कनानी राजा अरादमाथि विजय
21
अनि जब दक्षिणमा रहने कनानी राजा अरादले इस्राएल अथारीमको बाटो भएर आउँदैछ भन्‍ने सुने, तब तिनले इस्राएलसँग लड़ाइँ गरे र तिनीहरूमा कतिलाई कैदी बनाएर लगे। 2 अनि इस्राएलले परमप्रभुलाई भाकल गरेर भन्यो: “तपाईंले साँच्‍ची नै यस जातिलाई मेरो हातमा सुम्पिदिनुभयो भने म तिनीहरूका शहरहरू बिलकुलै नाश पार्नेछु।” 3 अनि परमप्रभुले इस्राएलको सोर सुन्‍नुभयो र कनानीहरूलाई उसको हातमा सुम्पनुभयो; अनि उनीहरूले तिनीहरूलाई र तिनीहरूका शहरहरू बिलकुलै नाश पारे; अनि उसले त्यस ठाउँको नाम होर्मा राख्यो।
पित्तलको सर्प
4 अनि उनीहरू एदोमको देशलाई फेरो मारेर जान भनी होर पहाड़बाट लाल समुद्रको बाटो भएर हिँड़े; अनि बाटोले गर्दा मानिसहरूको मन साह्रै अधीर भयो। 5 तब ती मानिसहरू परमेश्‍वर र मोशाको विरोधमा बोले: “यस उजाड़स्थानमा मर्नका निम्ति तपाईंहरूले किन हामीलाई मिस्रबाट निकालेर ल्याउनुभयो? किनकि यहाँ न रोटी छ, न पानी; अनि हाम्रो प्राणले यस तुच्छ भोजनलाई घृणा गर्छ।” 6 तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाउनुभयो, र तिनले ती मानिसहरूलाई डसे; अनि इस्राएलका धेरै मानिसहरू मरे। 7 यसकारण ती मानिसहरू मोशाकहाँ आए, र भने: “हामीले पाप गरेका छौं; किनकि हामी परमप्रभु र तपाईंको विरोधमा बोल्यौं; परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्, र उहाँले हामीबाट यी सर्पहरू हटाइदिऊन्!” अनि मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। 8 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “तिमीले आफ्ना निम्ति एउटा विषालु सर्प बनाऊ र त्यसलाई एउटा खाँबामाथि झुन्ड्याऊ; अनि यस्तो हुनेछ: सर्पले डसेको हरेक मानिसले जब त्यसलाई हेर्छ, तब ऊ बाँच्‍नेछ।” 9 तब मोशाले एउटा पित्तलको सर्प बनाएर त्यसलाई एउटा खाँबामाथि झुन्ड्याए; अनि यस्तो भयो: सर्पले कुनै मानिसलाई डसेको थियो भने जब त्यसले पित्तलको सर्पलाई हेर्‍यो, तब त्यो बाँच्यो।
10 अनि इस्राएलीहरूले यात्रा गरे, र ओबोतमा पाल टाँगेर बसे 11 अनि तिनीहरू ओबोतबाट हिँड़े, र पूर्वतिर, मोआबको अघिल्तिरको उजाड़स्थानमा, ईये-अबारीममा पाल टाँगेर बसे। 12 त्यहाँबाट तिनीहरू हिँड़े, र जेरेदको बेंसीमा पाल टाँगेर बसे। 13 त्यहाँबाट तिनीहरू हिँड़े, र अर्नोनको पारिपट्टि पाल टाँगेर बसे; त्यो नदीचाहिँ एमोरीहरूको सिमानाबाट निस्केर आएको उजाड़स्थानमा छ; किनकि अर्नोनचाहिँ मोआबको सिमाना हो, जो मोआब र एमोरीहरूको बीचमा छ। 14 यसैकारण ‘परमप्रभुका युद्धहरू’ नामक पुस्तकमा यस्तो भनिएको छ: ‘सूपामा भएको वाहेब र अर्नोनका खोलाहरूको विषयमा, 15 अनि खोलाहरूको बहाउ ‘आर’ को वासस्थानतिर फैलिएर जान्छ, र मोआबको सिमानामा आड़ लिएर बग्छ।’ 16 अनि त्यहाँबाट तिनीहरू बेरमा गए; योचाहिँ त्यो इनार हो, जसको विषयमा परमप्रभुले मोशालाई भन्‍नुभयो: “यी मानिसहरूलाई भेला गर, र म तिनीहरूलाई पानी दिनेछु।” 17 तब इस्राएलले यो गीत गायो: “हे इनार, फुटेर निस्की! यसका निम्ति गीत गाओ! 18 यो त्यो इनार हो, जसलाई शासकहरूले खने, जसलाई जनताका भारदारहरूले व्यवस्था दिनेको वचनमुताबिक आफ्ना लौराहरूले खने।” अनि त्यस उजाड़स्थानबाट तिनीहरू मत्तानाहमा गए, 19 अनि मत्तानाहबाट नहलिएलमा, र नहलिएलबाट बामोतमा गए; 20 अनि घाटीमा अवस्थित भएको बामोतबाट, जो मोआबको मुलुकमा छ, तिनीहरू पिस्गाको टाकुरामा गए, जो यशिमोनतिर फर्केको थियो
