भाकलका नियमहरू
30
अनि मोशाले कुलहरूका अगुवाहरूलाई इस्राएलीहरूको विषयमा यसो भने: “परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: 2 जब कुनै मानिसले परमप्रभुलाई भाकल गर्दछ, वा आफ्नो प्राणलाई बन्धनले बाँध्‍न शपथ खाएको हुन्छ, तब त्यसले आफ्नो वचन भङ्ग नगरोस्; त्यसले आफ्नो मुखबाट निस्केको सबै कुराअनुसार गरोस्!
3 अनि जब कुनै स्त्रीले परमप्रभुलाई भाकल गर्दछे, र आफ्नो बुबाको घरमा, आफ्नो जवानीमा आफूलाई बन्धनले बाँध्दछे; 4 अनि त्यसको बुबाले त्यसको भाकल र त्यसको बन्धन सुनेको छ, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे, अनि त्यसको बुबा त्यससँग चुप लागेर बस्छ भने त्यसका सबै भाकलहरू स्थिर रहनेछन्, र हरेक बन्धन स्थिर रहनेछ, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे। 5 तर सुनेकै दिन त्यसका बुबाले त्यसलाई मनाही गरेको छ भने त्यसका कुनै पनि भाकल र कुनै पनि बन्धन स्थिर रहनेछैन, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे; अनि परमप्रभुले त्यसलाई क्षमा गर्नुहुनेछ; किनकि त्यसको बुबाले त्यसलाई मनाही गर्‍यो।
6 अनि यदि कहीं त्यो लोग्‍नेको अधीनतामा छे, र त्यसले भाकलहरू गरेकी छ वा सोचविचारै नगरीकन आफ्ना ओठले केही वचन बोलिपठाएकी छ भने, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे, 7 अनि त्यसको लोग्‍नेले सुनेको छ, र सुनेको दिन ऊ त्यससँग चुप लागेर बस्छ भने त्यसका भाकलहरू स्थिर रहनेछन्, र त्यसका बन्धनहरू, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे, स्थिर रहनेछन्। 8 तर सुनेकै दिन त्यसका पतिले त्यसलाई मनाही गरेको छ भने त्‍यसले गरेको त्यसको भाकल र सोचविचारै नगरीकन आफ्ना ओठले बोलिपठाएको वचन रद्द गरिदिनेछ, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे; अनि परमप्रभुले त्यसलाई क्षमा गर्नुहुनेछ। 9 तर विधवाको वा त्यागिएकी स्त्रीको हरेक भाकल, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे, त्यसमाथि स्थिर रहनेछ। 10 अनि त्यसले आफ्नो पतिको घरमा भाकल गरेकी वा शपथ खाएर आफ्नो प्राणलाई बन्धनले बाँधेकी छे भने, 11 र त्यसको पतिले सुनेको छ, त्यससँग चुप लागेको छ र त्यसलाई मनाही गरेको छैन भने त्यसका सबै भाकलहरू स्थिर रहनेछन्, र हरेक बन्धन, जसद्वारा त्यसले आफ्नो प्राणलाई बाँधेकी छे, स्थिर रहनेछ। 12 तर सुनेकै दिन त्यसको पतिले तिनलाई पूरै रीतिले रद्द गरिदिएको छ भने त्यसका भाकलहरूको विषयमा वा त्यसको प्राणको बन्धनको विषयमा त्यसका ओठहरूबाट निस्केको कुनै पनि कुरा स्थिर रहनेछैन; त्यसका पतिले तिनलाई रद्द गरिदिएको छ; अनि परमप्रभुले त्यसलाई क्षमा गर्नुहुनेछ।
13 हरेक भाकल र आफ्नो प्राणलाई कष्‍ट दिनको निम्ति खाइएको हरेक बन्धनरूपी शपथ – त्यसका पतिले त्यो स्थिर पार्न सक्छ अथवा त्यसकै लोग्‍नेले त्यो रद्द गर्न सक्छ। 14 तर दिन प्रतिदिन त्यसका पति त्यससँग बिलकुल चुप लागिरहन्छ भने उसले त्यसका सबै भाकलहरू वा त्यसमाथि भएका त्यसका सबै बन्धनहरू स्थिर पार्छ; उसले तिनलाई स्थिर पारेको छ; किनभने सुनेको दिनमा ऊ त्यससँग चुप लागिरह्‍यो। 15 तर सुनेर उसले पछिबाट ती कुराहरू कुनै रीतिले रद्द गर्‍यो भने त्यसको अधर्म उसैले भोग्‍नेछ।”
16 कुनै मानिस र त्‍यसकी पत्‍नीको बीचमा, अनि बुबा र आफ्नो जवानीमा आफ्नो बुबाको घरमा बसेकी उसकी छोरीको बीचमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका विधिहरू यी नै हुन्।