यर्दनवारि, देशको पूर्वपट्टिको अधिकारको भाग
32
अनि रूबेनीहरू र गादीहरूका धेरै, अति ठूलो संख्‍या गाईबस्तुहरू थिए; अनि तिनीहरूले याजेरको देश र गिलादको देश देखे; अनि हेर, त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो। 2 तब गादीहरू र रूबेनीहरू मोशा, पूजाहारी एलाजार र समुदायका शासकहरूकहाँ आए, र यसो भने: 3 “अतारोत, दीबोन, याजेर, निम्राह, हेश्बोन, एलालेह, सबाम, नबो र बओनचाहिँ, 4 अर्थात् यो देश, जसलाई परमप्रभुले इस्राएलको समुदायको सामु प्रहार गर्नुभयो, यो गाईबस्तुका निम्ति उपयुक्त देश रहेछ, अनि तपाईंका दासहरूका गाईबस्तु छन्।” 5 यसकारण तिनीहरूले भने: “यदि तपाईंको दृष्‍टिमा हामीले कृपा पाएका छौं भने यो देशचाहिँ तपाईंका दासहरूलाई अधिकारको भागको रूपमा दिइयोस्; र हामीलाई यर्दनपारि नलैजानुहोस्!”
6 तब मोशाले गादीहरू र रूबेनीहरूलाई भने: “तिमीहरूका दाजुभाइहरू लड़ाइँमा जान्छन्, अनि के तिमीहरूचाहिँ यहीं बस्छौ? 7 अनि किन तिमीहरू इस्राएलीहरूको हृदयलाई पारि तरेर त्यस देशमा जानदेखि निरुत्साहित पार्दछौ, जुन देश परमप्रभुले तिनीहरूलाई दिनुभएको छ? 8 जब मैले तिमीहरूका बुबाहरूलाई कादेश-बर्नेअबाट त्यो देश हेर्न पठाएँ, त्यस घड़ी उनीहरूले पनि यस्तै गरेका थिए; 9 किनकि जब उनीहरू एश्कोलको बेंसीसम्म गए, र त्यो देश देखे; तब उनीहरूले इस्राएलीहरू परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाऊन् भनेर तिनीहरूको हृदयलाई निरुत्साहित पारिदिए। 10 अनि त्यस दिन परमप्रभुको क्रोध दन्क्यो, र यसो भन्दै उहाँले शपथ खानुभयो: 11 ‘निश्‍चय मिस्र देशदेखि निस्केर आएका यी मानिसहरूमध्ये कसैले पनि, जो बीस वर्ष र त्यसभन्दा माथिकाहरू छन्, त्यो देश देख्‍न पाउनेछैन, जसको विषयमा मैले अब्राहाम, इसहाक र याकूबसँग शपथ खाएको थिएँ; किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्। 12 कनजी यपून्‍नेको छोरा कालेब र नूनको छोरा यहोशूले मात्र देख्‍न पाउनेछन्; किनभने उनीहरूले परमप्रभुलाई पूर्ण रीतिले पछ्याएका छन्।’ 13 अनि इस्राएलको विरोधमा परमप्रभुको क्रोध दन्क्यो; र परमप्रभुको दृष्‍टिमा खराब काम गर्नेहरूको त्यो सारा पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई चालीस वर्षसम्म उजाड़स्थानमा घुम्‍न लाउनुभयो। 14 अनि हेर, इस्राएलप्रति परमप्रभुको बल्दो क्रोधमा अझ बढ़ी क्रोध थप्‍न भनी तिमी पापी मानिसहरूका सन्तानहरू आफ्ना बुबाहरूको सट्टामा उठेका छौ। 15 किनभने तिमीहरू उहाँको पछि लाग्‍नदेखि हट्यौ भने उहाँले तिनीहरूलाई फेरि पनि उजाड़स्थानमा छोड़्नुहुनेछ; यसरी तिमीहरूले यस सम्पूर्ण जातिलाई नष्‍ट गर्नेछौ।”
16 तब तिनीहरू उनको नजिक आए, र भने: “हामी यहाँ हाम्रा गाईबस्तुहरूका निम्ति गोठहरू र हाम्रा बालबच्‍चाहरूका निम्ति शहरहरू बनाउनेछौं; 17 तर हामी आफैचाहिँ जबसम्म हामी इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा पुर्‍याउँदैनौं, तबसम्म हतियार भिरेर तयारीसाथ तिनीहरूको अघि-अघि जानेछौं; अनि हाम्रा बालबच्‍चाहरूचाहिँ यस देशका बासिन्दाहरूको कारणले पर्खालले घेरिएका शहरहरूमा बस्‍नेछन्। 18 जबसम्म इस्राएलीहरूको हरेक जनले आफ्नो अधिकारको भाग पाउँदैन, तबसम्म हामी आफ्ना घर फर्कनेछैनौं। 19 किनकि हामी यर्दनपारि र त्यसदेखि उता तिनीहरूको साथमा कुनै अधिकारको भाग लिनेछैनौं; किनभने हाम्रो अधिकारको भाग हाम्रा निम्ति यतै यर्दनवारि, पूर्वपट्टि परेको छ।”
20 तब मोशाले तिनीहरूलाई भने: “तिमीहरूले यो कुरा गर्‍यौ भने अर्थात् तिमीहरू परमप्रभुको सामु हतियार भिरेर लड़ाइँमा गयौ भने, 21 अनि परमप्रभुले आफ्नो सामुबाट आफ्ना शत्रुहरूलाई नधपाउन्जेल तिमीहरू सबै उहाँको सामु हतियार भिरेर यर्दनपारि गयौ भने, 22 र त्यो देश परमप्रभुको सामु वशमा आयो भने त्यसपछि तिमीहरू फर्कनू; र तिमीहरू परमप्रभु र इस्राएलको सामु निर्दोष ठहरिनेछौ; अनि यो देश परमप्रभुको सामु तिमीहरूको अधिकारको भाग हुनेछ। 23 तर तिमीहरूले यस्तो गर्दैनौ भने हेर, तिमीहरूले परमप्रभुको विरोधमा पाप गरेका छौ; र यो जानिराख: तिमीहरूको पापले तिमीहरूलाई फेला पार्नेछ। 24 आफ्ना निम्ति अर्थात् आफ्ना बालबच्‍चाहरूका निम्ति शहरहरू र आफ्ना भेड़ाबाख्राहरूका निम्ति गोठहरू बनाओ; अनि तिमीहरूको मुखबाट जे निस्केको छ, त्यो गर!”