एमोरी राजा सीहोन र बाशानका राजा ओगमाथि विजय
21 तब इस्राएलले यसो भन्दै एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठायो: 22 “मलाई तपाईंको देशबाट भएर जान दिनुहोस्! हामी खेतबारीहरूभित्र वा दाखबारीहरूभित्र पस्‍नेछैनौं, न ता इनारको पानी पिउनेछौं; जबसम्म हामी तपाईंको सिमानाबाट पार हुँदैनौं, तबसम्म हामी राजमार्गै-मार्ग भएर जानेछौं।” 23 तर सीहोनले इस्राएललाई आफ्नो सिमानाबाट भएर जान दिएनन्; अनि सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला पारे, र तिनी त्यस उजाड़स्थानमा इस्राएलको विरोधमा निस्केर आए, अनि यहसमा आएर इस्राएलसँग लड़ाइँ गरे। 24 अनि इस्राएलले तिनलाई तरवारको धारले मार्‍यो र तिनको देश, अर्नोनदेखि यब्बोसम्‍म अर्थात् अम्मोनीहरूकहाँसम्म, कब्जा गर्‍यो; किनकि अम्मोनीहरूको सिमाना बलियो थियो। 25 अनि इस्राएलले यी सबै शहरहरू लियो, अनि इस्राएल एमोरीहरूका सबै शहरहरूमा अर्थात् हेश्बोनमा र त्यसका सबै गाउँहरूमा बस्‍न लाग्यो; 26 किनकि हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको शहर थियो; अनि तिनले मोआबको भूतपूर्व राजासँग लड़ाइँ गरेर अर्नोनसम्म उसको जम्मै देश उसको हातबाट लिएका थिए; 27 यसकारण आहान भन्‍नेहरू यसो भन्छन्: ‘हेश्बोनमा आओ! सीहोनको शहर बनाइयोस् र स्थापित गरियोस्! 28 किनकि हेश्बोनबाट एउटा आगो निस्क्यो, र सीहोनको शहरबाट एउटा ज्वाला निस्क्यो; त्यसले मोआबको आर र अर्नोनका उच्‍च स्थानहरूका प्रभुहरूलाई भस्म पारिदियो। 29 हे मोआब, तँलाई हाय! हे कमोश देवताको प्रजाहो, तँ नष्‍ट भइस्! त्यसले आफ्ना उम्केका छोराहरूलाई र आफ्ना छोरीहरूलाई कैदी तुल्याई एमोरीहरूका राजा सीहोनलाई दिएको छ। 30 हामीले तिनीहरूलाई हान्यौं, हेश्बोन दीबोनसम्मै नष्‍ट भएको छ; अनि हामीले मेदेबासम्म फैलिएको नोफाह पनि उजाड़ पारेका छौं।’
31 यस प्रकारले इस्राएल एमोरीहरूको देशमा बस्‍न लाग्यो। 32 अनि मोशाले याजेरको जासुसी गर्नलाई मानिसहरू पठाए; अनि तिनीहरूले त्यसका गाउँहरू कब्जा गरे, र त्यहाँ भएका एमोरीहरूलाई निकालिदिए। 33 अनि तिनीहरू फर्के, र बाशानको बाटो भएर उकालो लागे; अनि बाशानका राजा ओग, तिनी र तिनका सबै मानिसहरू, एद्रेईमा लड़ाइँ गर्न उनीहरूको विरोधमा निस्केर आए। 34 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “त्यससँग नडराऊ; किनकि मैले त्यसलाई, त्यसका सबै मानिसहरूलाई र त्यसको देश तिम्रो हातमा सुम्पेको छु; अनि तिमीले हेश्बोनमा बस्‍ने एमोरीहरूको राजा सीहोनसित जस्तो गरेका थियौ, त्यससँग पनि त्यस्तै गर!” 35 यसकारण तिनका निम्ति एकैजना मानिस पनि जिउँदो नरहुन्‍जेल उनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसहरूलाई मारे; अनि उनीहरूले तिनको देश कब्जा गरे।