घाम, जून वा आकाशको गण पुज्‍ने हरेक मानिसलाई मृत्युदण्ड दिनू!
17
“तिमीले परमप्रभु आफ्ना परमेश्‍वरलाई कुनै खोट वा कुनै खराब कुरा भएको बहर वा भेड़ाबाख्रा बलि नचढ़ाउनू; किनकि परमप्रभु तिम्रा परमेश्‍वरका निम्ति यो घृणित हो।
2 जुन मूलढोकाहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्‍छ, तिम्रा मूलढोकाहरूमध्ये कुनै एउटाभित्र तिमीहरूको बीचमा कुनै यस्तो पुरुष वा स्त्री पाइयो भने, जसले परमप्रभु तिम्रा परमेश्‍वरको वाचा भङ्ग गरेर उहाँको दृष्‍टिमा दुष्‍टता गरेको छ, 3 र गएर अरू देवताहरूको पूजा गरेको छ, अनि तिनीहरूलाई अर्थात् घाम, जून वा आकाशको गणमध्ये कुनैलाई दण्‍डवत्‌ गरेको छ भने, जसको आज्ञा मैले दिएको छैनँ; 4 अनि यो कुरा तिमीलाई बताइयो, अनि तिमीले सुन्यौ र यत्‍नसित जाँचबुझ गर्‍यौ; अनि हेर, त्यो साँचो रहेछ र कुरा पक्‍का रहेछ, अनि इस्राएलमा यस्तो घृणित काम गरिएकै रहेछ भने, 5 तिमीले यस्तो दुष्‍ट काम गर्ने त्यस पुरुष वा त्यस स्त्रीलाई बाहिर तिम्रा मूलढोकाहरूमा ल्याउनू; अँ, त्यस पुरुष वा त्यस स्त्रीलाई, र तिनीहरूलाई ढुङ्गाले हान्‍नू, र तिनीहरू मरून्! 6 जो मृत्युदण्ड पाउन लायकको छ, त्यो दुईजना साक्षी वा तीनजना साक्षीको मुखको गवाहीको आधारमा मारियोस्, तर एउटा साक्षीको मुखको गवाहीको आधारमा त्यो नमारियोस्! 7 त्यसलाई मार्नका निम्ति त्यसमाथि यी साक्षीहरूकै हात पहिले उठून्, अनि त्यसपछि सबै मानिसहरूका हात उठून्! यसरी तिमीले आफ्नो बीचबाट यो खराबी मेटाइदिनू!”
अरू न्यायका फैसालाहरू कसरी गर्ने?
8 “यदि रक्तपात-रक्तपातको दोषको बीचमा, उजुर-उजुरको बीचमा, मारपिट-मारपिटको बीचमा तिम्रा मूलढोकाहरूभित्र विवादका विषयहरू उठे भने, जसको न्याय गर्न तिमीलाई कठिन पर्‍यो भने तिमी उठ र त्यस ठाउँमा जाऊ, जुन ठाउँ परमप्रभु तिम्रा परमेश्‍वरले चुन्‍नुहुनेछ; 9 अनि तिमी ती लेवी पूजाहारीहरू र त्यस समयका न्यायकर्ताकहाँ जानू र सोधपुछ गर्नू; अनि तिनीहरूले तिमीलाई न्यायको फैसला सुनाउनेछन्; 10 अनि तिमीले त्यस फैसलाअनुसार गर्नू, जुन फैसला तिनीहरूले तिमीलाई त्यस ठाउँबाट सुनाउनेछन्, जुन ठाउँ परमप्रभुले चुन्‍नुहुनेछ; अनि तिनीहरूले तिमीलाई निर्देशन दिएको सबै कुराअनुसार गर्नमा तिमीले होशियारी गर्नू! 11 व्यवस्थाको त्यस फैसलाअनुसार जुन फैसला तिनीहरूले तिमीलाई निर्देशन दिनेछन्, र त्यस न्यायअनुसार जुन न्‍याय तिनीहरूले तिमीलाई भन्‍नेछन्, तिमीले गर्नू; जुन फैसला तिनीहरूले तिमीलाई सुनाउनेछन्, त्यस फैसलाबाट तिमी दाहिने वा देब्रेतिर नलाग्‍नू! 12 अनि जुन मानिसले ढीठ भएर त्यहाँ परमप्रभु तिम्रा परमेश्‍वरको सेवा गर्नलाई खड़ा रहने पूजाहारीको कुरा वा त्यस न्यायकर्ताको कुरा सुन्दैन, त्यो मानिसचाहिँ मारियोस्; अनि तिमीले इस्राएलबाट यो खराबी मेटाइदिनू! 13 अनि सबै मानिसहरूले सुन्‍नेछन्, डराउनेछन् र फेरि हठमा चल्नेछैनन्।”
राजालाई चुन्‍ने नियम र राजाको कर्तव्य
14 “जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले दिनुहुन्छ, त्यस देशमा जब तिमी पुगौला, र त्यसलाई कब्जा गरेर त्यहाँ बसौला, र यसो भनौला: ‘मेरा चारैतिर भएका सबै जातिहरूले झैं म पनि आफूमाथि एउटा राजा ठहऱ्याउनेछु’; 15 तब जसलाई परमप्रभु तिम्रा परमेश्‍वरले चुन्‍नुहुन्‍छ, उसैलाई तिमीले निश्‍चय नै आफूमाथि राजा ठहऱ्याउनू; तिम्रा दाजुभाइहरूको बीचबाट तिमीले आफूमाथि कुनै राजा ठहऱ्याउनू; तिमीले कुनै परदेशीलाई, जो तिम्रो दाजुभाइ होइन, आफूमाथि राजा नियुक्त नगर्नू! 16 तर उसले आफ्ना निम्ति घोड़ाहरूको संख्या नबढ़ाओस्, र घोड़ाहरूको संख्या बढ़ाउनका निम्ति मानिसहरूलाई मिस्रमा फर्कन नलाओस्; किनकि परमप्रभुले तिमीहरूलाई भनिसक्नुभएको छ: ‘तिमीहरू फेरि कहिल्यै यो बाटो फर्केर नजानू!’ 17 न ता उसले आफ्ना निम्ति स्‍वास्‍नीहरूको संख्या नै बढ़ाओस्; नत्र उसको मन बहकिनेछ; न ता उसले आफ्ना निम्ति चाँदी र सुन नै धेरै मात्रामा थुपारोस्!
18 अनि यस्तो होस्: जब ऊ आफ्नो राज्यको सिंहासनमाथि बस्दछ, तब उसले लेवी पूजाहारीहरूको सामु भएको पुस्तकबाट यस व्यवस्थाको एक प्रति आफ्ना निम्ति एउटा किताबमा लेखोस्; 19 अनि त्यो ऊसँग रहोस्; अनि उसले आफ्नो सारा जीवनभरि नै त्यसमा पढ़ोस्; तब उसले यस व्यवस्था र यी विधिहरूका सबै वचनहरू मान्‍न र तिनलाई पालन गर्नका निम्ति परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिकोस्; 20 र उसको हृदय घमण्डले फुलेर आफ्ना भाइहरूलाई तुच्छ नठानोस्, र ऊ यस आज्ञाबाट दाहिने वा देब्रेतिर नलागोस्; यसो गर्नाले उसले आफ्नो राज्यमा आफ्ना दिनहरू बढ़ाउनेछ – इस्राएलको बीचमा उसले र उसका सन्तानहरूले।”