लेवीहरूका शहरहरू र छवटा शरणनगरहरू
35
अनि मोआबका मैदानमा, यर्दनको किनारमा, येरिहोनिर परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई आज्ञा गर, र तिनीहरूले आफ्नो पैतृक सम्पत्तिरूपी अधिकारको भागबाट लेवीहरूलाई बस्ने शहरहरू देऊन्; अनि तिमीहरूले लेवीहरूलाई ती शहरहरूको वरिपरि, तिनका खुला जमिनहरू पनि देओ! 3 अनि उनीहरूका निम्ति ती शहरहरू बस्नका निम्ति होऊन्; अनि तिनका खुला जमिनहरूचाहिँ उनीहरूका गाईबस्तुहरूका निम्ति, उनीहरूका सम्पत्तिहरू र उनीहरूका सबै पशुहरूका निम्ति होऊन्! 4 अनि ती शहरहरूका खुला जमिनहरू जो तिमीहरूले लेवीहरूलाई दिन्छौ, त्यस शहरको पर्खालदेखि लिएर चारैतिर हजार हातका होऊन्! 5 अनि तिमीहरूले शहरको बाहिरदेखि पूर्वतिर दुई हजार हात, दक्षिणतिर दुई हजार हात, पश्चिमतिर दुई हजार हात र उत्तरतिर दुई हजार हात नाप्नू; अनि शहरचाहिँ बीचमा परोस्! योचाहिँ उनीहरूका निम्ति ती शहरहरूका खुला जमिनहरू होस्!6 अनि जुन शहरहरू तिमीहरूले लेवीहरूलाई दिन्छौ, तिनमा छवटा ‘शरणनगरहरू’ ठहरिऊन्, जुनचाहिँ हत्याराका निम्ति तिमीहरूले ठहऱ्याउनू, र त्यहाँ त्यो भागेर जाओस्; तीबाहेक तिमीहरूले बयालीसवटा शहरहरू दिनू! 7 जति शहरहरू तिमीहरूले लेवीहरूलाई दिन्छौ, ती जम्मा अठचालीसवटा शहर होऊन्, ती र तिनका खुला जमिनहरू! 8 अनि जुन शहरहरू तिमीहरूले दिन्छौ, ती इस्राएलीहरूको अधिकारको भागबाट दिनू; धेरै भएकाहरूबाट तिमीहरूले धेरै दिनू, थोरै भएकाहरूबाट तिमीहरूले थोरै दिनू; तिनीहरू आफूले अधिकारमा लिएको आफ्नो अधिकारको भागअनुसार हरेक कुललेक आफ्नो शहरहरूबाट लेवीहरूलाई देओस्!”
9 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 10 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू यर्दन तरेर कनान देशमा आउँछौ, 11 तब तिमीहरूका निम्ति शरणनगरहरू हुनलाई तिमीहरूले आफ्ना निम्ति शहरहरू ठहऱ्याउनू, र जसले अनजानमा कुनै मानिसलाई मार्छ, त्यो मार्नेख त्यहाँ भागेर जाओस्! 12 अनि ती तिमीहरूका निम्ति बदला लिनेबाट शरण दिने शहरहरू ठहरिऊन्, र त्यो मार्नेख न्यायका निम्ति समुदायको सामु नउभुन्जेल मर्नु नपरोस्! 13 जुन शहरहरू तिमीहरूले दिन्छौ, तिनमा छवटाचाहिँ तिमीहरूका निम्ति शरणनगरहरू होऊन्! 14 तिमीहरूले यर्दनको यतापट्टि तीनवटा शहर दिनू, र कनान देशमा तीनवटा शहर दिनू, जो शरणनगरहरू ठहरिऊन्! 15 ती छवटा शहरहरूचाहिँ इस्राएलीहरू, परदेशीहरू र तिनीहरूको बीचमा रहने प्रवासीहरूका निम्ति शरणस्थान ठहरिऊन्; र हरेक जसले अनजानमा कुनै मानिसलाई मार्छ, त्यो त्यहाँ भागेर जाओस्!
