बालाक र बालाम
22
तब इस्राएलीहरू अघि बढ़े, र मोआबका मैदानहरूमा, यर्दनवारि, येरिहोको सामुन्‍ने पाल टाँगेर बसे।
2 अनि सिप्पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के-के गरेको थियो, सो सबै देखे। 3 अनि यस जातिसँग मोआब साह्रै डरायो; किनकि तिनीहरू धेरै थिए; इस्राएलीहरूको कारणले मोआब त्राहि-त्राहि भयो। 4 अनि मोआबले मिद्यानका बूढ़ा प्रधानहरूलाई भन्यो: “जसरी गोरुले मैदानको घाँस चाटचुट पार्छ, त्यसरी नै यस दलले हाम्रो वरिपरि भएको सबलाई चाटचुट पार्नेछ।” अनि त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। 5 अनि तिनले आफ्ना जाति-भाइहरू बसेका देशको नदीको छेउमा अवस्थित भएको पतोरमा बओरका छोरा बालामकहाँ यसो भनेर दूतहरू पठाए: “हेर्नुहोस्, मिस्रबाट एउटा जाति निस्केर आएको छ; हेर्नुहोस्, तिनीहरूले पृथ्वी ढाकेका छन्; अनि तिनीहरू मेरै सामुन्‍ने बसिरहेका छन्। 6 यसैले म तपाईंलाई विन्‍ती गर्छु, अहिले नै आउनुहोस्, यस जातिलाई मेरा निम्ति श्राप दिनुहोस्; किनकि तिनीहरू मभन्दा शक्तिशाली छन्; हुन सक्छ, म जित्‍नेछु; हामी तिनीहरूलाई मारेर म तिनीहरूलाई यस देशबाट धपाउन सक्छु हुँला; किनकि म जान्दछु, जसलाई तपाईं आशिष्‌ दिनुहुन्छ, त्यो आशिषित हुन्छ, र जसलाई तपाईं सराप्‍नुहुन्छ, त्यो श्रापित हुन्छ।”
7 तब मोआबका बूढ़ा प्रधानहरू र मिद्यानका बूढ़ा प्रधानहरू जोखना हेर्ने दक्षिणाहरू आफ्‍नो हातमा लिएर हिँड़े; अनि बालामकहाँ आएर तिनीहरूले तिनलाई बालाकका कुराहरू बताए। 8 अनि तिनले तिनीहरूलाई भने: “तपाईंहरू आज रात यहीं बस्‍नुहोस्; अनि परमप्रभुले मलाई जेजस्तो भन्‍नुहुन्‍छ, त्यही वचन म फेरि तपाईंहरूकहाँ ल्याउनेछु।” अनि मोआबका शासकहरू बालामसँगै वास बसे। 9 तब परमेश्‍वर बालामकहाँ आएर भन्‍नुभयो: “तिमीसँग भएका यी मानिसहरू को हुन्?” 10 अनि बालामले परमेश्‍वरलाई भने: “सिप्पोरका छोरा बालाक, मोआबका राजाले यसो भनी मकहाँ पठाएका छन्: 11 ‘हेर्नुहोस्, मिस्रबाट एउटा जाति निस्की आएको छ, जसले पृथ्वी ढाकेको छ; अहिले नै आउनुहोस्, मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; हुन सक्छ, म तिनीहरूलाई जितेर तिनीहरूलाई धपाउन सकुँला।’ ” 12 तब परमेश्‍वरले बालामलाई भन्‍नुभयो: “तिमी तिनीहरूसँग नजानू; तिमीले यस जातिलाई श्राप नदिनू; किनकि त्यो आशिषित भएको छ।” 13 अनि बिहान उठेर बालामले बालाकका शासकहरूलाई भने: “आफ्नो देशमा फर्कनुहोस्; किनकि परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभयो।” 14 अनि मोआबका शासकहरू उठे र बालाककहाँ आएर भने: “बालामले हामीसँग आउन इन्कार गरे।”
15 तब बालाकले फेरि अझै बेसी र तीभन्दा बढ़ी आदरयोग्य शासकहरू पठाए। 16 अनि बालामकहाँ आएर तिनीहरूले तिनलाई भने: “सिप्पोरका छोरा बालाक यसो भन्‍नुहुन्‍छ: म तपाईंलाई विन्‍ती गर्छु, मकहाँ आउनुदेखि तपाईंलाई कुनै कुराले नरोकोस्! 17 किनकि म तपाईंलाई अति ठूलो सम्मान दिनेछु; अनि तपाईंले मलाई जे भन्‍नुहुन्‍छ, सोही म गर्नेछु; यसकारण कृपया आउनुहोस्, र मेरा निम्ति यस जातिलाई श्राप दिनुहोस्!” 18 तब बालामले जवाफ दिएर बालाकका कर्मचारीहरूलाई भने: “बालाकले चाँदी र सुनले भरिएको आफ्नो घर नै मलाई दिनुभए तापनि कुनै सानो वा ठूलो काम गर्नलाई म परमप्रभु मेरा परमेश्‍वरको वचन नाघेर जान सक्दिनँ। 19 यसैले अब कृपया तपाईंहरू पनि आज रात यहाँ बस्‍नुहोस्; र परमप्रभुले मलाई अझ बढ़ी केही भन्‍नुहुन्‍छ कि, सो म बुझ्नेछु।” 20 अनि राति परमेश्‍वर बालामकहाँ आउनुभयो, र उहाँले तिनलाई भन्‍नुभयो: “यदि ती मानिसहरू तिमीलाई बोलाउन आउँछन् भने उठ, तिनीहरूसँग जाऊ; तर जुन कुरा म तिमीलाई भन्छु, त्यो मात्र तिमीले गर्नू!”
