देशलाई निर्दोष रगतको दोषबाट शुद्धि गर्ने नियम
21
“परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई जुन देश त्यसलाई कब्जा गर्न भनी दिनुहुन्छ, त्यस देशमा कोही मारिएको मानिस मैदानमा पड़िरहेको पाइयो, र त्यसलाई कसले मारेको हो, सो थाहा भएन भने, 2 तिम्रा बूढ़ा प्रधानहरू र तिम्रा न्यायकर्ताहरू निस्केर आऊन्, र मारिएको मानिसको चारैतिर भएका शहरहरूको दूरी नापून्; 3 अनि यस्तो होस्: जुन शहर त्यस मारिएको मानिसको सबभन्दा नजिकमा छ, त्यस शहरका बूढ़ा प्रधानहरूले एउटा कोरली लिऊन्, जो कुनै काममा लगाइएको छैन र जो जुवामै नारिएको छैन; 4 अनि त्यस शहरका बूढ़ा प्रधानहरूले त्यो कोरली तल निरन्‍तर बहिरहने पानी भएको यस्तो एउटा बेंसीमा ल्याऊन्, जुन बेंसी न जोतिएको छ, न बीउ छरिएको छ; अनि त्यहाँ, त्यस बेंसीमा तिनीहरूले त्यस कोरलीको गर्दन भाँचिदिऊन्! 5 तब लेवी पूजाहारीहरू नजिक आऊन्; किनकि परमप्रभु तिम्रा परमेश्‍वरले उनीहरूलाई नै उहाँको सेवा गर्न र परमप्रभुको नाममा आशीर्वाद दिन चुन्‍नुभएको छ; अनि उनीहरूकै वचनको आधारमा हरेक विवाद र हरेक मारपिटको निर्णय गरिनेछ। 6 अनि त्यस मारिएको मानिसको सबभन्दा नजिकको शहरका सबै बूढ़ा प्रधानहरूले बेंसीमा गर्दन भाँचिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्! 7 अनि तिनीहरूले जवाफ दिएर भनून्: ‘हाम्रा हातहरूले त्यो रगत बगाएका छैनन्, न ता हाम्रा आँखाहरूले देखेका छन्। 8 हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको आफ्नो प्रजा इस्राएलप्रति कृपालु हुनुहोस्; र निर्दोष रगतको दोष आफ्नो प्रजा इस्राएलमाथि नलगाउनुहोस्!’ तब यिनीहरूलाई यो रगतको दोष क्षमा गरिनेछ। 9 यसरी परमप्रभुको दृष्‍टिमा जे ठीक छ, त्यो गरेर तिमीले आफ्नो बीचबाट निर्दोष रगतको दोष हटाइदिनू!”
कैदी-स्त्रीसित विवाह गर्न चाहने मानिसका निम्ति नियम
10 “जब तिमी आफ्ना शत्रुहरूको विरोधमा लड़ाइँ गर्न जान्छौ, र परमप्रभु तिम्रा परमेश्‍वरले तिनीहरूलाई तिम्रा हातमा सुम्पनुहुन्छ, र तिमीले तिनीहरूलाई कैदी बनाएर ल्याउँछौ; 11 अनि कैदीहरूको बीचमा एउटी सुन्दरी स्त्रीलाई देखेर तिमी त्यसप्रति लालायित हुन्छौ, र त्यसलाई आफ्नी पत्‍नी तुल्याउन चाहन्छौ भने, 12 तिमीले त्यसलाई भित्र, आफ्नो घरमा ल्याउनू; अनि त्यसले आफ्नो टाउको मुड़ाओस्, र आफ्ना नङहरू काटोस्! 13 अनि त्यसले आफूबाट आफ्नो कैदीको वस्त्र फुकालोस्, र तिम्रो घरमा बसोस्, अनि पूरा एक महिना आफ्ना बुबा र आफ्नी आमाका निम्ति विलाप गरोस्; अनि त्यसपछि तिमी त्यसकहाँ जानू, र त्यसको पति हुनू, र त्यो तिम्री पत्‍नी होस्! 14 अनि यस्तो होस्: त्यसप्रति तिम्रो रुचि भएन भने त्यो जहाँ जान चाहन्छे, त्यहाँ तिमीले त्यसलाई जान दिनू; तर तिमीले त्यसलाई पैसाका निम्ति कुनै रीतिले नबेच्‍नू; तिमीले त्यसलाई व्यापारको माल नतुल्याउनू; किनकि तिमीले त्यसलाई होच्याएका छौ।”
जेठाको अधिकार
15 “कसैका दुईजना पत्‍नीहरू छन् भने – एउटी प्रिय र अर्की अप्रिय; अनि प्रिय र अप्रिय दुवैले त्यसका निम्ति छोराहरू जन्माएका छन्; अनि जेठा छोराचाहिँ अप्रियबाटको हो भने, 16 तब यस्तो होस्: जुन दिन त्यसले आफ्ना छोराहरूलाई आफ्ना सम्पत्तिका हकवाला तुल्याउँछ, त्यस दिन त्यसले अप्रियको छोरालाई, जो साँच्‍चै जेठा हो, नाघेर प्रियको छोरालाई जेठा तुल्याउन पाउँदैन; 17 तर आफ्नो सारा सम्पत्तिबाट त्यसले अप्रियको छोरालाई दोबर भाग दिएर उसलाई जेठा हुने मान्यता देओस्; किनकि ऊचाहिँ त्यसको पौरुषको पहिलो फल हो; जेठाको अधिकार उसैको हो।”
हठी र विद्रोही छोराको सजाय
18 “कुनै मानिसको हठी र विद्रोही छोरा छ भने, जसले आफ्ना बुबाको वचन वा आफ्नी आमाको वचन पालन गर्दैन; तिनीहरूले त्यसलाई ताड़ना दिएपछि पनि त्यसले तिनीहरूको कुरा मान्दैन भने, 19 त्यसका बुबा र त्यसकी आमाले त्यसलाई पक्रून्, अनि त्यसलाई बाहिर, त्यसको शहरका बूढ़ा प्रधानहरूकहाँ, र त्यसको ठाउँको मूलढोकामा ल्याऊन्! 20 अनि तिनीहरूले त्यसको शहरका बूढ़ा प्रधानहरूलाई भनून्: ‘यो हाम्रो छोरो हठी र विद्रोही छ; यसले हाम्रो कुरा मान्दैन; यो घिचुवा र मतवाला हो।’ 21 अनि त्यसको शहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्, र त्यो मरोस्; यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनू; अनि सारा इस्राएलले यो सुन्‍नेछ, र डराउनेछ। 22 अनि कुनै मानिसले मृत्युदण्ड पाउने लायकको पाप गर्‍यो भने त्यो मारियोस्; अनि तिमीले त्यसलाई रूखमा झुन्ड्याउनू! 23 त्यसको लास रूखमा रातभरि नरहोस्, तर तिमीले कुनै रीतिले पनि त्यसलाई त्यही दिन गाड़्‍नू, (किनकि जो झुन्ड्याइन्छ, त्यो परमेश्‍वरबाट श्रापित छ); फलस्वरूप तिम्रो देश अशुद्ध नहोस्, जुन देशमा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई अधिकारको भागको रूपमा दिनुहुन्छ।”