आज्ञापालन र परमप्रभुसित टाँसिरहने कुरामा मोशाको जोर
6
“अब ती आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन्, जो तिमीहरूलाई सिकाउनू भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको छ, यस उद्देश्यले कि तिमीहरूले तिनलाई त्यस देशमा पालन गर्न सक, जहाँ तिमीहरू त्यसलाई आफ्नो अधिकारमा लिन पारि गइरहेका छौ, 2 र मैले तिमीलाई आज्ञा गरेका उहाँका सबै विधिहरू र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीले आफ्नो सारा जीवनभरि परमप्रभु तिम्रा परमेश्‍वरको डर मान्‍न सक – तिमीले, तिम्रा छोराछोरी र तिम्रा नातिनातिनीले; फलस्वरूप तिम्रो आयु लामो होस्। 3 यसकारण हे इस्राएल सुन, र यो पालन गर्नलाई होशियार होऊ, तब तिम्रो भलो हुनेछ, र परमप्रभु तिम्रा पितापुर्खाहरूका परमेश्‍वरले तिमीलाई प्रतिज्ञा गर्नुभएअनुसार त्यो दूध र मह बग्‍ने देशमा तिमीहरू संख्यामा प्रशस्त बढ़्नेछौ।
4 हे इस्राएल सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्छ; 5 अनि तिमीले परमप्रभु आफ्ना परमेश्‍वरलाई तिम्रो सारा हृदयले, तिम्रो सारा प्राणले र तिम्रो सारा शक्तिले प्रेम गर्नू! 6 अनि यी वचनहरू, जो म आज तिमीलाई आज्ञा गर्दछु, तिम्रो हृदयभित्र रहिरहून्; 7 अनि तिमीले यी वचनहरू आफ्ना छोराछोरीहरूलाई यत्‍नसित सिकाउनू; अनि तिमी आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड़्‍दा, सुत्दा र उठ्दा तिमीले तिनकै चर्चा गर्नू! 8 अनि तिमीले तिनलाई चिन्हको रूपमा आफ्नो हातमा बाँध्‍नू; अनि ती तिम्रा आँखाहरूको बीचमा व्‍यवस्‍था-पेटिकाहरू होऊन्! 9 अनि तिमीले तिनलाई आफ्नो घरको ढोकाका खाँबाहरूमाथि र आफ्ना मूलढोकाहरूमा लेख्‍नू!
10 अनि यस्तो हुनेछ: जब परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई त्यस देशमा पुर्‍याउनुहुनेछ, जुन देश उहाँले तिमीलाई दिन्छु भनी तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको थियो अर्थात् ठूला र उत्तम शहरहरू, जुन शहरहरू तिमीले बनाएनौ, 11 सबै असल-असल कुराले भरिएका घरहरू, जुन घरहरू तिमीले भरेनौ, खनिएका इनारहरू, जुन इनारहरू तिमीले खनेनौ, दाखबारीहरू र जैतुनका रूखहरू, जुनचाहिँ तिमीले रोपेनौ; जब तिमी खाएर तृप्‍त हुनेछौ, 12 तब होशियार होऊ, नत्र कहीं तिमीले परमप्रभुलाई बिर्सौला, जसले तिमीलाई मिस्र देशबाट अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो! 13 तिमीले परमप्रभु तिम्रा परमेश्‍वरको डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाममा शपथ खानू! 14 तिमीहरू अरू देवताहरूको पछि, तिमीहरूको चारैतिर भएका जातिहरूका देवताहरूमध्ये कुनैको पछि नलाग्‍नू; 15 (किनकि तिमीहरूको बीचमा परमप्रभु तिम्रा परमेश्‍वर जलन राख्‍ने ईश्‍वर हुनुहुन्छ।) नत्र कहीं परमप्रभु तिम्रा परमेश्‍वरको क्रोध तिम्रो विरोधमा दन्केला, र तिमीलाई पृथ्वीको सतहबाट मेटाइदेला!
16 तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई परीक्षा नगर, जसरी तिमीहरूले मस्सामा परीक्षा गरेका थियौ। 17 तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरका आज्ञाहरू, उहाँका साक्षी-वचनहरू र उहाँका विधिहरू यत्‍नपूर्वक पालन गर्नू, जनचाहिँ उहाँले तिमीलाई आज्ञा गर्नुभएको छ। 18 अनि परमप्रभुको दृष्‍टिमा जुन कुरा ठीक र असल छ, तिमीले त्यही गर्नू, तब तिम्रो भलो हुनेछ, र त्यस असल देशमा प्रवेश गरेर तिमीले त्यसलाई कब्जा गर्न सक्नेछौ, जसको विषयमा परमप्रभुले तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो; 19 र परमप्रभुले भन्‍नुभएअनुसार उहाँले तिम्रा सबै शत्रुहरूलाई तिम्रो सामुबाट धपाउनुहुनेछ।
20 अनि आउँदो समयमा जब तिम्रो छोराले तिमीलाई यसो भनी सोध्ला: ‘परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंहरूलाई आज्ञा गर्नुभएका यी साक्षी-वचनहरू, यी विधिहरू र नियमहरूको अर्थ के हो?’ 21 तब तिमीले आफ्नो छोरालाई भन्‍नू: ‘हामी मिस्रमा फाराओका कमाराहरू थियौं; अनि परमप्रभुले आफ्नो शक्तिशाली हातले हामीलाई मिस्रबाट निकालेर ल्याउनुभयो; 22 अनि परमप्रभुले हाम्रै आँखाको सामु मिस्रमाथि, फाराओ र त्यसको सारा घरानामाथि ठूला र दु:खदायक चिन्हहरू र अचम्मका कामहरू देखाउनुभयो; 23 अनि हाम्रा पितापुर्खाहरूसित शपथ खानुभएको देश दिन उहाँले हामीलाई यसभित्र ल्याइपुर्‍याउने हेतुले हामीलाई त्यहाँबाट निकालेर ल्याउनुभयो। 24 अनि सधैं हाम्रो भलो होस् भनेर परमप्रभुले हामीलाई यी सबै विधिहरू पालन गर्नू र परमप्रभु हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा गर्नुभयो, तब उहाँले हामीलाई जीवित राख्‍नुहुनेछ, जस्तो आजको दिनमा भइरहेको छ। 25 अनि परमप्रभु आफ्ना परमेश्‍वरको सामु, उहाँले हामीलाई आज्ञा गर्नुभएअनुसार हामीले यी सब आज्ञाहरू होशियारसाथ पालन गर्‍यौं भने यो हाम्रो धार्मिकता ठहरिनेछ।’ ”