झूटा भविष्यवक्ताहरू र मूर्तिपूजा गर्नेहरूको मृत्युदण्ड
13
“यदि तिमीहरूको बीचमा कोही भविष्यवक्ता वा स्‍वप्‍नदर्शी उठ्छ, र तिमीलाई कुनै चिन्ह वा अचम्मको काम देखाउँछ भने, 2 अनि त्यो चिन्ह वा त्यो अचम्मको काम पूरा हुन्छ, जसले गर्दा ‘लौ, हामी अरू देवताहरूको पछि लागौं, जसलाई तिमीले जानेका छैनौ, र तिनीहरूको पूजा गरौं’ भनेर त्यसले तिमीलाई भन्यो भने, 3 तिमीले त्यस भविष्यवक्ता वा त्यस स्‍वप्‍नदर्शीका कुराहरूमा ध्यान नदेऊ; किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भन्‍ने कुरा जान्‍नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जाँच्‍नुहुन्छ। 4 तिमीहरू परमप्रभु आफ्ना परमेश्‍वरको पछि-पछि हिँड़्नू, उहाँकै डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको सोर सुन्‍नू; तिमीहरूले उहाँकै सेवा गर्नू र उहाँसँग टाँसिरहनू! 5 अनि त्यो भविष्यवक्ता वा त्यो स्‍वप्‍नदर्शी मारियोस्; किनकि जुन मार्गमा हिँड़्नका निम्ति परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई आज्ञा गर्नुभएको छ, त्यसबाट तिमीलाई बहकाउनका निम्ति त्यसले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरबाट फर्काउने कुरा गरेको छ। यसरी तिमीले आफ्नो बीचबाट त्यो खराबी मेटाइदिनू!
6 यदि तिम्रो भाइले अर्थात् तिम्री आमाको छोराले, अथवा तिम्रो छोरा, तिम्री छोरी, तिम्रो छातीकी पत्‍नी वा आफ्नै प्राणजस्तो साथीले ‘लौ, हामी जाऔं, र अरू देवताहरूको पूजा गरौं’ भन्दै तिमीलाई गुप्‍तमा फुस्ल्यायो भने, जसलाई तिमीले जानेका छैनौ, न तिमीले, न तिम्रा पितापुर्खाहरूले; 7 अर्थात् तिमीहरूको वरिपरि बस्‍ने जातिहरूका देवताहरूमध्ये कुनैलाई, चाहे ती जातिहरू तिम्रा नजिकका, चाहे तिमीदेखि टाढ़ाका होऊन्, चाहे पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्मका होऊन्; 8 तिमी त्यससित राजी नहुनू, न ता त्यसको कुरा सुन्‍नू; अनि तिम्रा आँखाले त्यसलाई नटिठाओस्, र तिमीले त्यसलाई नजोगाउनू, न ता त्यसलाई लुकाउनू! 9 तर तिमीले त्यसलाई निश्‍चय नै मार्नू; त्यसलाई मार्नका निम्ति त्यसमाथि तिम्रै हात पहिले उठोस्, अनि त्यसपछि सबै मानिसहरूको हात उठोस्! 10 अनि तिमीले त्यसलाई ढुङ्गाले हान्‍नू, र त्यो मरोस्; किनकि त्यसले तिमीलाई मिस्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुहुने परमप्रभु तिम्रा परमेश्‍वरबाट तिमीलाई बहकाउन खोजेको थियो। 11 तब सारा इस्राएलले यो सुन्‍नेछ, र डराउनेछ; अनि तिमीहरूको बीचमा तिनीहरूले यस प्रकारको दुष्‍टता फेरि कहिल्यै गर्नेछैनन्।
12 जुन शहरहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई त्यहाँ बस्‍नका भनी दिनुहुन्छ, यदि तिम्रा यी शहरहरूमध्‍ये कुनै एउटामा तिमीले कसैलाई यसो भनिरहेको सुन्यौ भने, 13 ‘तिमीहरूको बीचबाट कतिपय अधम मानिसहरू निस्केका छन् र “लौ, हामी जाऔं र तिमीहरूले नजानेका देवताहरूको पूजा गरौं” भन्दै तिनीहरूको शहरका बासिन्दाहरूलाई बहकाएका छन्’, 14 तब तिमीले सोधपुछ गर, खोज गर र यत्‍नसित केरकार गर; अनि तिमीहरूको बीचमा यस्तो घृणित काम गरिएको कुरा साँचो र पक्‍का हो कि होइन, सो हेर! 15 तब तिमीले त्यस शहरका बासिन्दाहरूलाई निश्‍चय नै तरवारको धारले मार्नू, र त्यसलाई, त्यसमा भएका सबै थोकहरू र त्यसका गाईबस्तुहरू तरवारको धारले बिलकुलै नष्‍ट गर्नू! 16 अनि तिमीले त्यसको सारा लुटको माल त्यसको सड़कको बीचमा जम्मा पार्नू; अनि तिमीले त्यो शहर र त्यसको सब लुटको माल जम्मै परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति आगोले जलाइदिनू; अनि सदाका निम्ति त्यो थाक भएर रहोस्; त्यो फेरि कहिल्यै निर्माण नगरियोस्! 17 अनि ती श्रापित थोकहरूमध्ये कुनै कुरा तिम्रो हातमा नटाँसिओस्; तब परमप्रभु आफ्नो बल्दो क्रोधबाट फर्कनुहुनेछ, र तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएअनुसार तिमीलाई दया देखाउनुहुनेछ, तिमीलाई टिठाउनुहुनेछ र तिमीलाई संख्यामा बढ़ाउनुहुनेछ; 18 यदि तिमीले परमप्रभु आफ्ना परमेश्‍वरका सबै आज्ञाहरू, जुन आज्ञाहरू आज म तिमीलाई आज्ञा गर्दछु, पालन गर्नलाई, अँ, परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे ठीक छ, सो गर्नलाई उहाँको वाणी ध्यानसित सुन्यौ भने।”