बालामको गधा
21 तब बिहानै बालाम उठे, र आफ्नो गधामा काठी कसेर मोआबका शासकहरूसँग गए। 22 अनि तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो। अनि परमप्रभुका दूत तिनको विरोधी भएर बाटैमा खड़ा हुनुभयो; अनि तिनी आफ्नो गधामा चढ़ेर गइरहेका थिए; अनि तिनको साथमा दुईजना नोकरहरू थिए। 23 तब त्यस गधाले परमप्रभुको दूतलाई बाटैमा उभिरहनुभएको र उहाँको हातमा एउटा नाङ्गो तरवार खिचिइरहेको देख्यो; अनि त्यो गधा बाटोबाट हटेर बारीमा पस्यो; तब त्यस गधालाई बाटोमा फर्काएर ल्याउनलाई बालामले त्यसलाई हिर्काए। 24 त्यसपछि परमप्रभुका दूत दाखबारीहरूको साँघुरो बाटोमा उभिनुभयो, जसको एकापट्टि पनि गारो र अर्कापट्टि पनि गारो थियो। 25 अनि जब त्यस गधाले परमप्रभुका दूतलाई देख्यो, तब त्यो गारोमा ढेस्सियो, र बालामको खुट्टा गारोमा चेप्टाइदियो; अनि तिनले त्यसलाई हिर्काए। 26 तब परमप्रभुका दूत अघि जानुभयो, र एउटा साँघुरो ठाउँमा उभिनुभयो, जहाँ दाहिनेतिर वा देब्रेतिर फर्कने बाटो नै थिएन। 27 अनि जब त्यस गधाले परमप्रभुका दूतलाई देख्यो, तब त्यो बालाममुनि थचक्‍क बस्यो; अनि बालामको रिस दन्क्यो, र तिनले त्यस गधालाई लौराले पिटे। 28 तब परमप्रभुले त्यस गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो: “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई यी तीनपल्‍ट हिर्काउनुभयो?” 29 अनि बालामले त्यस गधालाई भने: “किनकि तैंले मप्रति कुव्यवहार गरिस्; मेरो हातमा तरवार भएको भए म तँलाई अहिले नै मार्नेथिएँ।” 30 अनि त्यस गधाले बालामलाई भन्यो: “के म तपाईंको त्यही गधा होइनँ र, जसमाथि तपाईं बितेको समयमा, आजको दिनसम्म चढ़्दै आउनुभएको छ? के मैले कहिल्यै तपाईंसित यस्तो गरेको थिएँ?” अनि तिनले भने: “अहँ।”
31 तब परमप्रभुले बालामका आँखाहरू खोलिदिनुभयो, र तिनले परमप्रभुका दूतलाई आफ्नो हातमा आफ्नो नाङ्गो, खिचिएको तरवार लिएर बाटोमा उभिरहनुभएको देखे; अनि तिनले आफ्नो शिर झुकाएर भुइँतिर दण्‍डवत्‌ गरे। 32 तब परमप्रभुका दूतले तिनलाई भन्‍नुभयो: “तिमीले किन आफ्नो गधालाई यी तीनपल्‍ट हिर्कायौ? हेर, म तिम्रो सामना गर्न आएको छु; किनकि तिम्रो चाल मेरो सामु टेढ़ा छ। 33 अनि त्यस गधाले मलाई देख्यो, र मेरो सामुबाट यी तीनपल्‍ट हट्यो; त्यो मबाट नहटेको भए निश्‍चय मैले अहिले नै तिमीलाई मारिसक्नेथिएँ, र त्यसलाई जीवित छोड़िदिनेथिएँ।” 34 तब बालामले परमप्रभुका दूतलाई भने: “मैले पाप गरेको छु; किनकि तपाईं बाटोमा मेरो विरोधमा उभिनुभएको छ भनी मैले जानिनँ; यसकारण अब यो कुरा तपाईंको दृष्‍टिमा खराब छ भने म फर्कनेछु।” 35 तब परमप्रभुका दूतले बालामलाई भन्‍नुभयो: “ती मानिसहरूसँग जाऊ; अनि जुन कुरा म तिमीलाई भन्छु, त्यो कुरा मात्र तिमीले बोल्नू!” अनि बालाम बालाकका शासकहरूसँग गए।
36 अनि बालाम आएका छन् भनी जब बालाकले सुने, तब उनी तिनलाई भेट्न मोआबको त्यस शहरमा निस्केर गए, जोचाहिँ अर्नोनको सिमानामा छ, जोचाहिँ त्यस सिमानाको पल्‍लो छेउमा पर्छ। 37 अनि बालाकले बालामलाई भने: “के बड़ो उत्सुकतासाथ मैले तपाईंलाई बोलाउन तपाईंकहाँ पठाइनँ र? तपाईं किन मकहाँ आउनुभएन? के साँच्‍चै म तपाईंलाई सम्मान दिने लायकको छैनँ र?” 38 तब बालामले बालाकलाई भने: “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु; के अहिले मसँग केही कुरा बोल्ने कुनै सामर्थ्य नै छ र? जुन वचन परमप्रभुले मेरो मुखमा हाल्नुहुन्छ, त्यही म बोल्नेछु।” 39 अनि बालाम बालाकसँग गए, र तिनीहरू किर्यत-हुसोतमा पुगे। 40 बालाकले बहरहरू र भेड़ाबाख्राहरू बलि गरे, अनि बालामलाई र तिनीसँग भएका शासकहरूलाई केही पठाइदिए। 41 अनि भोलिपल्‍ट यस्तो भयो: बालाकले बालामलाई साथमा लिएर तिनलाई बाल-देवताका उच्‍च स्थानहरूमा लगे; र त्यहाँबाट तिनले यस जातिको अन्‍तिम भाग देखे।