16 अनि यदि त्यसले यसलाई कुनै फलामको हतियारले हिर्कायो, र यो मर्यो भने त्यो हत्यारा हो; त्यो हत्यारा निश्चय नै मारियोस्! 17 अनि यदि त्यसले हातमा ढुङ्गा लिएर यसलाई हिर्कायो, जसद्वारा यो मर्न सक्छ, र यो मर्यो भने त्यो हत्यारा हो; त्यो हत्यारा निश्चय नै मारियोस्! 18 अथवा यदि त्यसले हातमा काठको हतियार लिएर यसलाई हिर्कायो, जसद्वारा यो मर्न सक्छ, र यो मर्यो भने त्यो हत्यारा हो; त्यो हत्यारा निश्चय नै मारियोस्! 19 रगतको बदला लिने आफैले त्यस हत्यारालाई मारोस्; जब उसले त्यसलाई भेट्छ, तब उसले त्यसलाई मारोस्! 20 तर यदि घृणा गरेर त्यसले यसलाई घचेट्यो वा ढुकेर यसलाई हान्यो, र यो मर्यो भने; 21 अथवा शत्रुता राखेर त्यसले यसलाई आफ्नो हातले हिर्कायो, र यो मर्यो भने यसलाई हिर्काउने निश्चय नै मारियोस्; त्यो हत्यारा हो। जब रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्छ, तब उसले त्यसलाई मारोस्!
22 तर यदि शत्रुता नराखीकनै त्यसले यसलाई अचानक घचेट्यो वा नढुकीकनै यसमाथि कुनै चीज हानिपठायो भने; 23 अथवा नदेखीकनै त्यसले कुनै ढुङ्गा, जसद्वारा यो मर्न सक्छ, यसमाथि फाल्योग, र यो मर्यो, तर त्यो यसको शत्रु थिएन, न ता त्यसले यसको खराबी गर्न खोजेको थियो; 24 तब समुदायले यी नियमहरूअनुसारघ मार्नेख र रगतको बदला लिनेको बीचमा न्याय गरोस्! 25 अनि समुदायले त्यस हत्यारालाई रगतको बदला लिनेको हातबाट छुटाओस्; अनि समुदायले त्यसलाई त्यसको शरणनगरमा फर्काइदेओस्, जहाँ त्यो भागेर गएको थियो; अनि पवित्र तेलले अभिषेक गरिएको महापूजाहारीको मृत्यु नहोउन्जेल त्यो त्यहीं बसोस्! 26 तर यदि त्यो हत्यारा आफ्नो शरणनगरको सिमानाबाट, जहाँ त्यो भागेर गएको थियो, कहीं निस्केर गयो भने, 27 र रगतको बदला लिनेले त्यसलाई त्यसको शरणनगरको सिमानाबाहिर भेट्टाएर रगतको बदला लिनेले त्यस हत्यारालाई मार्यो भने त्यस बहाएको रगतको दोष यसलाई लाग्नेछैन। 28 किनकि महापूजाहारीको मृत्युसम्म त्यो आफ्नो शरणनगरभित्र रहनुपर्थ्यो; अनि महापूजाहारीको मृत्युपछि त्यो हत्यारा आफ्नो अधिकारको भागको जग्गामा फर्कोस्! 29 अनि तिमीहरूका सबै वासस्थानहरूमा तिमीहरूका पुस्तौंपुस्तासम्म यी कुराहरू तिमीहरूका निम्ति न्यायको नियम होऊन्!
30 हरेक जसले कुनै मानिसलाई मार्छ, त्यो हत्यारा साक्षीहरूको मुखको वचनअनुसार मारियोस्; तर कसैलाई मृत्युदण्ड दिनको निम्तिङ एउटा साक्षीले मात्र कुनै मानिसको विरोधमा गवाही नदेओस्! 31 अनि मृत्युदण्डको योग्य भएको हत्याराको प्राणका निम्ति तिमीहरूले छुटकाराको दाम नलिनू; तर त्यो निश्चय नै मारियोस्! 32 अनि जो पूजाहारीको मृत्यु नहोउन्जेल आफ्नो जग्गामा बस्नलाई फर्कन पाओस् भनेर आफ्नो शरणनगरमा भागेको छ, तिमीहरूले त्यसका निम्ति पनि कुनै छुटकाराको दाम नलिनू! 33 अनि तिमीहरूले आफू बसेको देशलाई अशुद्ध नपार; किनकि रगतले नै देशलाई अशुद्ध पार्दछ; देशमा बगाइएको त्यस रगतको विषयमा देशका निम्ति कुनै प्रायश्चित गर्न सकिँदैन, केवल त्यो रगत बगाउनेको रगतले मात्र गर्न सकिन्छ। 34 यसकारण जुन देशमा तिमीहरू बस्छौ, र जसको बीचमा म वास गर्छु, त्यसलाई अशुद्ध नपार; किनकि म, परमप्रभु इस्राएलीहरूको बीचमा वास गर्छु।”