कोरह, दातान र अबिरामको विद्रोह
16
अब यिसहारका छोरा, कहातको नाति, लेवीको पनाति कोरहले, एलिआबका छोरा दातान र अबिरामले, अनि पेलेतका छोरा ओनले, जो रूबेनका सन्तान थिए, मानिसहरू लिए। 2 अनि तिनीहरू इस्राएलीहरूमध्ये केही मानिसहरूलाई अर्थात् समुदायका दुई सय पचास शासकहरूलाई साथमा लिएर, जो समुदायमा चुनिएकाक र नाम चलेका मानिसहरू थिए, मोशाको सामु खड़ा भए; 3 अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए, र उनीहरूलाई भने: “तपाईंहरू अति नै गर्नुहुन्छख, जब कि सम्पूर्ण समुदाय, तिनीहरू सबै पवित्र छन्, अनि परमप्रभु तिनीहरूको बीचमा हुनुहुन्छ; तब किन तपाईंहरू आफूलाई परमप्रभुको समुदायभन्दा माथि उचाल्नुहुन्छ?”4 अनि जब मोशाले यो कुरा सुने, तब उनी भुइँसम्म घोप्टो परे; 5 अनि उनले कोरह र त्यसको सारा दललाई यसो भने: “भोलि बिहान परमप्रभुले को उहाँको हो, र को पवित्र छ, सो देखाउनुहुनेछ; र उसलाई उहाँले आफ्नो नजिक आउने तुल्याउनुहुनेछ; अनि जसलाई उहाँले चुन्नुहुन्छ, उसैलाई उहाँले आफ्नो नजिक आउने तुल्याउनुहुनेछ। 6 हे कोरह, र त्यसको सारा दलहो, यो गर: आफ्ना निम्ति धूपौराहरू लेओ! 7 भोलि बिहान परमप्रभुको सामु तिनमा आगो हाल, र तिनमा धूप हाल! अनि यस्तो हुनेछ: जुन मानिसलाई परमप्रभुले चुन्नुहुन्छ, उही पवित्र ठहरिनेछ। हे लेवीका सन्तानहो, तिमीहरू अति नै गर्छौख!” 8 अनि मोशाले कोरहलाई भने: “हे लेवीका सन्तानहो, म तिमीहरूलाई विन्ती गर्दछु, सुन! 9 परमप्रभुको निवासस्थानको सेवाको काम गर्न र समुदायको सामु उभिएर तिनीहरूको सेवा गर्न भनेर इस्राएलका परमेश्वरले तिमीहरूलाई आफ्नो नजिक ल्याउन तिमीहरूलाई नै इस्राएलको समुदायबाट अलग गर्नुभयो; के यो कुरा तिमीहरूलाई सानो लाग्छ? 10 अनि उहाँले तिमीलाई र तिम्रो साथमा लेवीका सन्तान तिम्रा सबै दाजुभाइहरूलाई पनि आफ्नो नजिकमा ल्याउनुभएको छ; अनि के तिमीहरू पूजाहारी-पद पनि खोज्दैछौ? 11 त्यसैका निम्ति तिमी र तिम्रो सारा दल परमप्रभुको विरोधमा भेला भएका छौ; अनि हारूनचाहिँ को हुन्, र तिमीहरू उनको विरोधमा गनगन गर्छौ?”
