सलोफादका छोरीहरू
27
तब यूसुफका छोरा मनस्सेका घरानाहरूबाट मनस्सेका छोरा, माकीरका छोरा, गिलादका छोरा, हेपेरका छोरा, सलोफादका छोरीहरू नजिक आए। अनि तिनका छोरीहरूका नाम यी हुन्: महला, नोआ, होग्ला, मिल्का र तिर्सा। 2 अनि तिनीहरूले मोशा र पूजाहारी एलाजारको सामु, शासकहरू र सम्पूर्ण समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर तिनीहरूले यसो भने: 3 “हाम्रा बुबा उजाड़स्थानमा मर्नुभयो; तर उहाँ कोरहको दलमा लागेर परमप्रभुको विरोधमा भेला भएकाहरूको दलका हुनुहुन्‍नथियो; तर उहाँ आफ्नै पापमा मर्नुभयो; अनि उहाँका छोराहरू थिएनन्। 4 उहाँको कुनै छोरा नभएकैमा हाम्रा बुबाको नाम किन उहाँको घरानाको बीचबाट मेटिनू? हामीलाई हाम्रा बुबाका दाजुभाइहरूको बीचमा अधिकारको भाग दिनुहोस्!” 5 तब मोशाले तिनीहरूको मामिला परमप्रभुको सामु ल्याए। 6 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 7 “सलोफादका छोरीहरूले ठीक भनिरहेछन्; तिमीले निश्‍चय नै तिनीहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूको बीचमा अधिकारको भागरूपी पैतृक सम्पत्ति दिनू; अनि तिमीले तिनीहरूका बुबाको पैतृक सम्पत्ति तिनीहरूकहाँ सारिदिनू! 8 अनि तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू: कोही मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको पैतृक सम्पत्ति तिमीहरूले त्यसकी छोरीकहाँ सारिदिनू! 9 अनि त्यसकी कुनै छोरी छैन भने त्यसको पैतृक सम्पत्ति तिमीहरूले त्यसका दाजुभाइहरूलाई दिनू! 10 अनि त्यसका दाजुभाइहरू छैनन् भने त्यसको पैतृक सम्पत्ति तिमीहरूले त्यसका बुबाका दाजुभाइहरूलाई दिनू! 11 अनि त्यसका बुबाका दाजुभाइहरू छैनन् भने त्यसको पैतृक सम्पत्ति तिमीहरूले त्यसको घरानाको नजिकको नातेदारलाई दिनू; अनि उसले यसलाई आफ्नो अधिकारमा लेओस्; अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यो इस्राएलीहरूका निम्ति न्यायको विधि ठहरिओस्!”
मोशाको सट्टामा यहोशूको नियुक्ति
12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “यस अबारीम पहाड़माथि चढ़, र त्यस देशलाई हेर, जुन देश मैले इस्राएलीहरूलाई दिएको छु। 13 अनि तिमीले यसलाई देखेपछि जसरी तिम्रा दाजु हारून मिल्न गए, त्यसरी नै तिमी पनि आफ्ना मानिसहरूकहाँ मिल्न जानेछौ। 14 किनभने जीनको उजाड़स्थानमा, समुदायको झगड़ामा तिमीहरूले मेरो आज्ञाको विरोधमा विद्रोह गर्‍यौ, र पानीनिर, तिनीहरूका आँखाको सामु मलाई पवित्र पारेनौ; योचाहिँ जीनको उजाड़स्थानको कादेशमा भएको मरीबाको पानी हो।” 15 तब मोशाले परमप्रभुलाई यसो भने: 16 “परमप्रभु, सबै मानिसहरूका आत्माहरूका परमेश्‍वरले समुदायमाथि एउटा मानिसलाई नियुक्त गरून्, 17 जो तिनीहरूको अघि-अघि बाहिर जाओस् र तिनीहरूको अघि-अघि भित्र आओस्; अनि उसले तिनीहरूलाई डोर्‍याएर बाहिर लैजाओस् र तिनीहरूलाई भित्र ल्याओस्; र परमप्रभुको समुदाय गोठालाविनाको भेड़ाहरूजस्तो नहोस्!” 18 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “नूनका छोरा यहोशूलाई लेऊ – एउटा मानिस, जसभित्र आत्मा हुनुहुन्छ – र उसमाथि आफ्नो हात राख! 19 अनि उसलाई पूजाहारी एलाजारको सामु र सम्पूर्ण समुदायको सामु खड़ा गर; र तिनीहरूकै आँखाको अघि उसलाई जिम्मेवारी देऊ! 20 अनि तिम्रो महिमाको केही अंश उसमाथि राखिदेऊ, फलस्वरूप इस्राएलीहरूको सम्पूर्ण समुदायले आज्ञापालन गरोस्! 21 अनि पूजाहारी एलाजारको सामु ऊ उभिओस्, जसले उसका निम्ति ऊरीमको निर्णयमुताबिक परमप्रभुको सामु सल्‍लाह मागोस्; उसैको वचनमुताबिक तिनीहरू बाहिर जाऊन् र उसैको वचनमुताबिक तिनीहरू भित्र आऊन् – ऊ र ऊसित सबै इस्राएलीहरू; अँ, सम्पूर्ण समुदाय नै।” 22 तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनले गरे। अनि उनले यहोशूलाई लिएर तिनलाई पूजाहारी एलाजार र सम्पूर्ण समुदायको सामु खड़ा गरे। 23 अनि उनले तिनीमाथि आफ्ना हातहरू राखे, र परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनलाई जिम्मेवारी दिए