रुहरूको विरोधमा लड़ाइँ गर्न जान्छौ, तब हरेक दुष्‍ट कुराबाट तिमीले आफूलाई जोगाइराख! 10 तिम्रो बीचमा कोही मानिस राति हुने घटनाद्वारा अशुद्ध भएको छ भने त्यो छाउनीबाट बाहिर जाओस्; त्यो छाउनीभित्र नआओस्! 11 तर यस्तो होस्: साँझ पर्दा त्यसले आफूलाई पानीले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो फेरि छाउनीभित्र आओस्! 12 छाउनीबाहिर तिम्रा निम्ति एउटा ठाउँ पनि होस्, जहाँ तिमी बाहिर जानू! 13 अनि तिम्रा हतियारमध्ये एउटा खन्ती पनि होस्; अनि यस्तो होस्: जब तिमी बाहिर बस्छौ, तब तिमीले खन्तीले खन्‍नू, र पछिल्तिर फर्केर तिमीबाट निस्केको मल पुरिदिनू; 14 किनकि तिमीलाई छुटकारा दिन र तिम्रा शत्रुहरूलाई तिम्रो सामु सुम्पिदिनका निम्ति परमप्रभु तिम्रा परमेश्‍वर तिम्रो छाउनीको बीचमा हिँड़्‍दै हुनुहुन्छ; यसैकारण तिम्रो छाउनी पवित्र होस्, कि उहाँले तिमीमा कुनै अशुद्ध कुरा नदेखून्, नत्र उहाँ तिमीबाट फर्केर जानुहुनेछ।”
अरू विभिन्‍न नियमहरू
15 ”जुन कमारा आफ्नो मालिकबाट उम्केर तिमीकहाँ आएको छ, त्यसलाई तिमीले त्यसको मालिकको हातमा नसुम्पिनू! 16 त्यो तिमीहरूको बीचमा तिमीसँग त्यस ठाउँमा बसोस्, जुन ठाउँ त्यसले तिम्रा मूलढोकाहरूमध्ये कुनै एउटाभित्र चुन्‍नेछ, जहाँ त्यसलाई मन पर्छ। तिमीले त्यसलाई थिचोमिचो नगर्नू! 17 इस्राएलका छोरीहरूमध्ये कुनै वेश्या नहोस्, न ता इस्राएलका छोराहरूमध्ये कुनै पुरुषगामी होस्! 18 तिमीले कुनै भाकलका निम्ति वेश्याको कमाइ वा कुकुरको दाम परमप्रभु तिम्रा परमेश्‍वरको भवनमा नल्याउनू; किनकि यी दुवै परमप्रभु तिम्रा परमेश्‍वरका निम्ति घृणित कुराहरू हुन्।
19 तिमीले आफ्नो भाइलाई ब्याजमा ऋण नदिनू; पैसाको, भोजन-वस्तुको वा ब्याज लिन सक्ने अरू कुनै थोकको ब्याज नलिनू! 20 परदेशीलाई तिमीले ब्याजमा ऋण दिन सक्छौ; तर आफ्नो भाइलाई ब्याजमा ऋण नदिनू, फलस्वरूप जुन देशमा तिमी त्यसलाई आफ्नो अधिकारमा लिन जान्छौ, त्यहाँ परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई तिमीले आफ्नो हात लगाएका सबै कुराहरूमा आशिष्‌ दिनुहुनेछ।
21 जब तिमी परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति भाकल गर्दछौ, तब त्यो पूरा गर्नमा ढिलो नगर्नू, किनकि परमप्रभु तिम्रा परमेश्‍वरले निश्‍चय नै तिमीबाट त्यसको लेखा लिनुहुनेछ; र यो तिम्रा निम्ति पाप ठहरिनेछ। 22 तर तिमीले भाकल गरेनौ भने त्यो तिम्रा निम्ति पाप ठहरिनेछैन। 23 जुन कुरा तिम्रा ओठहरूबाट निस्क्यो, त्यो तिमीले पालन गर्नू र पूरा गर्नू; अर्थात् परमप्रभु तिम्रा परमेश्‍वरलाई तिमीले भाकल गरेअनुसार तिमीले आफ्नो मुखले प्रतिज्ञा गरेको स्वेच्छा-दान पूरा गर्नू!
24 जब तिमी आफ्नो छिमेकीको दाखबारीमा पस्छौ, तब तिमीले आफ्नै इच्छाअनुसार आफ्नो पेटभरि अङ्‍गुर खान सक्छौ, तर तिमीले आफ्नो भाँड़ामा एउटै नहाल्नू! 25 जब तिमी आफ्नो छिमेकीको खड़ा बालीमा आउँछौ, तब तिमीले आफ्नो हातले बाला टिप्‍न सक्छौ, तर तिमीले आफ्नो छिमेकीको खड़ा बालीमा हँसिया नलाउनू!”