बालामको तेस्रो आशीर्वाद
24
अनि इस्राएललाई आशिष् दिनु नै परमप्रभुलाई असल लाग्छ भन्ने कुरा थाहा पाएर बालाम अरू बेलाझैं जोखना बिचार्न गएनन्; तर तिनले आफ्नो चेहरा उजाड़स्थानतिर फिराए। 2 अनि बालामले आफ्ना आँखाहरू उठाए, र इस्राएललाई आ-आफ्ना कुलअनुसार आफ्ना पालहरूमा बसिरहेको देखे; अनि परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो। 3 तब तिनले आफ्नो आहान टिपेर भने:“बओरको छोरो बालामको वाणी, अँ, जसका आँखा खुला छन्, उही मानिसको वाणी –
4 जसले परमेश्वरका वचनहरू सुन्छ, जसले सर्वशक्तिमान्को दर्शन देख्छ, जो भुइँमा लड़्छ, तर उसका आँखाहरू खुला रहन्छन्, उसैको वाणी:
5 हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा वासस्थानहरू कति मनोहर छन्!
6 ती बेंसीहरूजस्ता, नदीको किनारका बगैंचाहरूजस्ता, परमप्रभुले रोप्नुभएको अगरुका रूखहरूझैं, पानीको छेउका देवदारहरूझैं फैलिएर गएका छन्;
7 उसले आफ्ना बाल्टीहरूबाटक पानी खन्याउनेछ; उसको बीउ धेरै पानीहरूमा पर्नेछ; उसका राजा अगागभन्दा उच्च हुनेछन्; अनि उसको राज्य उच्च पारिनेछ।
8 परमेश्वरले उसलाई मिस्रबाट निकालेर ल्याउनुभएको छ; उसको बल जङ्गली साँढ़ेको जस्तो छ; उसले आफ्ना विरोधी जातिहरूलाई निल्नेछ, तिनीहरूका हड्डीहरू चपाएर टुक्रा-टुक्रा पार्नेछ र आफ्ना काँड़हरूले तिनीहरूलाई छेंड़्नेछ।
9 ऊ दबेर बसेको छ, ऊ सिंहझैं, अँ, सिंहनीझैं लेटेको छ; कसले उसलाई उठाउला? तिमीलाई आशिष् दिनेहरू आशिषित हुन्छन्; तिमीलाई श्राप दिनेहरू श्रापित हुन्छन्।”
10 तब बालामप्रति बालाकको रिस दन्क्यो, र उनले आफ्नो हातमा हात ठटाए; अनि बालाकले बालामलाई भने: “मेरा शत्रुहरूलाई श्राप दिन मैले तपाईंलाई बोलाएँ; तर हेर्नुहोस्, यी तीनपल्ट तपाईंले तिनीहरूलाई आशिषै-आशिष् दिनुभयो। 11 यसकारण अब तपाईं आफ्नो ठाउँतिर भाग्नुहोस्; मैले त तपाईंलाई ठूलो सम्मान दिने विचार गरेको थिएँ; तर हेर्नुहोस्, परमप्रभुले तपाईंलाई त्यस सम्मानबाट वञ्चित राख्नुभयो।” 12 तब बालामले बालाकलाई भने: “के मैले तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई यसो भनिनँ र? 13 ‘बालाकले मलाई चाँदी र सुनले भरिएको आफ्नो घर नै दिनुभए तापनि आफ्नै मनले कुनै असल वा खराब गर्नलाई म परमप्रभुको वचन नाघेर जान सक्दिनँ; परमप्रभु जे बोल्नुहुन्छ, त्यही म बोल्नेछु।’ 14 अनि अब हेर्नुहोस्, म आफ्नो जातिकहाँ जान्छु; आउनुहोस्, पछिल्ला दिनहरूमा यस जातिले तपाईंको जातिलाई के-के गर्नेछ, सो म तपाईंलाई बताउनेछु।”
बालामको चौथो आशीर्वाद
15 अनि तिनले आफ्नो आहान टिपेर भने:
“बओरको छोरो बालामको वाणी, अँ, जसका आँखाहरू खुला छन्, उही मानिसको वाणी –
16 जसले परमेश्वरका वचनहरू सुन्छ, र परमप्रधानको ज्ञान जान्दछ, जसले सर्वशक्तिमान्को दर्शन देख्छ, जो भुइँमा लड़्छ, तर उसका आँखाहरू खुला रहन्छन्, उसैको वाणी –
17 म उनलाई देख्नेछु, तर अहिले होइन; म उनलाई नियालेर हेर्नेछु, तर नजिक होइन; याकूबबाट एउटा तारा निस्कनेछन्, र इस्राएलबाट एउटा राजदण्ड उठ्नेछन्; अनि उनले मोआबका कुनाहरू हिर्काउनेछन् र शेतकाग सब सन्तानहरूलाई नष्ट गर्नेछन्।
18 अनि एदोम अधिकारको भाग बन्नेछ; अँ, सेईर पनि त्यसका शत्रुहरूको अधिकारको भाग बन्नेछ; तर इस्राएलले चाहिँ वीरता देखाउनेछ।
19 याकूबबाट एकजना निस्केर अधिकार जमाउनेछन् र शहरबाट बचेकाहरूलाई नष्ट पार्नेछन्।”
20 अनि अमालेकलाई हेरेर तिनले आफ्नो आहान टिपेर भने:
“अमालेक जातिहरूमा श्रेष्ठ थियो, तर त्यसको अन्त सदाको विनाश हो।”
21 अनि तिनले केनीहरूलाई हेरेर आफ्नो आहान टिपेर भने:
“तेरो वासस्थान बलियो छ; अनि तैंले आफ्नो गुँड़ चट्टानमा बसालेको छस्;
22 तरै पनि अश्शूरले तँलाई कैदमा नलगेसम्म केनी उजाड़ हुनेछ।”
23 तब तिनले आफ्नो आहान टिपेर भने:
“हाय! जब परमेश्वरले यसो गर्नुहुन्छ, तब को बाँच्ला?
24 अनि कित्तीमको किनारबाट जहाजहरू आउनेछन्; अनि तिनीहरूले अश्शूरलाई कष्ट दिनेछन्, र एबेरलाई कष्ट दिनेछन्; अनि तिनीहरू पनि सदाका निम्ति नष्ट हुनेछन्।”
25 अनि बालाम उठे, र हिँड़े, अनि आफ्नो ठाउँमा फर्के; अनि बालाक पनि आफ्नो बाटो लागे।