निस्तार चाड़ र अखमिरे रोटीहरूको चाड़ मनाऊ!
16
“अबीब महिना मान्‍नू, र परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति निस्तार चाड़ मनाउनू; किनकि अबीब महिनामा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई राति मिस्रबाट निकालेर ल्याउनुभयो। 2 यसकारण तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति भेड़ाबाख्रा र गाईबस्तुबाट निस्तार-बलि त्यस ठाउँमा चढ़ाउनू, जुन ठाउँ परमप्रभुले त्यहाँ आफ्नो नाम राख्‍नका निम्ति चुन्‍नुहुनेछ। 3 तिमीले त्यससँग खमिर हालेको रोटी नखानू; सात दिनसम्म तिमीले त्यससँग अखमिरे रोटीहरू अर्थात् कष्‍टको रोटी खानू; किनकि तिमी मिस्र देशबाट हतार-हतार निस्केर आएका थियौ, र तिम्रो सारा जीवनभरि नै तिमीले त्यस दिनको सम्झना गर्न सक, जुन दिनमा तिमी मिस्र देशबाट निस्केर आयौ। 4 अनि सात दिनसम्म तिम्रो सारा सिमानाभित्र तिमीसित कुनै खमिर देखा नपरोस्; अनि पहिलो दिनको साँझमा जुन बलि तिमी चढ़ाउँछौ, त्यसको मासुको कुनै भाग रातभरि बिहानसम्म नरहोस्! 5 परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुने तिम्रा मूलढोकाहरूमध्ये कुनैभित्र पनि तिमीले निस्तार-बलि चढ़ाउन पाउँदैनौ। 6 तर जुन ठाउँ परमप्रभु तिम्रा परमेश्‍वरले त्यहाँ आफ्नो नाम राख्‍नका निम्ति चुन्‍नुहुनेछ, त्यहीं तिमीले निस्तार-बलि बेलुकीपख, घाम अस्ताउन लागेको बेलामा चढ़ाउनू, जुन बेलामा तिमी मिस्रबाट निस्केर आयौ। 7 अनि जुन ठाउँ परमप्रभु तिम्रा परमेश्‍वरले चुन्‍नुहुनेछ, त्यस ठाउँमा तिमीले त्यसलाई पोलेर खानू; अनि बिहान तिमी फर्कनू, र आफ्ना वासस्थानहरूमा जानू! 8 छ दिनसम्म तिमीले अखमिरे रोटीहरू खानू; अनि सातौं दिनमा परमप्रभु तिम्रा परमेश्‍वरका निम्ति एउटा महासभा हुनेछ; त्यस दिन तिमीले कुनै काम नगर्नू!”
हप्‍ताहरूको चाड़ मनाऊ! (पेन्टेकोस्ट)
9 “तिमीले आफ्ना निम्ति सात हप्‍ता गन्ती गर्नू; बालीमा हँसिया लगाउन शुरु गरेको दिनदेखि तिमीले सात हप्‍ता गन्‍न शुरु गर्नू! 10 अनि आफ्नो हातको स्वेच्छा-दानको सौगात चढ़ाएर तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति हप्‍ताहरूको चाड़ मनाउनू; जुन सौगात तिमीले परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुभएअनुसार दिनू! 11 जुन ठाउँ परमप्रभु तिम्रा परमेश्‍वरले त्यहाँ आफ्नो नाम राख्‍नका निम्ति चुन्‍नुहुनेछ, त्यस ठाउँमा तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको सामु आनन्द मनाउनू – तिमीले, तिम्रो छोरा, तिम्री छोरी, तिम्रो कमारा र तिम्री कमारीले, अनि तिम्रा मूलढोकाहरूभित्र बस्‍ने लेवीले, साथै तिमीहरूको बीचमा भएका परदेशी, अनाथ र विधवाले। 12 अनि मिस्रमा तिमी कमारा थियौ भन्‍ने कुरा तिमीले सम्झना राख्‍नू; अनि तिमीले यी विधिहरू कायम राखेर पालन गर्नू!”
झुपड़ीहरूको चाड़ मनाऊ!
13 “आफ्नो अन्‍न र आफ्नो दाखमद्य भित्र्याइसकेपछि तिमीले सात दिनसम्म झुपड़ीहरूको चाड़ मनाउनू! 14 अनि तिमीले आफ्नो चाड़मा आनन्द मनाउनू – तिमीले, तिम्रो छोरा, तिम्री छोरी, तिम्रो कमारा, तिम्री कमारी, अनि तिम्रा मूलढोकाहरूभित्र भएका लेवी, परदेशी, अनाथ र विधवाले। 15 जुन ठाउँ परमप्रभुले चुन्‍नुहुनेछ, त्यस ठाउँमा तिमीले सात दिनसम्म परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति चाड़ मनाउनू; किनकि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा सबै उब्जनी र तिम्रा हातका सबै कामहरूमा तिमीलाई आशिष्‌ दिनुहुनेछ; यसैकारण तिमीले निश्‍चय नै आनन्द मनाउनू!
16 वर्षमा तीनपल्‍ट तिम्रा सबै पुरुषहरू परमप्रभु आफ्ना परमेश्‍वरको सामु त्यस ठाउँमा देखा परून्, जुन ठाउँ उहाँले चुन्‍नुहुनेछ; अखमिरे रोटीहरूको चाड़मा, हप्‍ताहरूको चाड़मा र झुपड़ीहरूको चाड़मा; अनि तिनीहरू परमप्रभुको सामु रित्तो हात देखा नपरून्! 17 हरेक मानिसले आ-आफ्नो औकातअनुसार, परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको उहाँको आशिष्‌अनुसार देओस्!”
न्यायकर्ताहरू र अधिकारीहरूको नियुक्त गर!
18 “तिम्रा कुलहरूभरि तिमीले तिम्रा सबै मूलढोकाहरूभित्र, जो परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, आफ्ना निम्ति न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू; अनि तिनीहरूले धर्ममय न्यायले आफ्ना जनहरूको न्याय गरून्! 19 तिमीले न्याय नबिगार्नू; तिमीले पक्षपात नगर्नू, न ता घूस नै लिनू; किनकि घूसले बुद्धिमान्‌हरूका आँखाहरू अन्धा तुल्याइदिन्छ र धर्मी जनहरूका वचनहरू टेढ़ा पारिदिन्छ। 20 जुन कुरा पूरा न्‍यायोचित छ, त्यसैको पछि लाग! तब तिमी जीवित रहनेछौ र जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, त्यसको अधिकारी हुनेछौ।
21 परमप्रभु आफ्ना परमेश्‍वरको जुन वेदी तिमीले आफ्ना निम्ति बनाउँछौ, त्यसको छेउमा तिमीले आफ्ना निम्ति कुनै रूख अशेराको थानको रूपमा नरोप्‍नू! 22 न ता तिमीले आफ्ना निम्ति कुनै मूर्ति नै खड़ा गर्नू, जसलाई परमप्रभु तिम्रा परमेश्‍वरले घृणा गर्नुहुन्छ।”