कनान देशका सिमानाहरू
34
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूलाई आज्ञा देऊ, र तिनीहरूलाई भन: जब तिमीहरू कनान देशमा आउँछौ; (पैतृक सम्पत्तिको रूपमा तिमीहरूको भागमा पर्ने देश त्यही हो अर्थात् कनान देश र त्यसका सिमानाहरू);
3 तब तिमीहरूको दक्षिणी प्रान्त जीनको उजाड़स्थानदेखि लिएर एदोमको किनारै-किनार जानेछ, अनि तिमीहरूको दक्षिणी सिमानाचाहिँ पूर्वपट्टि क्षार समुद्रको तल्‍लो टुप्पा हुनेछ। 4 अनि तिमीहरूको सिमाना दक्षिण भएर अक्रब्बीमको उकालोसम्म घुम्‍नेछ र जीनसम्म पुग्‍नेछ; अनि यसको सिमाना दक्षिण भएर कादेश-बर्नेअमा सिद्धिनेछ; त्यसपछि हसर-अद्दारमा जानेछ, र अस्मोनसम्म पुग्‍नेछ। 5 अनि सिमानाले अज्मोनबाट मिस्रको नदीसम्म फेरो मार्नेछ; अनि यसको टुङ्गो समुद्र हुनेछ।
6 अनि तिमीहरूका निम्ति पश्‍चिमी सिमानाचाहिँ महासमुद्र नै सिमाना ठहरिनेछ; तिमीहरूको पश्‍चिमी सिमाना यही हुनेछ।
7 अनि योचाहिँ तिमीहरूको उत्तरी सिमाना हुनेछ: तिमीहरूले महासमुद्रबाट होर पर्वतसम्म आफ्ना निम्ति धर्को तानेर सिमाना बाँध्‍नू! 8 होर पर्वतबाट हमातको मुखसम्म तिमीहरूले धर्को तानेर सिमाना बाँध्‍नू; अनि सिमानाको अन्त सदाद हुनेछ। 9 अनि सिमाना सिप्रोनसम्म जानेछ, र यसको अन्त हसर-एनान हुनेछ; तिमीहरूको उत्तरी सिमाना यही हुनेछ।
10 अनि तिमीहरूले आफ्नो पूर्वीय सिमाना हसर-एनानबाट सपामसम्म धर्को तानेर बाँध्‍नू! 11 अनि सिमाना सपामबाट ओरालो लागेर ऐनको पूर्वपट्टि रिब्लासम्म पुग्‍नेछ; अनि सिमाना ओरालो लागेर पूर्वपट्टि किन्‍नरेतको समुद्रको छेउसम्म पुग्‍नेछ। 12 अनि सिमाना यर्दनसम्म ओरालो लाग्‍नेछ, र यसको अन्त क्षार समुद्र हुनेछ; तिमीहरूको देश र चारैतिर यसको सिमाना यही हुनेछ।”
13 तब मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्नुभयो: “यही त्यो देश हो, जसको अधिकार तिमीहरूले गोला हालेर गर्नेछौ, जुन देशचाहिँ परमप्रभुले साढ़े नौ कुललाई दिनू भनी आज्ञा गर्नुभएको छ। 14 किनकि रूबेनीहरूको कुलले तिनीहरूका पुर्खाहरूको घरानाअनुसार र गादीहरूको कुलले तिनीहरूका पुर्खाहरूको घरानाअनुसार आफ्नो अधिकारको भाग पाएका छन्; अनि मनस्सेको आधा कुलले आफ्नो अधिकारको भाग पाएको छ; 15 अढ़ाई कुलले यर्दनको यतापट्टि, येरिहोको नजिकै, पूर्वतिर, घाम झुल्कने दिशातिर आ-आफ्नो अधिकारको भाग पाएका छन्।”
16 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 17 “ती मानिसहरूका नाम यी हुन्, जसले त्यो देश पैतृक सम्पत्तिको रूपमा तिमीहरूलाई बाँड़िदिनेछन्: पूजाहारी एलाजार र नूनको छोरा यहोशू। 18 त्यो देश पैतृक सम्पत्तिको रूपमा बाँड़्नका निम्ति तिमीहरूले हरेक कुलबाट एकजना शासक लिनू!
19 अनि ती मानिसहरूका नाम यी हुन्: यहूदा कुलबाट यपून्‍नेको छोरा कालेब। 20 अनि शिमोन कुलबाट अम्मिहूदको छोरा शमूएल। 21 बिन्यामीन कुलबाट किस्लोनको छोरा एलिदाद। 22 अनि दानीहरूको कुलको शासक योग्लीको छोरा बुक्‍की। 23 यूसुफको वंशबाट मनस्सेलीहरूको कुलको शासक एपोदको छोरा हन्‍निएल। 24 एप्रैमीहरूको कुलको शासक शिप्‍तानको छोरा कमूएल। 25 अनि जबूलूनीहरूको कुलको शासक पर्नाकको छोरा एलिसापान। 26 अनि इस्साकारीहरूको कुलको शासक अज्जानको छोरा पल्तिएल। 27 अनि आशेरीहरूको कुलको शासक शलोमीको छोरा अहीहूद। 28 अनि नप्‍तालीहरूको कुलको शासक अम्मिहूदको छोरा पदहएल।” 29 यिनीहरू ती हुन्, जसलाई परमप्रभुले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्ति बाँड़िदिने आज्ञा गर्नुभयो।