लड़ाइँ गरेको समयमा पालन गर्नुपर्ने नियमहरू
20
“जब तिमी आफ्ना शत्रुहरूको विरोधमा लड़ाइँ गर्न जान्छौ, अनि घोड़ाहरू र रथहरू, अँ, आफ्नोभन्दा बढ़ी मानिसहरू देख्दछौ; तब तिमी तिनीहरूसँग नडराउनू; किनकि परमप्रभु तिम्रा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ, जसले तिमीलाई मिस्र देशबाट निकालेर ल्याउनुभयो। 2 अनि यस्तो होस्: जब तिमीहरू लड़ाइँका निम्ति नजिक आउँछौ, तब पूजाहारी त्यहाँ आओस्, र मानिसहरूसँग कुरा गरोस्, 3 र तिनीहरूलाई भनोस्: ‘हे इस्राएल, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरोधमा लड़ाइँ गर्न नजिक आएका छौ; तिमीहरूको हृदय हताश नहोस्! नडराओ, थरथर नकाम, न ता तिनीहरूको कारणले भयभीत होओ! 4 किनकि तिमीहरूलाई बचाउनका निम्ति परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्ध तिमीहरूका निम्ति लड़ाइँ गर्नलाई तिमीहरूको साथमा जानुहुन्छ।’ 5 अनि अधिकारीहरूले मानिसहरूलाई यसो भनून्: ‘यहाँ को मानिस छ, जसले नयाँ घर बनाएको छ, तर त्‍यसलाई अर्पण गरेको छैन? त्यो जाओस्, र आफ्नो घर फर्कोस्; नत्र त्यो लड़ाइँमा मर्ला, र अर्को मानिसले त्यसलाई अर्पण गर्ला। 6 अनि यहाँ को मानिस छ, जसले दाखबारी लगाएको छ, तर त्यसको फल खाएको छैन? त्यो जाओस् र आफ्नो घरमा फर्कोस्; नत्र त्यो लड़ाइँमा मर्ला, र अर्को मानिसले त्यसको फल खाला। 7 अनि यहाँ को मानिस छ, जसले कुनै स्त्रीसँग मगनी गरेको छ, तर त्यसलाई विवाह गरेको छैन? त्यो जाओस्, र आफ्नो घरमा फर्कोस्; नत्र त्यो लड़ाइँमा मर्ला र अर्को मानिसले त्यसलाई विवाह गर्ला।’ 8 अनि अधिकारीहरूले मानिसहरूसित अझै कुरा गरून् र भनून्: ‘यहाँ डरछेरुवा र हृदय हताश भएको मानिस को छ? त्यो जाओस्, र आफ्नो घरमा फर्कोस्; नत्र त्यसका दाजुभाइहरूको हृदय पनि त्यसको हृदयजस्तै हताश हुनेछ।’ 9 अनि यस्तो होस्: अधिकारीहरूले मानिसहरूसित कुरा गरिसकेपछि उनीहरूले मानिसहरूको अगुवाइ गर्नका निम्ति सेनाहरूका कप्‍तानहरू नियुक्त गरून्!
10 जब तिमी कुनै शहरको विरोधमा लड़ाइँ गर्न त्यसको नजिक आउँछौ, तब तिमीले त्यससँग मिलापको प्रस्ताव राख्‍नू! 11 अनि यस्तो होस्: त्यसले तिम्रो मिलापको प्रस्ताव स्वीकार गर्‍यो, र तिम्रा निम्ति मूलढोका खोलिदियो भने त्यसमा भेट्टाइएका सबै मानिसहरू तिम्रा निम्ति बेगारी गर्नेहरू होऊन्, र तिनीहरूले तिम्रो सेवा गरून्! 12 अनि त्यसले तिमीसित मिलाप गरेन, तर तिमीसित लड़ाइँ गर्‍यो भने तिमीले त्यसलाई घेर्नू! 13 अनि जब परमप्रभु तिम्रा परमेश्‍वरले त्यसलाई तिम्रा हातमा सुम्पिदिनुहुन्छ, तब तिमीले त्यसको हरेक पुरुषलाई तरवारको धारले मार्नू; 14 तर स्त्रीहरू, बालबच्‍चाहरू, गाईबस्तु र त्यस शहरमा भएका सब थोक अर्थात् त्यसको सारा लुटको माल तिमीले आफ्ना निम्ति लिइराख्‍नू; अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको तिम्रा शत्रुहरूको लुटको माल तिमीले खानू! 15 जुन शहरहरू तिमीदेखि धेरै टाढ़ामा छन्, जुन शहरहरू यहाँ, यी जातिहरूका शहरहरूमध्येका होइनन्, ती सबैसँग तिमीले यस्तै गर्नू! 16 तर यी जातिका मानिसहरूका जुन शहरहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ, तिनीहरूमा तिमीले सास फेर्ने कुनै प्राणीलाई जीवित नछोड्नू! 17 तर जसरी परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई आज्ञा गर्नुभएको छ, त्यसरी नै तिमीले तिनीहरूलाई पूरै नष्‍ट गर्नू, अर्थात् हित्ती र एमोरी, कनानी र परिज्जी, हिव्वी र यबूसीहरूलाई; 18 यस हेतुले कि तिनीहरूले तिमीहरूलाई तिनीहरूका सबै घृणित कामहरूअनुसार गर्न सिकाउन नसकून्, जुन कामहरू तिनीहरूले आफ्ना देवताहरूका निम्ति गरेका छन्; र यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको विरोधमा पाप गर्नेछौ।
19 कुनै शहरलाई कब्जा गर्नलाई त्यसको विरोधमा लड़ाइँ गर्दा जब तिमीले त्यसलाई धेरै दिनसम्म घेराउ गर्दछौ, तब त्यसका रूखहरूमाथि बन्चरो चलाएर तिमीले तिनलाई नष्‍ट नगर्नू; किनकि तिनको फल तिमीले खानेछौ; यसैले तिमीले तिनलाई नढाल्नू; किनभने के मैदानको रूख मानिस हो र, कि तिमीले त्यसलाई पनि घेराउ गर्ने? 20 जुन रूखहरू फल दिने रूख होइनन् भनी तिमी जान्दछौ, ती रूखहरू मात्र तिमीले नष्‍ट गर्नू र ढालिदिनू; अनि तिमीसित लड़ाइँ गर्ने शहर जबसम्म तिम्रो वशमा आउँदैन, तबसम्म त्यसको विरोधमा घेराबन्दी गरिराख्‍नू!”