परमप्रभुका महान् कामहरू सम्झना गर!
11
“यसकारण तिमीले परमप्रभु आफ्ना परमेश्‍वरलाई प्रेम गर, र उहाँले सुम्पिदिनुभएको जिम्मेवारी, उहाँका विधिहरू, उहाँका नियमहरू र उहाँका आज्ञाहरू सधैं पालन गर! 2 अनि आज तिमीहरूले जानिराख: म तिमीहरूका छोराछोरीहरूसँग कुरा गर्दिनँ, जसले न जानेका छन्, न ता देखेकै छन् – परमप्रभु तिमीहरूका परमेश्‍वरको ताड़ना, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात र उहाँको पसारिएको पाखुरा, 3 अनि मिस्रमा मिस्रको राजा फाराओ र त्यसको सारा देशसँग उहाँले गर्नुभएका उहाँका अचम्मका कामहरू र उहाँका कार्यहरू, 4 साथै मिस्रका सेना, तिनीहरूका घोड़ाहरू र तिनीहरूका रथहरूसित उहाँले के गर्नुभयो, जब तिनीहरूले तिमीहरूलाई पिछा गरे, तब कसरी उहाँले तिनीहरूमाथि लाल समुद्रलाई बहाइदिनुभयो, र कसरी परमप्रभुले आजको दिनसम्मै तिनीहरूलाई नष्‍ट पार्नुभएको छ; 5 अनि तिमीहरू यस ठाउँमा आइपुगुन्जेल उहाँले उजाड़स्थानमा तिमीहरूसँग के-के गर्नुभयो; 6 अनि रूबेनको छोरा एलिआबका छोरा दातान र अबिरामलाई उहाँले के गर्नुभयो, कसरी पृथ्वीले आफ्नो मुख खोल्यो र तिनीहरूलाई, तिनीहरूका घरानाहरू, तिनीहरूका पालहरू र तिनीहरूका अधिकारमा भएका सबै जीवित प्राणीहरूलाई सारा इस्राएलकै सामु निलिदियो; 7 तर तिमीहरूका आँखाहरूले चाहिँ परमप्रभुले गर्नुभएको उहाँको हरेक महान् कार्य देखेका छन्।”
प्रतिज्ञाको देशका आशिष्‌हरू
8 "यसैकारण तिमीहरूले उहाँको हरेक आज्ञा पालन गर, जति आज्ञा आज म तिमीहरूलाई आज्ञा गर्दछु; यसो गर्नाले तिमीहरू बलिया हुनेछौ, र जुन देश कब्जा गर्न तिमीहरू पारि जाँदैछौ, त्यस देशमा पसेर तिमीहरूले त्यसलाई कब्जा गर्नेछौ 9 अनि यसो गर्नाले त्यस देशमा तिमीहरूको आयु लामो हुनेछ, जुन देशको विषयमा परमप्रभुले तिमीहरूका पितापुर्खाहरूसँग, उनीहरूलाई र उनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको थियो, त्यो देश, जहाँ दूध र मह बग्दछन्। 10 किनकि त्यो देश, जहाँ तिमी त्यसलाई कब्जा गर्न गइरहेका छौ, मिस्र देशजस्तो होइन, जहाँबाट तिमीहरू निस्केर आयौ, जहाँ तिमीले आफ्नो बीउ छर्थ्यौ र सागसब्जीको बगानझैं आफ्नो खुट्टाले पानी हाल्थ्यौ 11 तर जुन देशमा, त्यसलाई कब्जा गर्न तिमीहरू पारि गइरहेका छौ, त्यो देशचाहिँ पहाड़हरू र बेंसीहरू भएको देश हो, जसले आकाशबाट परेको पानी पिउँछ; 12 त्‍यो एउटा देश हो, जसको देखरेख परमप्रभु तिम्रा परमेश्‍वरले गर्नुहुन्छ; वर्षको शुरुदेखि वर्षको अन्तसम्मै परमप्रभु तिम्रा परमेश्‍वरका आँखाहरू सधैं त्यसमाथि रहिरहन्छन्।
13 अनि यो हुनेछ: तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र आफ्नो सम्पूर्ण प्राणले परमप्रभु आफ्ना परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्नलाई मेरा आज्ञाहरू, जुन आज्ञाहरू आज म तिमीहरूलाई आज्ञा गर्दछु, यत्‍नपूर्वक पालन गर्‍यौ भने, 14 म तिमीहरूको देशको वर्षा – अघिल्‍लो वर्षा र पछिल्‍लो वर्षा – ठीक समयमा बर्साइदिनेछु, अनि तिमीले आफ्नो अन्‍न, आफ्नो दाखरस र आफ्नो तेल बटुल्न पाउनेछौ। 15 अनि म तिम्रा गाईबस्तुका निम्ति तिम्रा खर्कहरूमा घाँस दिनेछु, अनि तिमीले खानेछौ, र तृप्‍त हुनेछौ। 16 आफ्नो विषयमा होशियार होओ! नत्र कहीं तिमीहरूको हृदय धोकामा पर्ला कि, र तिमीहरू भड़्कौला, र अरू देवताहरूको पूजा गरौला र तिनीहरूलाई दण्‍डवत्‌ गरौला; 17 “तब परमप्रभुको क्रोध तिमीहरूको विरोधमा दन्कनेछ; अनि पानी नपरोस् र जमिनले आफ्नो उब्जनी नदिओस् भनेर उहाँले आकाशलाई थुनिदिनेहुनेछ; अनि परमप्रभुले तिमीहरूलाई दिनुभएको उत्तम देशबाट तिमीहरू चाँड़ै नष्‍ट हुनेछौ।”
परमप्रभुप्रति आज्ञाकारी बन र उहाँसँग टाँसिरह!
