शुद्धिकरणको विधि
19
तब परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 2 “परमप्रभुले यसो भन्दै आज्ञा गर्नुभएको व्यवस्थाको विधि यही हो: इस्राएलीहरूलाई भन, र तिनीहरूले तिमीकहाँ एउटा निष्खोट रातो कोरली ल्याऊन्, जसमाथि कुनै जुवा नै राखिएको छैन। 3 अनि तिमीहरूले त्यो पूजाहारी एलाजारलाई दिनू, अनि उसले त्यसलाई छाउनीबाहिर ल्याओस्, र कसैले त्यसलाई उसकै आँखाको सामु मारोस्! 4 अनि पूजाहारी एलाजारले आफ्नो औंलाले त्यसको रगतबाट केही लेओस्, र त्यसको रगतबाट केही भेट हुने पालको ठीक अघिल्तिर सात पल्ट छर्कोस्! 5 अनि उसकै आँखाको सामु कसैले त्यो कोरली जलाओस्; त्यसको छाला, त्यसको मासु र त्यसको रगत यसले त्यसको गोबरसँगै जलाओस्! 6 अनि पूजाहारीले देवदारको काठ, हिसप र सिन्दुरे रङ्गको लुगा लेओस्, र यी चीजहरू कोरली जलिरहेको आगोभित्र फालिदेओस्! 7 तब पूजाहारीले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीमा नुहाओस्; अनि त्यसपछि ऊ छाउनीभित्र आओस्; अनि त्यो पूजाहारी साँझसम्म अशुद्ध रहोस्! 8 अनि त्यसलाई जलाउनेले आफ्ना लुगाहरू पानीमा धोओस् र आफ्नो शरीर पानीमा नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहोस्! 9 अनि कुनै शुद्ध मानिसले कोरलीको खरानी बटुलोस् र त्यसलाई छाउनीबाहिर कुनै शुद्ध ठाउँमा राखोस्; अनि इस्राएलीहरूको समुदायका निम्ति त्यो अशुद्धता अलग पार्ने पानीका निम्ति राखियोस्; यो पापबलि हो। 10 अनि त्यो कोरलीको खरानी बटुल्नेले आफ्ना लुगाहरू धोओस्, र साँझसम्म अशुद्ध रहोस्; अनि योचाहिँ इस्राएलीहरूका निम्ति र तिनीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूका निम्ति सदा रहिरहने विधि हुनेछ।11 जसले कुनै मानिसको लास छुन्छ, त्यो सात दिनसम्म अशुद्ध रहोस्! 12 तेस्रो दिनमा त्यसले त्यस पानीसितक आफूलाई शुद्ध पारोस्, र सातौं दिनमा त्यो शुद्ध हुनेछ; तर यदि त्यसले तेस्रो दिनमा आफूलाई शुद्ध पारेन भने सातौं दिनमा त्यो शुद्ध हुनेछैन। 13 हरेक जसले कुनै मरेको मानिसको लास छुन्छ र आफूलाई शुद्ध पार्दैन, त्यसले परमप्रभुको निवासस्थानलाई अशुद्ध पार्छ; अनि त्यो व्यक्ति इस्राएलबाट नामेट गरियोस्; किनभने अशुद्धता अलग पार्ने पानी त्यसमाथि नछर्किएको हुनाले त्यो अशुद्ध रहनेछ; त्यसको अशुद्धता अझै त्यसमाथि छ।
14 अनि जब कुनै मानिस पालभित्र मर्छ, तब व्यवस्था यही हो: त्यस पालभित्र आउने सबै र त्यस पालभित्र भएकाहरू सबै सात दिनसम्म अशुद्ध हुनेछन्; 15 अनि हरेक खुला भाँड़ा, जसमाथि ढकना बाँधिएको छैन, त्यो अशुद्ध हुन्छ। 16 अनि हरेक जसले खुला मैदानमा तरवारले मारिएको मानिसलाई, वा लासलाई, वा मानिसको हड्डी वा चिहान छुन्छ, त्यो सात दिनसम्म अशुद्ध हुनेछ। 17 अनि त्यस अशुद्ध मानिसका निम्ति तिनीहरूले त्यस पापबलिको रूपमा जलाइसकेको कोरलीको खरानीबाट केही लिऊन्, अनि कसैले एउटा भाँड़ामा त्यसमाथि बहिरहेको पानी हालोस्! 18 अनि कुनै शुद्ध मानिसले हिसप लिएर त्यो त्यस पानीभित्र चोपोस्, र त्यस पालमाथि, ती सबै भाँड़ाकुँड़ामाथि, त्यहाँ भएका मानिसहरूमाथि, साथै त्यस मानिसमाथि छर्कोस्, जसले कुनै हड्डी, वा मारिएकोलाई, वा लासलाई वा चिहान छोएको छ। 19 अनि तेस्रो दिनमा र सातौं दिनमा त्यस शुद्ध मानिसले त्यस अशुद्ध व्यक्तिमाथि छर्कोस्; अनि सातौं दिनमा त्यसले आफैलाई शुद्ध पारोस्, आफ्ना लुगाहरू धोओस् र आफूलाई पानीमा नुहाओस्; अनि साँझमा त्यो शुद्ध हुनेछ। 20 तर जो मानिस अशुद्ध हुन्छ र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्ति समुदायको बीचबाट नामेट गरियोस्; किनकि त्यसले परमप्रभुको पवित्रस्थानलाई अशुद्ध पारेको छ; त्यो अशुद्धता अलग पार्ने पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध छ। 21 अनि तिनीहरूका निम्ति यो सदा रहिरहने विधि हो: जसले त्यो अशुद्धता अलग पार्ने पानी छर्किन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्; अनि जसले त्यो अशुद्धता अलग पार्ने पानी छुन्छ, त्यो साँझसम्म अशुद्ध रहोस्! 22 अनि अशुद्ध मानिसले जे छुन्छ, त्यो अशुद्ध हुन्छ; अनि जुन व्यक्तिले त्यसलाई छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।”