मिद्यानीहरूसँग लिएको बदला
31
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “मिद्यानीहरूसँग इस्राएलीहरूको बदला लेऊ; त्यसपछि तिमी आफ्ना मानिसहरूकहाँ मिल्न जानेछौ।” 3 अनि मोशाले मानिसहरूलाई यसो भने: “तिमीहरूमध्ये कति मानिसहरूलाई लड़ाइँका निम्ति हतियार भिर्न लगाओ, र मिद्यानसँग परमप्रभुको बदला लिन उनीहरू मिद्यानीहरूको विरोधमा जाइलागून्! 4 हरेक कुलबाट एक हजारको हिसाबले इस्राएलको जम्मै कुलहरूबाट तिमीहरूले लड़ाइँमा पठाउनू!” 5 अनि हरेक कुलबाट एक हजारको हिसाबले इस्राएलका हजारौंबाट बाह्र हजार लड़ाइँका निम्ति हतियार भिरेकाहरू खटाइए
6 तब मोशाले उनीहरूलाई, हरेक कुलबाट एक हजारलाई लड़ाइँमा पठाए; उनीहरू र पूजाहारी एलाजारका छोरा पीनहासलाई उनले लड़ाइँमा पठाए; अनि तिनको हातमा पवित्र पात्रहरू र फुक्नका निम्ति तुरहीहरू थिए। 7 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनीहरूले मिद्यानीहरूसँग लड़ाइँ गरे र सबै पुरुषहरूलाई मारे। 8 अनि अरू मारिएकाहरूबाहेक उनीहरूले मिद्यानका राजाहरूलाई अर्थात् एवी, रेकेम, सूर, हूर र रेबा नामक मिद्यानका पाँच राजाहरूलाई मारे; उनीहरूले बओरको छोरा बालामलाई पनि तरवारले मारे। 9 अनि इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका बालबच्‍चाहरूलाई कैदी बनाए, साथै तिनीहरूका सबै गाईबस्तुहरू, तिनीहरूका सबै भेड़ाबाख्राहरू र तिनीहरूका सबै सम्पत्तिहरू लुटेर लगे। 10 अनि तिनीहरूले बसोबास गरेका तिनीहरूका सबै शहरहरू र तिनीहरूका सबै किल्‍लाहरू आगोले जलाइदिए। 11 अनि उनीहरूले के मानिस, के पशु, सबै लुटका मालहरू र लड़ाइँमा खोसिएका सबै धनमाल लगे। 12 अनि उनीहरूले कैदीहरू, लड़ाइँमा खोसिएका धनमाल, र लुटका मालहरू मोशा, पूजाहारी एलाजार र इस्राएलीहरूको समुदायकहाँ, मोआबका मैदानमा भएको छाउनीमा ल्याए, जो येरिहोनिर यर्दनको किनारमा थियो।
13 अनि मोशा, पूजाहारी एलाजार र समुदायका सबै शासकहरू छाउनीबाहिर उनीहरूसँग भेट गर्न निस्के। 14 अनि मोशा सेनाका अफिसरहरूसँग, अर्थात् लड़ाइँबाट आएका हजारौंमाथिका कप्‍तानहरू र सयौंमाथिका कप्‍तानहरूसँग रिसाए। 15 अनि मोशाले उनीहरूलाई भने: “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै राख्यौ? 16 हेर, यिनीहरूले नै इस्राएलीहरूलाई बालामको सल्‍लाहअनुसार पोरको विषयमा परमप्रभुको विरोधमा अपराध गर्न लाएका हुन्; अनि परमप्रभुको समुदायमा त्यो महामारी फैलियो 17 यसकारण अब बालबच्‍चाहरूको बीचबाट हरेक केटालाई मार, साथै पुरुषसँग सहबास गरेकी, पुरुषलाई जान्‍ने हरेक स्त्रीलाई मार! 18 तर पुरुषसँग सहबास नगरेका, पुरुषलाई नजान्‍ने सबै साना केटीहरूलाई आफ्नै निम्ति जीवित राख! 19 अनि तिमीहरू सात दिनसम्म छाउनीबाहिर बस; हरेक जसले कुनै मान्छेलाई मारेको छ, र हरेक जसले कुनै मारिएकोलाई छोएको छ, तिमीहरूले तेस्रो दिनमा र सातौं दिनमा आफैलाई र आफ्ना कैदीहरूलाई शुद्ध पार, 20 र आफ्ना सबै वस्त्रहरू, छालाले बनेका सबै थोकहरू, बाख्राको ऊनले बनेका सबै थोकहरू र काठले बनेका सबै थोकहरू शुद्ध पार!”
21 अनि पूजाहारी एलाजारले लड़ाइँमा गएका सैनिकहरूको मानिसहरूलाई भने: “परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको व्यवस्थाको विधि यही हो: 22 सुन अनि चाँदी, पित्तल, फलाम, टिन र सिसा मात्र, 23 अर्थात् आगोमा ठहर्न सक्ने हरेक वस्तु तिमीहरूले आगोभित्र हालेर निकाल्नू, र त्यो शुद्ध हुनेछ; तरै पनि त्यो अशुद्धता अलग पार्ने पानीले शुद्ध पारियोस्; अनि आगोमा ठहर्न नसक्ने हरेक वस्तु तिमीहरूले पानीभित्र हालेर निकाल्नू, 24 अनि सातौं दिनमा तिमीहरूले आ-आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ; अनि त्यसपछि तिमीहरू छाउनीभित्र आउनू!”
