शरणनगरहरू र तिनको नियम
19
“जब परमप्रभु तिम्रा परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गर्नुहुन्छ, जसको देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, अनि तिमीले तिनीहरूलाई निकालेर आफू तिनीहरूका शहरहरू र तिनीहरूका घरहरूमा बस्दछौ; 2 तब तिमीले आफ्नो देशको बीचमा आफ्ना निम्ति तीनवटा शहर अलग पार्नू, जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले त्यसलाई कब्जा गर्न भनी तिमीलाई दिनुहुन्छ। 3 तिमीले आफ्ना निम्ति एउटा बाटो तयार गर्नू, अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई जुन देशका अधिकारी तुल्याउनुहुन्छ, तिम्रो त्यस देशका इलाकाहरू तिमीले तीन भागमा विभाजन गर्नू, र त्यहाँ हरेक मार्ने भागेर जान सकोस्! 4 अनि मार्नेको विषय यही हो: त्यसले बितेको समयमा आफ्नो छिमेकीलाई घृणा गरेको थिएन, र उसलाई अनजानमा मार्छ; त्यो त्यहाँ भागेर जाओस्, र बाँचोस्! 5 मानौं कुनै मानिस वनमा आफ्नो साथीसित दाउरा काट्न जान्छ, र रूख ढाल्नलाई त्यसको हातले बन्चरो उठाएर हिर्काउँछ, अनि बन्चरो बिँड़बाट खुस्कन्छ, र त्यसको साथीलाई लाग्छ, र यो मर्छ; त्योचाहिँ ती शहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्, र बाँचोस्; 6 नत्र ता रगतको बदला लिनेले आफ्नो हृदय तातिएको बेलामा मार्नेलाई पिछा गर्ला, अनि बाटो लामो भएकोले त्यसलाई भेट्टाउला र हिर्काएर त्यसको ज्यान लेला; तर त्यो त मृत्युको लायक थिएन; किनकि बितेको समयमा त्यसले यसलाई घृणा गरेको थिएन। 7 यसैकारण म तिमीलाई यसो भनेर आज्ञा गर्दछु: ‘तिमीले आफ्ना निम्ति तीनवटा शहर अलग पार्नू!’ 8 अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएअनुसार तिम्रो सिमाना बढ़ाउनुभयो भने, र तिम्रा पितापुर्खाहरूलाई ‘दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको सारा देश तिमीलाई दिनुभयो भने; 9 परमप्रभु आफ्ना परमेश्‍वरलाई प्रेम गर्न र उहाँका मार्गहरूमा सदा हिँड़्नका निम्ति तिमीले यी सबै आज्ञाहरू, जो आज म तिमीलाई आज्ञा गर्दछु, होशियारसाथ पालन गर्‍यौ भने तिमीले आफ्ना निम्ति यी तीनबाहेक अरू तीनवटा शहरहरू थप्‍नु! 10 फलस्वरूप तिम्रो देशमा, जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ, कुनै निर्दोष रगत नबगाइयोस्, र त्यो रगतको दोष तिमीमाथि नआओस्!
11 तर कुनै मानिसले आफ्नो छिमेकीलाई घृणा गर्छ, उसलाई ढुकेर बस्छ र उसमाथि जाइलागेर मर्ने गरी हिर्काउँछ, र ऊ मर्छ; अनि त्यो यी शहरहरूमध्ये कुनै एउटैमा भागेर जान्छ भने, 12 त्यसको शहरका बूढ़ा प्रधानहरूले मानिसहरू पठाऊन्, र त्यसलाई त्यहाँबाट ल्याऊन्, र त्यसलाई रगतको बदला लिनेको हातमा सुम्पिदिऊन्, र त्यो मारियोस्! 13 तिम्रो आँखाले त्यसलाई नटिठाओस्, तर तिमीले इस्राएलबाट निर्दोष रगतको दोष हटाइदिनू, र तिम्रो भलो होस्!
14 जुन देश, त्यसलाई आफ्नो अधिकारमा लिन भनी परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, त्यसमा तिमीले पैतृक सम्पत्तिको रूपमा पाएको तिम्रो जुन अधिकारको भाग छ, त्यसमा पहिलेकाहरूले ठहऱ्याएका आफ्नो छिमेकीको सिमाना-ढुङ्गा तिमीले नसार्नू!”
दुई-तीनजना साक्षीको गवाहीको आधारमा हरेक कुरा निर्धारित हुनेछ
15 “कुनै मानिसको विरोधमा कुनै अधर्मका निम्ति वा त्यसले गरेको कुनै पापको सम्बन्धमा, कुनै पापका निम्ति एउटा मात्र साक्षी नउठोस्; दुईजना साक्षीको मुखको गवाही वा तीनजना साक्षीको मुखको गवाहीको आधारमा हरेक कुरा निर्धारित गरियोस्! 16 कुनै मानिसको विरोधमा त्यसको विरुद्ध झूटो आरोपको गवाही दिनका निम्ति कुनै झूटो साक्षी उठ्यो भने, 17 ती दुई मानिसहरू, जसको बीचमा विवाद छ, परमप्रभुको अगाड़ि त्यस समयका पूजाहारीहरू र न्यायकर्ताहरूको सामु खड़ा होऊन्; 18 अनि न्यायकर्ताहरूले यत्‍नसित जाँचबुझ गरून्; अनि हेर, त्यो साक्षी झूटो साक्षी रहेछ, र आफ्नो भाइको विरोधमा झूटो गवाही बकेको रहेछ भने, 19 त्यसले आफ्नो भाइलाई जेजस्तो गर्न खोजेको थियो, त्यस्तै तिमीहरूले त्यससित गर! यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनू! 20 अनि बाँकी मानिसहरूले यो सुन्‍नेछन् र डराउनेछन्, अनि तिमीहरूको बीचमा यस्तो खराब काम फेरि कहिल्यै गर्नेछैनन्। 21 अनि तिम्रो आँखाले नटिठाओस्; तर ज्‍यानको बदलामा ज्‍यान, आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत, हातको बदलामा हात, खुट्टाको बदलामा खुट्टा लिइयोस्!”