दिन प्रतिदिन निर्धारित बलिहरू
28
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई आज्ञा गर, र तिनीहरूलाई भन: तिमीहरू मेरो भेटी, आगोद्वारा चढ़ाइएका बलिहरूको रूपमा मेरो भोजनक, जो मेरा निम्ति मीठो बास्ना हो, मलाई त्यसको तोकिएको समयमा चढ़ाउन होशियार होओ! 3 अनि तिमीले तिनीहरूलाई भन: तिमीहरूले परमप्रभुलाई चढ़ाउनुपर्ने, आगोद्वारा चढ़ाइने बलि यही हो: दिन प्रतिदिन दुईवटा पहिलो वर्षका निष्खोट भेड़ाका पाठा, नित्य होमबलिका निम्ति। 4 एउटा पाठो तिमीले बिहान चढ़ाउनू; र अर्को पाठो तिमीले बेलुकी चढ़ाउनू! 5 अनि हिनको एक चौथाइ कुटेर बनाएको तेलसँग मिसिएको एपाको दसौं भाग मैदा, अन्नबलिका निम्ति; 6 यो नित्य होमबलि हो, जो मीठो बास्नाका निम्ति अर्थात् परमप्रभुका निम्ति आगोद्वारा चढ़ाइने बलिको रूपमा सिनाई पर्वतमा ठहराइएको थियो। 7 अनि त्यसको अर्घबलिचाहिँ हरेक पाठाका निम्ति हिनको एक चौथाइ होस्; पवित्रस्थानमा तिमीले परमप्रभुका निम्ति अर्घबलिको रूपमा मदिरा खन्याएर चढ़ाउनू! 8 अनि अर्को पाठो तिमीले बेलुकी चढ़ाउनू; बिहानको अन्नबलि र त्यसको अर्घबलिजस्तै तिमीले चढ़ाउनू; यो परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलि हो।विश्रामदिनका निर्धारित बलिहरू
9 “अनि विश्रामदिनमा दुईवटा पहिलो वर्षका निष्खोट भेड़ाका पाठा; र त्यसको अन्नबलिका निम्ति तेलसँग मिसिएको एपाको दस भागको दुई भाग मैदा, र त्यसको अर्घबलि चढ़ाउनू! 10 नित्य होमबलि र त्यसको अर्घबलिबाहेक योचाहिँ हरेक विश्रामदिनमा चढ़ाउनुपर्ने होमबलि हो।”
महिनाको शुरुका निर्धारित बलिहरू
11 “अनि तिमीहरूका महिनाहरूका शुरुमा तिमीहरूले परमप्रभुका निम्ति होमबलि चढ़ाउनू: दुईवटा जवान बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका निष्खोट भेड़ाका पाठा; 12 अनि एउटा बहरका निम्ति तेलसँग मिसिएको एपाको दस भागको तीन भाग मैदा, अन्नबलिका निम्ति, अनि एउटा भेड़ाका निम्ति तेलसँग मिसिएको एपाको दस भागको दुई भाग मैदा, अन्नबलिका निम्ति; 13 अनि एउटा पाठोका निम्ति तेलसँग मिसिएको एपाको दसौं भाग मैदा, अन्नबलिका निम्ति; यो मीठो बास्ना दिने होमबलि अर्थात् परमप्रभुका निम्ति आगोद्वारा चढ़ाइने बलि हो; 14 अनि तिनको अर्घबलिचाहिँ हरेक बहरका निम्ति हिनको दुई चौथाइ, हरेक भेड़ाका निम्ति हिनको एक तिहाइ र हरेक पाठोको निम्ति हिनको एक चौथाइ दाखमद्य होस्! 15 अनि नित्य होमबलि र त्यसको अर्घबलिबाहेक पापबलिका निम्ति परमप्रभुलाई बाख्राको एउटा पाठो चढ़ाइयोस्!”
निस्तार चाड़का र अखमिरे रोटीहरूको चाड़का निर्धारित बलिहरू
16 "अनि पहिलो महिनाको चौधौं दिनमा परमप्रभुको निस्तार चाड़ हुनेछ; 17 अनि त्यही महिनाको पन्ध्रौं दिनमा एउटा चाड़ हुनेछ; सात दिनसम्म अखमिरे रोटीहरू खाइऊन्! 18 पहिलो दिनमा एउटा पवित्र सभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू! 19 तर तिमीहरूले परमप्रभुका निम्ति होमबलिको रूपमा आगोद्वारा चढ़ाइने बलि चढ़ाउनू: दुईवटा जवान बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका भेड़ाका पाठा; ती तिमीहरूका निम्ति निष्खोट होऊन्! 20 अनि तिनको अन्नबलिचाहिँ तेलसँग मिसिएको मैदा होस्; तिमीहरूले हरेक बहरका निम्ति दस भागको तीन भाग, र भेड़ाका निम्ति दस भागको दुई भाग चढ़ाउनू! 21 अनि सात पाठाहरूमा हरेक पाठोका निम्ति तिमीले दसौं भाग चढ़ाउनू! 22 साथै तिमीहरूका निम्ति प्रायश्चित गर्नलाई पापबलिका निम्ति एउटा बोका चढ़ाउनू! 23 बिहानको होमबलिबाहेक, जो नित्य होमबलि हो, तिमीहरूले यी बलिहरू चढ़ाउनू! 24 यस प्रकारले तिमीहरूले दिनहुँ, सात दिनसम्म परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलिको भोजन चढ़ाउनू; नित्य होमबलि र त्यसको अर्घबलिबाहेक यो चढ़ाइयोस्! 25 अनि सातौं दिनमा तिमीहरूको पवित्र सभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू!
26 अनि पहिला फलहरूको दिनमा, जब तिमीहरूका हप्ताहरूको चाड़मा तिमीहरूले परमप्रभुका निम्ति नयाँ अन्नबलि चढ़ाउँछौ, तब तिमीहरूको एउटा पवित्र सभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू! 27 तर परमप्रभुका निम्ति मीठो बास्ना हुनलाई तिमीहरूले होमबलि चढ़ाउनू: दुईवटा जवान बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका भेड़ाका पाठा; 28 अनि तिनको अन्नबलि तेलसँग मिसिएको मैदा; हरेक बहरका निम्ति दस भागको तीन भाग, त्यस एउटा भेड़ाका निम्ति दस भागको दुई भाग, 29 र सात पाठाहरूमा हरेक पाठोका निम्ति दसौं भाग; 30 साथै तिमीहरूका निम्ति प्रायश्चित गर्नलाई बाख्राको एउटा पाठो। 31 तिमीहरूले नित्य होमबलि र त्यसको अन्नबलि, अनि तिनका अर्घबलिहरूबाहेक यी बलिहरू चढ़ाउनू; ती तिमीहरूको निम्ति निष्खोट होऊन्!”