25 तब गादीहरू र रूबेनीहरूले मोशालाई यसो भने: “मेरा प्रभुले आज्ञा गर्नुभएअनुसार तपाईंका दासहरूले गर्नेछन्। 26 हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा भेड़ाबाख्राहरू र हाम्रा सब गाईबस्तुहरू यहीं गिलादका शहरहरूमा रहनेछन्। 27 तर तपाईंका दासहरू हरेक मेरा प्रभुले भन्‍नुभएअनुसार लड़ाइँ गर्न हतियार भिरेर परमप्रभुको सामु लड़ाइँका निम्‍ति पारि जानेछन्।”
28 तब उनीहरूको विषयमा मोशाले पूजाहारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलहरूका बुबारूपी अगुवाहरूलाई आज्ञा गरे। 29 अनि मोशाले तिनीहरूलाई भने: “तिमीहरूको साथमा गादीहरू र रूबेनीहरू हरेक हतियार भिरेर लड़ाइँका निम्ति परमप्रभुको सामु यर्दनपारि जान्छन्, र त्यो देश तिमीहरूको सामु वशमा आयो भने तिमीहरूले गिलादको देशचाहिँ अधिकारको भागको रूपमा तिनीहरूलाई दिनू; 30 तर तिनीहरू हतियार भिरेर तिमीहरूको साथमा पारि गएनन् भने तिनीहरूले कनान देशमा तिमीहरूको बीचमा आ-आफ्नो अधिकारको भाग पाऊन्!” 31 तब गादीहरू र रूबेनीहरूले यसो भन्दै जवाफ दिए: “परमप्रभुले तपाईंका दासहरूलाई जस्तो भन्‍नुभएको छ, त्यस्तै हामी गर्नेछौं। 32 हतियार भिरेर हामी परमप्रभुको सामु पारि तरेर कनान देशमा जानेछौं, र यर्दनवारि हाम्रो पैतृक सम्पत्तिरूपी अधिकारको भाग हाम्रो होस्!”
33 तब मोशाले उनीहरूलाई अर्थात् गादीहरू र रूबेनीहरूलाई, साथै यूसुफका छोरा मनस्सेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् त्यो देश र सिमानाहरूभित्र परेका त्यसका शहरहरू, साथै वरिपरिको देशका शहरहरू दिए। 34 अनि गादीहरूले दीबोन, अतारोत, अरोएर, 35 अतारोत-शोपान, याजेर र योग्बहा, 36 साथै बेत-निम्राह र बेत-हारानजस्ता पर्खालले घेरिएका शहरहरू र भेड़ाबाख्राहरूका निम्ति गोठहरू बनाए। 37 अनि रूबेनीहरूले हेश्बोन, एलालेह, किर्यातैम, 38 साथै नबो र बाल-माओन, जसका नामहरू बदली गरिए, अनि सिब्मा बनाए; अनि तिनीहरूले आफूले बनाएका शहरहरूलाई अरू-अरू नाम दिए। 39 अनि मनस्सेका छोरा माकीरका सन्तानहरू गिलादमा गएर त्यसलाई कब्जा गरे, र त्यहाँ रहेका एमोरीहरूलाई निकालिदिए। 40 अनि मोशाले मनस्सेका छोरा माकीरलाई गिलाद दिए; र तिनी त्यहाँ बस्‍न लागे। 41 अनि मनस्सेका छोरा याइर निस्केर तिनीहरूका गाउँहरू कब्जा गरे, र तिनको नाम ‘हव्वोत-याइर’ राखे। 42 अनि नोबह गएर केनात र त्यसका गाउँहरू कब्जा गरे, र आफ्नै नामअनुसार त्यसको नाम नोबह राखे।