कनानका सात जातिहरू र तिनीहरूका मूर्तिहरूको सम्बन्धमा चेताउनी
7
“जब तिम्रा परमेश्वरले तिमीलाई त्यस देशमा पुर्याउनुहुन्छ, जहाँ तिमी त्यसलाई आफ्नो अधिकारमा लिन भनी गइरहेका छौ, र तिम्रो सामुबाट धेरै जातिहरूलाई निकालिदिनुहुन्छ अर्थात् हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसी नामक सात जातिहरूलाई, जो तिमीभन्दा ठूला र शक्तिशाली छन्; 2 अनि जब परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामु सुम्पनुहुन्छ, तब तिमीले तिनीहरूलाई मार्नू, र तिनीहरूलाई पूरा नष्ट गर्नू; तिनीहरूसँग तिमीले कुनै वाचा नबाँध्नू, न ता तिनीहरूलाई दया नै देखाउनू! 3 न ता तिनीहरूसँग बिहाबारी गर्नू; त्यसको छोरालाई तिमीले आफ्नी छोरी नदिनू, र आफ्ना छोराका निम्ति त्यसकी छोरी नल्याउनू! 4 किनकि तिनीहरूले तिम्रा छोरालाई मेरा पछि लाग्नदेखि बहकाउनेछन्, र उनीहरूले अरू देवताहरूको पूजाक गर्नेछन्; यसैले परमप्रभुको क्रोध तिमीहरूको विरोधमा दन्किनेछ, र तुरुन्तै तिमीलाई नाश पार्नेछ। 5 तर तिमीहरूले तिनीहरूसित यस्तो व्यवहार गर्नू: तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिनू, तिनीहरूका अशेराका मूर्तिहरूख काटेर ढालिदिनू र तिनीहरूका खोपेका मूर्तिहरू आगोले जलाइदिनू! 6 किनकि तिमी परमप्रभु आफ्ना परमेश्वरका निम्ति एक पवित्र जाति हौ; परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथिग आफ्ना निम्ति एउटा विशेष जाति होऊ भनी चुन्नुभएको छ। 7 तिमीहरू संख्यामा अरू सबै जातिहरूभन्दा बढ़ी भएका हुनाले परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नुभएको होइन, न ता तिमीहरूलाई चुन्नुभएको हो; किनकि तिमीहरू संख्यामा सबै जातिहरूभन्दा थोरै थियौ। 8 तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको हुनाले, साथै तिमीहरूका पितापुर्खाहरूसँग बाँध्नुभएको शपथ पूरा गर्ने हेतुले परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई निकालेर ल्याउनुभयो, र तिमीहरूलाई मिस्रको राजा फाराओको हातबाट, अर्थात् दासत्वको घरबाट छुटकारा दिनुभयो।9 यसकारण जानिराख: परमप्रभु तिम्रा परमेश्वर, उहाँ नै परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य ईश्वर; उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञाहरू पालन गर्नेहरूसित उहाँले हजार पुस्तासम्म आफ्नो वाचा र करुणा कायम राख्नुहुन्छ। 10 तर उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूको मुखमै बदला दिनुहुनेछ र तिनीहरूलाई नष्ट पार्नुहुनेछ; आफूलाई घृणा गर्नेप्रति उहाँ ढिलो गर्नुहुन्न; त्यसलाई त्यसको मुखमै उहाँले बदला दिनुहुन्छ। 11 यसकारण तिमीले त्यो आज्ञा, ती विधिहरू र ती नियमहरू पालन गर्नू, जुनचाहिँ आज म तिमीलाई, तिनलाई गर्न भनी आज्ञा गर्दछु।