18 “यसकारण तिमीहरूले यी मेरा वचनहरू आफ्नो हृदय र आफ्नो मनमा राखिछोड्नू, र तिनलाई चिन्हको रूपमा आफ्नो हातमा बाँध्‍नू, अनि ती तिमीहरूको निधारमा बाँधिने पेटिकाहरू होऊन्! 19 अनि तिमीहरूले आफ्नो घरमा बस्दा, बाटोमा हिँड़्‍दा, ढल्केर बस्दा र उठ्दा ती वचनहरूको चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई ती कुराहरू सिकाउनू! 20 अनि तिमीले ती वचनहरू आफ्नो घरको ढोकाका खाँबाहरूमाथि र आफ्ना मूलढोकाहरूमा लेख्‍नू! 21 फलस्वरूप परमप्रभुले तिमीहरूका पितापुर्खाहरूसित, उनीहरूलाई दिनेछु भनी शपथ खानुभएको देशमा पृथ्वीमाथिको आकाशको आयु भएझैं तिमीहरूको आयु र तिमीहरूका छोराछोरीहरूको आयु बढून्। 22 किनकि मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञाहरू पूरा गर्न, परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा हिँड़्न र उहाँसँग टाँसिरहनका निम्ति तिनलाई यत्‍नपूर्वक पालन गर्‍यौ भने, 23 परमप्रभुले तिमीहरूको सामुबाट यी सबै जातिहरूलाई धपाउनुहुनेछ, र तिमीहरूले आफूभन्दा ठूला र शक्तिशाली जातिहरूमाथि अधिकार गर्नेछौ। 24 तिमीहरूका पैतालाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ; यस उजाड़स्थानदेखि लबानोनसम्म र त्यस नदी, अँ, यूफ्रेटिस नदीदेखि पश्‍चिमी समुद्रसम्म तिमीहरूको सिमाना हुनेछ। 25 "तिमीहरूको सामु कोही मानिस खड़ा रहन सक्नेछैन; किनकि उहाँले तिमीहरूलाई भन्‍नुभएअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले पाइलो टेक्ने सम्पूर्ण देशमाथि तिमीहरूको डर र तिमीहरूको आतङ्क हालिदिनुहुनेछ।”
आशिष्‌ र श्राप
26 “हेर, आज म तिमीहरूको सामु आशिष्‌ र श्राप राखिदिन्छु; 27 आज मैले तिमीहरूलाई आज्ञा गरेका परमप्रभु आफ्ना परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले आशिष्‌ पाउनेछौ; 28 तर परमप्रभु आफ्ना परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ, तर तिमीहरूले नजानेका अरू देवताहरूको पछि लाग्‍नलाई आज मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तिमीहरू भड़्कियौ भने तिमीहरूले श्राप पाउनेछौ। 29 अनि यस्तो हुनेछ: जब परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई त्यस देशभित्र ल्याइपुर्‍याउनुहुन्छ, जहाँ त्यसलाई कब्जा गर्न तिमी जाँदैछौ, तब तिमीले गेरिजीम पहाड़माथि आशिष्‌ र एबाल पहाड़माथि श्राप राख्‍नू! 30 के ती पहाड़हरू यर्दनपारि, सूर्य अस्ताउने दिशापट्टि गिल्गालको सामुन्‍ने, मैदानमा बस्‍ने कनानीहरूको देशमा, मोरेका फलाँटहरूको छेउमा छैनन् र? 31 किनकि जुन देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुन्छ, त्यस देशमा पसेर त्यसलाई कब्जा गर्न तिमीहरू यर्दनपारि जानेछौ; अनि तिमीहरूले त्यसलाई आफ्नो अधिकारमा ल्याउनेछौ, र त्यहाँ बस्‍नेछौ। 32 अनि आज मैले तिमीहरूको सामु राखिदिएका यी सबै विधिहरू र नियमहरू तिमीहरूले होशियारसाथ पालन गर!”