हरेक सात वर्षको अन्तमा हुने छोड़िदिने काम
15
“हरेक सात वर्षको अन्तमा तिमीले छोड़िदिने काम गर्नू! 2 अनि त्यस छोड़िदिने कामको तरिका यो हो: हरेक ऋणदाताले, जसले आफ्नो छिमेकीलाई ऋण दिएको छ, त्यो छोड़िदेओस्; त्यसले आफ्नो छिमेकीबाट वा आफ्नो भाइबाट त्यो असुल नगरोस्; किनकि परमप्रभुका निम्ति छोड़िदिने कामको घोषणा गरिएको छ। 3 परदेशीबाट तिमीले असुल गर्न सक्छौ, तर तिम्रो भाइसित जे तिम्रो पाउनु छ, सो तिम्रो हातले छोड़िदेओस्, 4 तिमीहरूको बीचमा कोही गरिब नभएको समयमा बाहेक; किनकि जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा, त्यसलाई कब्जा गर्न भनी दिनुहुन्छ, त्यहाँ परमप्रभुले तिमीलाई प्रशस्त गरी आशिष्‌ दिनुहुनेछ; 5 यदि परमप्रभु तिम्रा परमेश्‍वरको वाणी ध्यानपूर्वक सुनेर तिमीले यी सबै आज्ञाहरू, जो म आज तिमीलाई आज्ञा गर्छु, होशियारसाथ पालन गर्‍यौ भने मात्र। 6 किनकि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीसित प्रतिज्ञा गर्नुभएअनुसार तिमीलाई आशिष्‌ दिनुहुन्छ; अनि तिमीले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीले ऋण लिनेछैनौ; अनि तिमीले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिनीहरूले तिमीमाथि शासन गर्नेछैनन्।
7 परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको तिम्रो देशमा तिम्रो कुनै मूलढोकाभित्र तिमीहरूको बीचमा तिम्रा कुनै भाइहरूमध्ये कोही गरिब छ भने तिमीले आफ्नो हृदय कठोर नपार्नू, न ता आफ्नो गरिब भाइप्रति मुठी कस्‍नू! 8 तर उसका निम्ति तिमीले आफ्नो मुठी ठूलो खोल्नू, र निश्‍चय उसलाई जे खाँचो छ, उसको त्यस खाँचोका निम्ति पुग्‍ने गरी सापटी दिनू! 9 आफ्नो विषयमा होशियार बस! तिम्रो दुष्‍ट हृदयमा ‘सातौं वर्ष, त्यो छोड़िदिने वर्ष नजिकै छ’ भन्‍ने विचार नउठोस्, र तिम्रो गरिब भाइप्रति तिम्रो आँखा खराब नहोस्, र तिमीले उसलाई केही पनि नदेऔला; अनि उसले तिम्रो विरोधमा परमप्रभुलाई पुकार्ला, र त्यो तिम्रा निम्ति पाप ठहर्ला! 10 तिमीले निश्‍चय नै उसलाई दिनू! अनि जब तिमी उसलाई दिन्छौ, तब तिम्रो हृदय दुःखित नहोस्; किनकि यही कुराले गर्दा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई तिम्रा सबै कामहरूमा, र तिमीले आफ्नो हात लगाएको हरेक कुरामा आशिष्‌ दिनुहुनेछ। 11 किनकि त्यस देशको बीचबाट गरिबको अन्त कहिल्यै हुनेछैन; यसैले म तिमीलाई यस्तो आज्ञा दिन्छु: ‘तिमीले आफ्नो देशमा तिम्रो भाइ, तिम्रो गरिब र तिम्रो खाँचोमा परेकोका निम्ति आफ्नो मुठी ठूलो खोल्नू!’
12 यदि तिम्रो भाइ अर्थात् एउटा हिब्रू मानिस वा एउटी हिब्रू स्त्री तिमीकहाँ बेचिएको छ भने, र छ वर्षसम्म तिम्रो सेवा गरेको छ भने सातौं वर्षमा त्यसलाई स्वतन्‍त्र भएर तिमीबाट जान देऊ! 13 अनि जब तिमीले त्यसलाई स्वतन्‍त्र तुल्याई आफूबाट पठाउँछौ, तब तिमीले त्यसलाई रित्तो हात जान नदिनू! 14 तिमीले आफ्नो बगाल, आफ्नो खला र आफ्नो दाखको कोलबाट त्यसलाई प्रशस्त गरी दिनू; अर्थात् जसरी परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुभएको छ, त्यसरी तिमीले त्यसलाई दिनू! 15 अनि ‘मिस्र देशमा म पनि एउटा कमारा थिएँ, र परमप्रभु मेरा परमेश्‍वरले मलाई छुटकारा दिनुभयो’ भन्‍ने कुरा तिमीले सम्झना गर्नू; यसैकारण आज म तिमीलाई यो कुरा आज्ञा गर्दछु।
16 अनि यस्तो भयो: त्यसले तिमीलाई र तिम्रो घरानालाई प्रेम गर्छ; किनकि तिमीसित रही त्यसको भलो भएको छ; यसकारण त्यसले तिमीलाई ‘म तपाईंकहाँबाट जानेछैनँ’ भन्यो भने; 17 तिमीले एउटा सुतारी लिनू, र त्यसको कान ढोकामा टेकाएर छेंड़िदिनू, र सधैंका निम्ति त्यो तिम्रो कमारा हुनेछ। अनि आफ्नी कमारीलाई पनि तिमीले त्यस्तै गर्नू! 18 जब तिमीले त्यसलाई स्वतन्‍त्र तुल्याई तिमीबाट पठाउँछौ, तब त्यो तिमीलाई गाह्रो नलागोस्; किनभने छ वर्षसम्म त्यसले तिम्रा निम्ति काम गरेको छ; यसैले त्यो ज्यालामा काम गर्ने नोकरभन्दा दोबर ज्याला पाउने योग्यको छ; अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीले गरेका सबै काममा तिमीलाई आशिष्‌ दिनुहुनेछ।”
सबै पशुबाट पहिले जन्मेका नरलाई परमप्रभुका निम्ति छुट्याऊ!
19 “तिम्रा गाईबस्तु र तिम्रा भेड़ाबाख्राहरूबाट पैदा भएका सबै पहिले जन्मेका नरहरू तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति पवित्र पार्नू; तिम्रो गाईको पहिले जन्मेकोलाई तिमीले कुनै काममा नलाउनू, र आफ्नो भेड़ाबाख्राको पहिले जन्मेकोलाई नकत्रनू! 20 तिमीले त्यसलाई वर्ष-वर्षमा परमप्रभु आफ्ना परमेश्‍वरको सामु त्यस ठाउँमा खानू, जुन ठाउँ परमप्रभुले चुन्‍नुहुनेछ – तिमी र तिम्रो घरानाले। 21 अनि त्यसमा कुनै खोट छ भने, अर्थात् त्यो लङ्गड़ा वा अन्धा छ भने वा कुनै प्रकारको खराब कलङ्क छ भने तिमीले त्यसलाई परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति बलि नचढ़ाउनू! 22 तिमीले त्यसलाई आफ्ना मूलढोकाहरूभित्र खानू; अशुद्ध र शुद्ध व्यक्ति दुवैले मृग र हरिणको मासुजस्तै त्यसलाई खान सक्छन्। 23 त्यसको रगत मात्र तिमीले नखानू; तिमीले त्यसलाई भुइँमा पानीझैं पोखाइदिनू!”