12 अनि मोशाले एलिआबका छोरा दातान र अबिरामलाई बोलाउन पठाए; तर तिनीहरूले भने: “हामी आउँदैनौं। 13 हामीलाई यस उजाड़स्थानमा मार्न भनी तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट निकालेर ल्याउनुभयो; के यो सानो कुरा हो? र के तपाईंले आफूलाई बिलकुलै हामीमाथि शासक पनि तुल्याउनुहुन्छ? 14 अँ, तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएकै छैन, न ता हामीलाई खेतबारी र दाखबारीहरू अधिकारको भागको रूपमा दिनुभएको छ; के तपाईं यी मानिसहरूका आँखाहरू फुटाउनग चाहनुहुन्छ? हामी आउँदैनौं।”
15 तब मोशा अति क्रोधित भए, र परमप्रभुलाई भने: “तिनीहरूको भेटीतिर ध्यान नदिनुहोस्! तिनीहरूबाट मैले एउटा गधाधरि लिएको छैनँ, न ता तिनीहरूमध्ये कसैलाई हानि पुर्याएको छु।” 16 अनि मोशाले कोरहलाई भने: “भोलि तिमी र तिम्रो सारा दल परमप्रभुको सामु हाजिर हुनू; तिमी, तिनीहरू र हारून! 17 अनि तिमीहरू हरेकले आफ्नो धूपौरो लिनू, र तिनमा धूप हाल्नू, अनि हरेकले आ-आफ्नो धूपौरो परमप्रभुको सामु ल्याउनू – दुई सय पचास धूपौरा; तिमीले पनि, र हारूनले, हरेकले आफ्नो धूपौरो ल्याउनू!” 18 तब तिनीहरू हरेकले आ-आफ्नो धूपौरो लिए, र तिनमा आगो हाले, र तिनमा धूप हाले; त्यसपछि तिनीहरू मोशा र हारूनसँग भेट हुने पालको ढोकामा उभिए। 19 अनि कोरहले सम्पूर्ण समुदायलाई उनीहरूको विरोधमा भेट हुने पालको ढोकामा भेला पारे; तब परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्यो।
20 अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 21 “तिमीहरू यस समुदायबाट अलग होओ, र म तिनीहरूलाई क्षणभरमा भस्म पार्नेछु।” 22 अनि उनीहरू भुइँसम्म घोप्टो परे, र भने: “हे परमेश्वर, हे सबै मानिसहरूकाघ आत्माहरूका परमेश्वर, के एक मानिसले पाप गरेकोमा तपाईं सारा समुदायप्रति क्रोधित हुनुहुन्छ?” 23 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 24 “यस समुदायलाई यसो भन: तिमीहरू कोरह, दातान र अबिरामको पालको छेउछाउबाट पर हट!”
25 तब मोशा उठेर दातान र अबिरामकहाँ गए; अनि इस्राएलका बूढ़ा प्रधानहरू उनको पछि लागे। 26 अनि उनले समुदायलाई यसो भने: “म तिमीहरूलाई विन्ती गर्छु, यी दुष्ट मानिसहरूका पालहरूबाट हटेर जाओ, र तिनीहरूको कुनै पनि थोक नछोओ; नत्र तिनीहरूका सबै पापहरूमा तिमीहरू भस्म हुनेछौ।” 27 तब तिनीहरू कोरह, दातान र अबिरामको पालका छेउछाउबाट पर हटे; अनि दातान र अबिराम बाहिर आए, र आफ्ना पालहरूको ढोकामा उभिए, अनि तिनीहरूका स्वास्नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका बालबच्चाहरू पनि। 28 अनि मोशाले भने: “यसैबाट तिमीहरूले जान्नेछौ, परमप्रभुले मलाई यी सबै कामहरू गर्न पठाउनुभएको हो; किनभने मैले आफ्नो मनबाट केही गरेको छैनँ। 29 यदि अरू सबै मानिसहरूको मृत्युअनुसार यी मानिसहरूको मृत्यु भयो भने, वा अरू सबै मानिसहरूमाथि आइपर्ने दण्ड यिनीहरूमाथि आइपर्यो भने, परमप्रभुले मलाई पठाउनुभएको होइन। 30 तर यदि परमप्रभुले एउटा नौलो कुरा गर्नुभयो, र पृथ्वीले आफ्नो मुख खोलेर यिनीहरूका सबै थोकहरूसहित यिनीहरूलाई निल्यो भने, अनि जिउँदै ती अधोलोकमा पुगे भने यी मानिसहरूले परमप्रभुलाई तुच्छ ठानेका थिए भनी तिमीहरूले जान्नेछौ।”
31 अनि यस्तो भयो: जब उनले यी सबै कुराहरू भनिसिद्ध्याए, तब तिनीहरूमुनि भएको जमिन फाट्यो; 32 अनि पृथ्वीले आफ्नो मुख खोल्यो, अनि तिनीहरूलाई र तिनीहरूका घरानाहरूङ, साथै कोरहको पक्षका सबै मानिसहरूलाई र तिनीहरूका सबै मालतालहरू निलिदियो। 33 तिनीहरू र तिनीहरूका सबै थोकहरू जिउँदै अधोलोकमा पुगे, अनि पृथ्वी तिनीहरूमाथि बन्द भयो; अनि तिनीहरू समुदायको बीचबाट नष्ट भए। 34 अनि तिनीहरूको वरिपरिका सबै इस्राएलीहरू तिनीहरूको चिच्च्याहट सुनेर भागे; किनकि तिनीहरू भन्थे: “कहीं धरतीले हामीलाई पनि निल्ला कि!”
