अभिमानी नहोऊ!
9
“हे इस्राएल सुन, आफूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई र आकाशसम्म पर्खालले घेरिएका ठूला-ठूला शहरहरू कब्जा गर्नलाईक तिमीहरू आज यस यर्दनपारि जानुपरेको छ; 2 यस्तो एउटा जातिलाई, जो ठूलो र अग्लो छ, अर्थात् अनाकका सन्तानहरूलाई, जसलाई तिमी जान्दछौ र जसको विषयमा ‘अनाकीहरूको सामु को खड़ा रहन सक्छ र?’ भन्ने कथन तिमीले सुनेका छौ। 3 यसकारण आज तिमीले बुझिराख: परमप्रभु तिम्रा परमेश्वर नै तिम्रा अघि-अघि पारि जानुहुनेछ; भस्म पार्ने आगोसरह उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ; अनि उहाँले तिनीहरूलाई तिम्रो सामु दबाउनुहुनेछ; यसरी तिमीले तिनीहरूलाई धपाउनेछौ र तिनीहरूलाई चाँड़ै नष्ट गर्नेछौ, जस्तो परमप्रभुले तिमीलाई भन्नुभएको छ। 4 परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामुबाट धपाउनुभएपछि तिमीले आफ्नो हृदयमा यसो नभन: ‘मेरै धार्मिकताको कारणले मैले यो देश आफ्नो अधिकारमा पारूँ भनेर परमप्रभुले मलाई यहाँ ल्याइपुर्याउनुभयो;’ तर यी जातिहरूकै दुष्टताले गर्दा परमप्रभुले तिनीहरूलाई तिम्रो सामुबाट धपाउनुहुन्छ। 5 तिम्रै धार्मिकताको कारणले अथवा तिम्रो हृदयको सीधापनाको कारणले तिमी तिनीहरूको देश कब्जा गर्नक गइरहेका छैनौ; तर ती जातिहरूकै दुष्टताले गर्दा परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामुबाट धपाउनुहुन्छ; साथै परमप्रभुले तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसँग जुन वचनको शपथ खानुभएको थियो, त्यो वचन पूरा गर्न उहाँले यसो गर्नुहुन्छ। 6 यसकारण यो बुझिराख: तिम्रै धार्मिकताको कारणले परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई यो असल देश, यसलाई कब्जाच गर्न भनी दिनुभएको होइन; किनकि तिमी ता एउटा हठीख जाति हौ।सुनको बाछाको घटना सम्झ र नबिर्स!
7 “उजाड़स्थानमा कसरी तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई रिस उठायौ, सो सम्झना गर, र नबिर्स; मिस्र देशबाट निस्केको दिनदेखि लिएर यस ठाउँमा आइनपुगुन्जेलसम्मै तिमीहरू परमप्रभुको विरोधमा विद्रोही भएका छौ। 8 होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायौ; यसैकारण तिमीहरूलाई नष्ट गर्ने गरी परमप्रभु तिमीहरूसित क्रोधित हुनुभयो। 9 जब म यी ढुङ्गाका पाटीहरू अर्थात् परमप्रभुले तिमीहरूसँग बाँध्नुभएको वाचाका पाटीहरू लिन त्यस पहाड़माथि चढ़ें, तब म त्यस पहाड़मा चालीस दिन र चालीस रात बसें; मैले न ता रोटी खाएँ, न पानी पिएँ। 10 अनि परमप्रभुले मलाई परमेश्वरको औंलाले लेखेका ढुङ्गाका दुईवटा पाटी दिनुभयो; अनि तिनमा ती सब वचनहरूअनुसार लेखिएको थियो, जुन वचनहरू सभाको दिनमा, त्यस पहाड़मा परमप्रभुले आगोको बीचबाट तिमीहरूसँग बोल्नुभएको थियो।
11 अनि यस्तो भयो: चालीस दिन र चालीस रातको अन्तमा परमप्रभुले मलाई यी ढुङ्गाका दुईवटा पाटी अर्थात् यस वाचाका पाटीहरू दिनुभयो। 12 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘उठ, यहाँबाट झट्टै तल जाऊ; किनकि तिम्रा मानिसहरूले, जसलाई तिमीले मिस्र देशबाट निकालेर ल्यायौ, आफैलाई भ्रष्ट पारेका छन्; मैले तिनीहरूलाई आज्ञा गरेको बाटोबाट तिनीहरू तुरुन्तै भड़्किएका छन्; तिनीहरूले आफ्ना निम्ति एउटा ढालेको मूर्ति बनाएका छन्।’ 13 परमप्रभुले मलाई यसो पनि भन्नुभयो: ‘मैले यस जातिलाई देखेको छु; हेर, यो त एउटा हठीख जाति हो; 14 मलाई छोड़िदेऊ, र म यिनीहरूलाई नष्ट पार्नेछु, र यिनीहरूको नाम आकाशमुनिबाट मेटाइदिनेछु; अनि तिमीबाट म तिनीहरूभन्दा शक्तिशाली र ठूलो जाति बनाउनेछु।’ 