25 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 26 “तिमीले, पूजाहारी एलाजार र समुदायका बुबाहरूका अगुवाहरूले लड़ाइँमा खोसिएका धनमाल, दुवै मानिस र पशुको मुठ संख्या निकाल! 27 अनि ती लड़ाइँ गर्नेहरू जो लड़ाइँमा गएका थिए, र सम्पूर्ण समुदायको बीचमा लुटको माल दुई भागमा बाँड़! 28 अनि त्यस लड़ाइँमा गएका सैनिकहरूको तर्फबाट ती मानिसहरू, गाईबस्तुहरू, गधाहरू र भेड़ाबाख्राहरूबाट हरेक पाँच सयमा एउटा गरेर परमप्रभुका निम्ति कर उठाऊ! 29 उनीहरूको आधा हिस्‍साबाट लिएर परमप्रभुको उचाल्ने भेटीको रूपमा पूजाहारी एलाजारलाई देऊ! 30 अनि इस्राएलीहरूको आधा हिस्‍सामा परेका ती मानिसहरू, गाईबस्तुहरू, गधाहरू, भेड़ाबाख्राहरूबाट, अँ, सब प्रकारका पशुहरूबाट पचासमा एउटा गरेर लिनू, र ती कुराहरू परमप्रभुको निवासस्थानको देखरेखको भार उठाउने लेवीहरूलाई देऊ!” 31 तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र पूजाहारी एलाजारले गरे।
32 अनि ती सैनिकहरूले त्‍यो लुटेको धनमाल, अँ, लुटको मालबाट रहेको भाग यही थियो: छ लाख पचहत्तर हजार भेड़ाबाख्रा; 33 बहत्तर हजार गाईबस्तु; 34 एकसट्ठी हजार गधा; 35 र मानिसहरूचाहिँ – पुरुषसँग सहबास नगरेका, पुरुषलाई नजान्‍ने सबै स्‍त्रीहरू बत्तीस हजार थिए। 36 अनि त्यो आधा हिस्‍सा, अर्थात् ती लड़ाइँमा गएकाहरूको भागचाहिँ तीन लाख सैंतीस हजार पाँच सय भेड़ाबाख्राहरू थिए। 37 अनि ती भेड़ाबाख्राहरूबाट परमप्रभुको करचाहिँ छ सय पचहत्तरवटा थिए। 38 अनि गाईबस्तुहरू छत्तीस हजार थिए; जसबाट परमप्रभुको कर बहत्तरवटा थिए। 39 अनि गधाहरू तीस हजार पाँच सय थिए; जसबाट परमप्रभुको कर एकसट्ठीवटा थिए। 40 अनि मानिसहरू सोह्र हजार थिए; जसबाट परमप्रभुको कर बत्तीसजना थिए। 41 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले त्यो कर अर्थात् परमप्रभुको उचाल्ने भेटी पूजाहारी एलाजारलाई दिए।
42 अनि इस्राएलीहरूको आधा हिस्‍साबाट, जुन हिस्‍सा मोशाले ती लड़ाइँमा गएकाहरूबाट बाँड़ेका थिए; 43 (अब समुदायको आधा हिस्‍साचाहिँ यो थियो: तीन लाख सैंतीस हजार पाँच सय भेड़ाबाख्रा; 44 छत्तीस हजार गाईबस्तु; 45 तीस हजार पाँच सय गधा; 46 र सोह्र हजार मानिस।) 47 अँ, इस्राएलीहरूको आधा हिस्‍साबाट पनि मोशाले मानिस र पशुबाट हरेक पचासमा एक-एकवटा लिए, अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ती कुराहरू परमप्रभुको निवासस्थानको देखरेखको भार उठाउने लेवीहरूलाई दिए।
48 तब त्‍यस सेनाका हजारौंमाथिका अफिसरहरू अर्थात् हजारौंमाथिका कप्‍तानहरू र सयौंमाथिका कप्‍तानहरू मोशाको नजिक आए; 49 अनि तिनीहरूले मोशालाई भने: “हामी, तपाईंका सेवकहरूले हाम्रो अधीनतामा भएका सिपाहीहरूको गन्ती लिएका छौं, र हामीमध्ये एकजना मानिस पनि कम भएको छैन; 50 यसकारण हामीले परमप्रभुका निम्ति एउटा भेटी ल्याएका छौं; परमप्रभुको सामु हाम्रा प्राणहरूका निम्ति प्रायश्‍चित गर्नलाई हरेकले पाएका थोकहरूबाट सुनका गहनाहरू, सिक्रीहरू, चुराहरू, औंठीहरू, कुण्डलहरू र बाजुहरू ल्याएका छौं।” 51 अनि मोशा र पूजाहारी एलाजारले उनीहरूबाट त्यो सुन अर्थात् बनेका सबै गहनाहरू लिए। 52 अनि तिनीहरूले हजारौंमाथिका कप्‍तानहरू र सयौंमाथिका कप्‍तानहरूको तर्फबाट परमप्रभुका निम्ति चढ़ाइएको उचाल्ने भेटीको सबै सुन सोह्र हजार सात सय पचास शेकेल थियो। 53 किनकि सिपाहीहरू हरेकले आ-आफ्नै निम्ति लुटको माल लिएका थिए। 54 अनि मोशा र पूजाहारी एलाजारले हजारौंमाथिका कप्‍तानहरू र सयौंमाथिका कप्‍तानहरूको तर्फबाट त्यो सुन लिएर त्यसलाई परमप्रभुको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको चिन्हको रूपमा भेट हुने पालभित्र ल्याए।