35 तब परमप्रभुबाट आगो निस्क्यो, र ती धूप चढ़ाउने दुई सय पचास मानिसहरूलाई भस्म पार्यो। 36 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 37 “पूजाहारी हारूनको छोरा एलाजारलाई भन, र उसले आगो जलेको ठाउँबाट धूपौराहरू निकालोस्; अनि तिमीले त्यो आगो पर-पर छरिदेऊ! किनकि ती धूपौराहरू पवित्र छन्। 38 आफ्नै प्राणको विरोधमा यी पाप गर्नेहरूका धूपौराहरूबाट तिनीहरूले वेदी मोहोर्नका निम्ति चौड़ा पाताहरू बनाऊन्; किनकि तिनीहरूले ती परमप्रभुको सामु चढ़ाए; यसैले ती पवित्र छन्; अनि ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह ठहर्नेछन्।” 39 तब पूजाहारी एलाजारले ती पित्तलका धूपौराहरू लिए, जुन धूपौराहरूलाई ती भस्म पारिएकाहरूले चढ़ाएका थिए; अनि तिनीहरूले वेदी मोहोर्नका निम्ति तिनलाई चौड़ा पाताहरू बनाए; 40 इस्राएलीहरूका निम्ति सम्झना गराउने चिन्ह हुनलाई, कि कुनै अन्य मानिस, जो हारूनको वंशको होइन, परमप्रभुको सामु धूप चढ़ाउन नजिक नआओस्, र त्यो कोरह र त्यसको दलजस्तो नहोस्; जसरी परमप्रभुले मोशाद्वारा तिनलाईच भन्नुभएको थियो।
यी विद्रोहीहरूको पक्ष लिनेहरूमाथि महामारी आइपर्यो
41 तर भोलिपल्ट इस्राएलीहरूको सम्पूर्ण समुदायले मोशा र हारूनको विरोधमा यसो भन्दै गनगन गर्यो: “तपाईंहरूले नै परमप्रभुका जनहरूलाई मार्नुभएको हो!” 42 अनि यस्तो भयो: जब समुदाय मोशा र हारूनको विरोधमा भेला भयो, तब तिनीहरूले भेट हुने पालतिर हेरे; अनि हेर, बादलले त्यसलाई ढाक्यो, र परमप्रभुको महिमा देखा पर्यो। 43 अनि मोशा र हारून भेट हुने पालको सामु आए। 44 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 45 “तिमीहरू यस समुदायको बीचबाट निस्केर जाओ, र म तिनीहरूलाई क्षणभरमा भस्म पार्नेछु।” अनि उनीहरू भुइँसम्म घोप्टो परे। 46 अनि मोशाले हारूनलाई भने: “त्यो धूपौरो लेऊ, वेदीबाट त्यसमा आगो हाल, धूप हाल र समुदायकहाँ छिटो जाऊ, अनि तिनीहरूका निम्ति प्रायश्चित गर; किनकि परमप्रभुको सामुबाट क्रोध निस्केको छ; महामारी शुरु भएको छ।” 47 अनि मोशाले आज्ञा गरेअनुसार हारूनले त्यो धूपौरो लिए, तिनी र समुदायको बीचमा दौड़ेर गए; अनि हेर, मानिसहरूको बीचमा महामारी शुरु भइसकेको थियो; अनि तिनले धूप हाले र मानिसहरूका निम्ति प्रायश्चित गरे। 48 अनि तिनी मरेकाहरू र जिउँदाहरूको बीचमा उभिए; अनि त्यो महामारीछ थामियो। 49 अनि कोरहको विषयमा मरेकाहरूबाहेक त्यस महामारीलेज मर्नेहरूको संख्या चौध हजार सात सय थियो। 50 अनि हारून भेट हुने पालको ढोकामा मोशाकहाँ फर्के; अनि त्यो महामारीछ थामियो।