15 यसकारण म फर्कें र त्यस पहाड़बाट ओर्लें; त्यो पहाड़ आगोले जलिरहेको थियो; अनि यस वाचाका दुईवटा पाटी मेरा दुई हातमा थिए। 16 अनि मैले हेरें; अनि हेर, तिमीहरूले परमप्रभुको विरोधमा पाप गरेका थियौ; तिमीहरूले आफ्ना निम्ति एउटा ढालेको बाछा बनाएका थियौ; परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको बाटोबाट तिमीहरू चाँड़ै भड़्केका थियौ। 17 तब मैले ती दुईवटा पाटी लिएर तिनलाई मेरा दुई हातबाट फालिदिएँ र तिनलाई तिमीहरूकै आँखाको सामु फुटाइदिएँ।
18 अनि पहिलेझैं म चालीस दिन र चालीस रात परमप्रभुको सामु भुइँमा घोप्टो परें; मैले न रोटी खाएँ, न पानी पिएँ; तिमीहरूको सारा पापको खातिर, जुन पाप गरीकन तिमीहरूले परमप्रभुलाई रिस उठाउनलाई उहाँको दृष्टिमा दुष्ट काम गर्यौ। 19 किनभने त्यस क्रोध र त्यस तातो रिसदेखि म डराएको थिएँ, किनकि तिमीहरूलाई नष्ट गर्ने गरी परमप्रभु तिमीहरूसित क्रोधित हुनुभएको थियो। तर त्यस बेला पनि परमप्रभुले मेरो विन्ती सुन्नुभयो। 20 अनि परमप्रभु हारूनसँग, तिनलाई नष्ट गर्नलाई अति क्रोधित हुनुभयो; अनि त्यही बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरें। 21 अनि मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको त्यो बाछा लिएँ, त्यसलाई आगोले जलाइदिएँ र त्यसलाई चूरचूर पारें – मसिनो धूलो नहोउन्जेल मैले त्यसलाई पिँधेर मसिनो पारें; अनि त्यसको धूलो मैले त्यस पहाड़बाट झर्ने खोलाभित्र फ्याँकिदिएँ।
22 अनि तबेरा, मस्सा र किब्रोत-हत्तावामा पनि तिमीहरूले परमप्रभुको रिस उठायौ। 23 त्यस्तै गरी जब परमप्रभुले तिमीहरूलाई ‘माथि जाओ, र मैले तिमीहरूलाई दिएको देश कब्जा गरग!’ भन्दै कादेश-बर्नेअबाट पठाउनुभयो; तब पनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञाको विरोधमा विद्रोह गर्यौ; अनि तिमीहरूले उहाँलाई विश्वास गरेनौ, न ता उहाँको सोर ध्यानसित सुन्यौ। 24 तिमीहरू, मैले तिमीहरूलाई चिनेको दिनदेखि नै परमप्रभुको विरोधमा विद्रोही भएका छौ।
25 यसरी म चालीस दिन र चालीस रात परमप्रभुको सामु भुइँमा घोप्टो परें, जस्तो म पहिले घोप्टो परेको थिएँ; किनकि परमप्रभुले तिमीहरूलाई नष्ट गर्नेछु भनी भन्नुभएको थियो। 26 यसकारण मैले परमप्रभुलाई प्रार्थना गरेर भनें: ‘हे प्रभु यहोवा, तपाईंले आफ्ना जनहरू र आफ्नो पैतृक सम्पत्तिलाई नष्ट नगर्नुहोस्, जसलाई तपाईंले आफ्नो महान्ताद्वाराघ छुटकारा दिनुभएको छ, जसलाई तपाईंले आफ्नो शक्तिशाली हातले मिस्रबाट निकालेर ल्याउनुभएको छ। 27 आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झना गर्नुहोस्; यी मानिसहरूको हठीपना नहेर्नुहोस्; तिनीहरूको दुष्टता र तिनीहरूको पाप नहेर्नुहोस्! 28 नत्र ता त्यस देशले, जहाँबाट तपाईंले हामीलाई निकालेर ल्याउनुभयो, यसो भन्ला: “परमप्रभुले तिनीहरूलाई त्यस देशभित्र ल्याइपुर्याउन सक्नुभएन, जुन देश उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको थियो; अनि उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ; यसैले तिनीहरूलाई उजाड़स्थानमा मार्न भनी उहाँले तिनीहरूलाई निकालेर ल्याउनुभयो।” 29 तरै पनि तिनीहरू तपाईंका जनहरू र तपाईंको पैतृक सम्पत्ति हुन्, जसलाई तपाईंले आफ्नो ठूलो शक्तिले र आफ्नो पसारेको बाहुलीले निकालेर ल्याउनुभयो।’ ”