12 अनि यस्तो हुनेछ: तिमीहरूले यी नियमहरू ध्यानसँग सुन्यौ, मान्यौ र तिनलाई पालन गर्यौ भने परमप्रभु तिम्रा परमेश्वरले तिमीप्रति आफ्नो वाचा र करुणा कायम राख्नुहुनेछ, जसको विषयमा उहाँले तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो। 13 अनि उहाँले तिमीलाई प्रेम गर्नुहुनेछ, तिमीलाई आशिष् दिनुहुनेछ र तिमीलाई संख्यामा बढ़ाउनुहुनेछ; अनि उहाँले तिम्रो गर्भको फल, साथै तिम्रो जमिनको फल, तिम्रो अन्न, तिम्रो दाखरस, तिम्रो तेल, तिम्रा गाईबस्तुका बाछाबाछी र तिम्रा भेड़ाबाख्राका पाठापाठीलाई त्यस देशमा आशिष् दिनुहुनेछ, जुन देशको विषयमा ‘तिमीलाई दिनेछु’ भनी उहाँले तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो। 14 तिमी सबै जातिहरूभन्दा बढ़ी आशिषित हुनेछौ; तिमीहरूको बीचमा कुनै नर वा नारी बाँझो हुनेछैन, न ता तिमीहरूका गाईबस्तुको बीचमा नै। 15 अनि परमप्रभुले तिमीबाट सब प्रकारका बिमारहरू हटाइदिनुहुनेछ, अनि मिस्रका खराब रोगहरूमध्ये कुनैलाई, जसलाई तिमी जान्दछौ, तिमीमाथि ल्याउनुहुनेछैन; तर तिमीलाई घृणा गर्ने सबैमाथि तिनलाई ल्याउनुहुनेछ। 16 अनि जुन-जुन जातिहरूलाई परमप्रभुले तिम्रो हातमा सुम्पिदिनुहुन्छ, ती सबैलाई तिमीले नष्ट गर्नू; तिम्रा आँखाले तिनीहरूलाई नटिठाओस्, न ता तिमीले तिनीहरूका देवताहरूको पूजा गर्नू; किनकि यही कुरा तिम्रा निम्ति पासो ठहरिनेछ।
17 यदि ‘यी जातिहरू त मभन्दा धेरै बेसी रहेछन्; म यिनीहरूलाई कसरी निकाल्न सक्छु?’ भनी तिमीले आफ्नो हृदयमा भन्छौ भने, 18 तिमी तिनीहरूसँग नडराउनू; तर परमप्रभु तिम्रा परमेश्वरले फाराओ र सम्पूर्ण मिस्रसित के-के गर्नुभयो, सो कुरा तिमीले राम्ररी सम्झना गर्नू – 19 ती ठूला विपत्तिहरू,घ जो तिम्रा आँखाहरूले देखे, साथै ती चिन्हहरू, ती अचम्मका कामहरू, त्यो शक्तिशाली हात र त्यो फैलाइएको पाखुरा, जसद्वारा परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई निकालेर ल्याउनुभयो; परमप्रभु तिम्रा परमेश्वरले ती सबै जातिहरूसित, जससँग तिमी डराउँछौ, त्यस्तै गर्नुहुनेछ। 20 साथै जबसम्म ती बाँकी रहेकाहरू र तिमीदेखि लुक्नेहरू नष्ट हुँदैनन्, तबसम्म परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूको बीचमा अरिङ्गाल पठाउनुहुनेछ। 21 तिमी तिनीहरूदेखि भयभीत नहुनू; किनकि परमप्रभु तिम्रा परमेश्वर – एक महान् र भययोग्य ईश्वर – तिमीहरूको बीचमा हुनुहुन्छ। 22 अनि परमप्रभु तिम्रा परमेश्वरले ती जातिहरूलाई तिम्रो सामुबाट अलि-अलि गर्दै निकाल्नुहुनेछ; तिमीले तिनीहरूलाई तुरुन्तैङ नष्ट गर्न सक्नेछैनौ, नत्र मैदानका पशुहरू तिमीमाथि बढ़ेर आउनेछन्। 23 तर परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामु सुम्पिदिनुहुनेछ, र जबसम्म ती नष्ट हुँदैनन्, तबसम्म उहाँले तिनीहरूलाई भारी विनाशद्वारा नष्ट गर्नुहुनेछ। 24 अनि उहाँले तिनीहरूका राजाहरूलाई तिम्रो हातमा सुम्पिदिनुहुनेछ; अनि तिमीले तिनीहरूको नाम आकाशमुनिबाट मेटाइदिनू; जबसम्म तिमीले तिनीहरूलाई नष्ट गर्दैनौ, तबसम्म कोही मानिस तिम्रो सामु खड़ा हुनच सक्नेछैन। 25 तिनीहरूका देवताहरूका खोपिएका मूर्तिहरू तिमीहरूले आगोले जलाइदिनू; ती मूर्तिहरूमा भएको सुन वा चाँदी तिमीले चाहना नगर्नू, न ता आफ्ना निम्ति लिनू; नत्र तिमी त्यसैको पासोमा फस्नेछौ; किनकि परमप्रभु तिम्रा परमेश्वरका निम्ति त्यो घृणित कुरा हो। 26 अनि तिमीले कुनै घृणित कुरा आफ्नो घरभित्र नल्याउनू, नत्र तिमी पनि त्योजस्तै श्रापित कुराछ बन्नेछौ; तर तिमीले त्यसलाई पूरा रीतिले घृणित ठान्नू; तिमीले त्यसलाई पूरा रीतिले घृणा गर्नू; किनकि त्यो श्रापित वस्तुछ हो।”