मोआबीहरूसित इस्राएलीहरूको व्यभिचार
25
अनि इस्राएलीहरू शित्तीममा बसेका थिए; अनि मानिसहरूले मोआबका छोरीहरूसँग वेश्याकर्म गर्न थाले। 2 अनि स्त्रीहरूले मानिसहरूलाई तिनीहरूका देवताहरूका बलिदानहरूमा बोलाए; अनि मानिसहरूले खाए, र तिनीहरूका देवताहरूलाई दण्‍डवत्‌ गरे 3 यसरी इस्राएल बाल-पोरसँग सम्‍बन्‍ध गाँसियो; अनि परमप्रभुको क्रोध इस्राएलको विरोधमा दन्क्यो। 4 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “मानिसहरूका सबै अगुवाहरूलाई पक्र, र तिनीहरूलाई परमप्रभुका निम्ति घाममा झुन्ड्याइदेऊ, र इस्राएलबाट परमप्रभुको बल्दो क्रोध हटोस्!” 5 तब मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने: “तिमीहरूमध्ये हरेकले आफ्नै मानिसहरूलाई मार, जसले बाल-पोरसँग सम्‍बन्‍ध गाँसेका छन्!”
6 अनि हेर, एक इस्राएली मानिस आए, अनि मोशाकै आँखाको सामु र भेट हुने पालको ढोकामा रोइरहेका इस्राएलीहरूको सम्पूर्ण समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई भित्र आफ्ना दाजुभाइहरूकहाँ ल्याए। 7 अनि जब पूजाहारी हारूनका छोरा एलाजारका छोरा पीनहासले त्यो देखे, तब तिनी समुदायको बीचबाट उठे, अनि तिनले आफ्नो हातमा एउटा भाला लिए; 8 र ती इस्राएली मानिसको पछि-पछि त्‍यस पालभित्र गए, अनि ती दुवैलाई अर्थात् ती इस्राएली मानिसलाई र त्यस स्त्रीलाई त्यसको पेटमा वारपार हुने गरी घोचे। तब त्यो महामारी इस्राएलीहरूबाट बन्‍द भयो 9 अनि त्यस महामारीद्वारा मरेकाहरूको संख्या चौबीस हजार थियो।
10 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 11 “पूजाहारी हारूनको छोरा एलाजारको छोरा पीनहासले इस्राएलीहरूको बीचमा मेरो जलनले जलिउठेर तिनीहरूबाट मेरो क्रोध हटाइदियो; यसैले मेरो जलनमा मैले इस्राएलीहरूलाई भस्म पारिनँ। 12 यसैकारण भन: हेर, म उसलाई मेरो शान्तिको वाचा दिनेछु; 13 अनि योचाहिँ उसका निम्ति र ऊपछि उसको वंशका निम्ति सदा रहिरहने पूजाहारी-पदको वाचा हुनेछ; किनकि ऊ आफ्ना परमेश्‍वरका निम्ति जलिउठ्यो, र इस्राएलीहरूका निम्ति प्रायश्‍चित गर्‍यो।”
14 अनि ती मारिएका इस्राएली मानिस, अँ, त्यस मिद्यानी स्त्रीसँग मारिएका मानिसको नाम सालूका छोरा जिम्री थियो, जो शिमोनीहरूको पुर्खाको घरानाका शासक थिए। 15 अनि त्यो मारिएकी मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई; सूरचाहिँ मिद्यानमा एउटा पुर्खाको घरानाका मानिसहरूका अगुवा थिए।
16 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 17 “मिद्यानीहरूलाई सताऊ, र तिनीहरूलाई मार! 18 किनकि तिनीहरूले आफ्ना धूर्तताहरूद्वारा तिमीहरूलाई सताउँछन्, जसद्वारा तिनीहरूले तिमीहरूलाई पोरको विषयमा र मिद्यानी शासककी छोरी, तिनीहरूकी बहिनी कोज्बीको विषयमा छल गरेर फसाएका छन्; त्योचाहिँ पोरको विषयले गर्दा चलेको त्यस महामारीको दिन मारिएकी थिई।”