ढुङ्गाका दुईवटा नयाँ पाटीहरू
10
“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो: ‘आफ्ना निम्ति पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर बनाऊ, र माथि पहाड़मा मकहाँ आऊ; अनि आफ्ना निम्ति एउटा काठको सन्दुक बनाऊ! 2 अनि तिमीले फुटाएका पहिलेका पाटीहरूमा भएका शब्दहरू म ती पाटीहरूमा लेखिदिनेछु; अनि तिनलाई तिमीले त्यस सन्दुकभित्र हाल्नू!’ 3 अनि मैले बबुलको काठको सन्दुक बनाएँ, अनि पहिलेका झैं ढुङ्गाका दुईवटा पाटी काटेर बनाएँ, र ती दुईवटा पाटी आफ्नो हातमा लिएर माथि पहाड़मा गएँ। 4 अनि उहाँले ती पाटीहरूमा पहिलो लेखअनुसार दस आज्ञा लेखिदिनुभयो, जुन आज्ञाहरू सभाको दिनमा, त्यस पहाड़मा परमप्रभुले आगोको बीचबाट तिमीहरूसँग बोल्नुभएको थियो; अनि परमप्रभुले ती पाटीहरूक मलाई दिनुभयो। 5 "अनि म फर्कें र त्यस पहाड़बाट ओर्लें, अनि ती पाटीहरू मैले बनाएको सन्दुकभित्र हालें; अनि परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार ती त्यहाँ छन्।6 अनि इस्राएलीहरू बेने-याकानका इनारहरूबाट यात्रा गरेर मोसेरामा आए; त्यहाँ हारून मरे, र त्यहीं तिनी गाड़िए; अनि तिनका छोरा एलाजारले तिनको सट्टामा पूजाहारी-पदमा रहेर सेवाख गरे। 7 त्यहाँबाट तिनीहरूले गुद्गोदासम्म, र गुद्गोदाबाट पानीका खोलाहरूको देश योत्बातासम्म यात्रा गरे।
8 "त्यस बेला परमप्रभुको वाचाको सन्दुक बोक्न, परमप्रभुको सेवा गर्नलाई उहाँको सामु उभिन र उहाँको नाममा आशीर्वाद दिनका निम्ति परमप्रभुले लेवी कुललाई अलग गर्नुभयो, जस्तो आज पनि छ। 9 यसकारण आफ्ना दाजुभाइहरूको साथमा लेवीको कुनै भाग वा पैतृक सम्पत्ति छैन; परमप्रभु तिम्रा परमेश्वरले उसलाई प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु नै उसको पैतृक सम्पत्ति हुनुहुन्छ।
10 अनि त्यस पहाड़मा म पहिलो पल्टझैं चालीस दिन र चालीस रात बसें; अनि त्यस बेला पनि परमप्रभुले मेरो विन्ती सुन्नुभयो; र परमप्रभुले तिमीलाई नष्ट गर्न चाहनुभएन। 11 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘उठ, यी मानिसहरूको अघि-अघि यात्रा गर्दै जाऊ, र तिनीहरू त्यस देशभित्र पसून्, र त्यसलाई कब्जा गरून्,ग जसको विषयमा मैले तिनीहरूका पितापुर्खाहरूसँग, तिनीहरूलाई दिनेछु भनी शपथ खाएको थिएँ।’ ”
इस्राएलीहरूप्रति परमेश्वरको माग
12 "अनि अब हे इस्राएल, परमप्रभु तिम्रा परमेश्वरले तिमीबाट यी कुराहरूबाहेक अरू के चाहनुहुन्छ र? अर्थात् परमप्रभु आफ्ना परमेश्वरको डर मान्नु, उहाँका सबै मार्गहरूमा हिँड़्नु, उहाँलाई प्रेम गर्नु, आफ्नो सम्पूर्ण हृदय र आफ्नो सम्पूर्ण प्राणले परमप्रभु आफ्ना परमेश्वरको सेवा गर्नु, 13 र परमप्रभुका आज्ञाहरू र उहाँका विधिहरू पालन गर्नु, जुन आज्ञा र विधिहरू आज मैले तिम्रै भलाइका निम्ति तिमीलाई आज्ञा गर्दछु। 14 हेर, स्वर्ग र सर्वोच्च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमप्रभु तिम्रा परमेश्वरकै हुन्। 15 तैपनि तिम्रा पितापुर्खाहरूलाई मात्र प्रेम गर्नलाई परमप्रभुले उनीहरूको चाहना गर्नुभयो; अनि उहाँले उनीहरूपछि उनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई सबै जातिहरूको बीचबाट चुन्नुभयो, जस्तो आज भइरहेको छ। 16 यसकारण तिमीहरूले आफ्नो हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ! 17 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका ईश्वर र प्रभुहरूका प्रभु हुनुहुन्छ – एक महान्, सामर्थी र भययोग्य ईश्वर, जसले पक्षपात गर्नुहुन्न, न ता घूस लिनुहुन्छ; 18 उहाँले अनाथ र विधवाको न्याय गरिदिनुहुन्छ, साथै परदेशीलाई भोजन र वस्त्र दिईकन त्यसलाई प्रेम गर्नुहुन्छ। 19 यसकारण तिमीहरूले परदेशीलाई प्रेम गर; किनकि मिस्र देशमा तिमीहरू पनि परदेशी थियौ। 20 तिमीले परमप्रभु आफ्ना परमेश्वरको डर मान्नू; उहाँकै सेवा गर्नू, उहाँसँग टाँसिरहनू र उहाँको नाममा शपथ खानू! 21 उहाँ नै तिम्रो प्रशंसा हुनुहुन्छ; र उहाँ नै तिम्रा परमेश्वर हुनुहुन्छ, जसले तिम्रा निम्ति यी ठूला र डरलाग्दा कामहरू गर्नुभएको छ, जुन कामहरू तिम्रा आँखाहरूले देखेका छन्। 22 तिम्रा पितापुर्खाहरू, सत्तरीजना भएर तल मिस्रमा गएका थिए; अनि अहिले परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आकाशका ताराहरूझैं असंख्य भीड़ बनाउनुभएको छ।”