कनान देशमा जाने सम्बन्धमा मानिसहरूको विद्रोह
14
तब सम्पूर्ण समुदायले आफ्नो सोर उचाली-उचाली चिच्च्यायो; अनि मानिसहरू त्यस रातभरि रोए। 2 अनि सबै इस्राएलीहरूले मोशा र हारूनको विरोधमा गनगन गरे; अनि सारा समुदायले उनीहरूलाई भन्यो: “हामी मिस्र देशमै मरेका भए अथवा यस उजाड़स्थानमै मरेका भए कति असल हुन्थ्यो! 3 अनि परमप्रभुले हामीलाई यस देशमा किन तरवारद्वारा मारिनका निम्तिक ल्याउँदै हुनुहुन्छ? र हाम्रा पत्नीहरू र हाम्रा बालबच्चाहरू लुटको माल बन्नेछन्; के मिस्रमै फर्किनु हाम्रा निम्ति असल होइन र?” 4 अनि तिनीहरूले एक-अर्कालाई भने: “आओ, हामी एक अगुवा बनाऔं, र मिस्रमा फर्कौं!” 5 तब मोशा र हारून इस्राएलीहरूको समुदायको सारा सभाको सामु भुइँसम्म घोप्टो परे। 6 अनि नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले, जो त्यस देशको जासुसी गर्नेहरूमध्येका थिए, आफ्ना लुगा च्याते; 7 अनि उनीहरूले इस्राएलीहरूको सारा समुदायलाई भने: “जुन देशमा हामी त्यसको जासुसी गर्न घुमफिर गर्यौं, त्यो अत्यन्तै उत्तम देश हो; 8 यदि परमप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ भने उहाँले हामीलाई त्यस देशमा पुर्याउनुहुने नै छ, र त्यो हामीलाई दिनुहुने नै छ – त्यो देश, जहाँ दूध र मह बग्छन्। 9 केवल परमप्रभुको विरोधमा तिमीहरूले विद्रोह नगर, न ता त्यस देशका मानिसहरूसँग डराओ; किनकि तिनीहरू हाम्रा निम्ति रोटी हुन्; तिनीहरूको सुरक्षाख तिनीहरूबाट हटिसकेको छ; अनि परमप्रभु हाम्रा साथमा हुनुहुन्छ; तिनीहरूसँग नडराओ!” 10 तर सारा समुदायले ‘यिनीहरूलाई ढुङ्गाले हानौं’ भनी भन्यो; तब सबै इस्राएलीहरूको सामु भेट हुने पालमा परमप्रभुको महिमा देखा पर्यो। 11 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “कहिलेसम्म यी मानिसहरूले मलाई तुच्छ ठान्छन्? अनि मैले यिनीहरूको बीचमा गरेका सबै चिन्हहरू हुँदा-हुँदै पनि कहिलेसम्म यिनीहरूले मलाई विश्वास गर्दैनन्? 12 म यिनीहरूलाई महामारीले मार्नेछुग र यिनीहरूबाट यिनीहरूको अधिकारको भाग खोस्नेछु; अनि तिमीबाट म यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”मानिसहरूका निम्ति मोशाको अन्तर्विन्ती
13 तब मोशाले परमप्रभुलाई भने: “तब मिस्रीहरूले यो कुरा सुन्नेछन्! किनकि तिनीहरूको बीचबाट तपाईंले यी मानिसहरूलाई आफ्नो सामर्थ्यद्वारा निकालेर ल्याउनुभयो। 14 अनि तिनीहरूले यो कुरा यस देशका बासिन्दाहरूलाई भन्नेछन्; किनकि तपाईं परमप्रभु यी मानिसहरूको बीचमा हुनुहुन्छ; तपाईं परमप्रभु आमुन्ने-सामुन्ने देखा पर्नुहुन्छ; अनि तपाईंको बादल उनीहरूमाथि खड़ा रहन्छ, अनि तपाईं दिउँसो बादलको खाँबामा र राति आगोको खाँबामा भई उनीहरूको अघि-अघि जानुहुन्छ भनी तिनीहरूले सुनेका छन्। 15 अब यदि तपाईंले यी मानिसहरूलाई एउटा मानिसलाई झैं गरी मार्नुभयो भने तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भन्नेछन्: 16 ‘परमप्रभुले ती मानिसहरूलाई त्यस देशभित्र ल्याइपुर्याउन सक्नुभएन, जसको विषयमा उहाँले तिनीहरूसित शपथ खानुभएको थियो; यसैकारण उहाँले तिनीहरूलाई उजाड़स्थानमा मार्नुभयो।’ 17 अनि अब म तपाईंलाई विन्ती गर्दछु, तपाईंले यसो भन्नुभएअनुसार मेरा प्रभुको सामर्थ्य महान् होस्: 18 ‘परमप्रभु रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ; अधर्म र अपराध क्षमा गर्नुहुने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहऱ्याउनुहुनेघ, पुर्खाहरूले गरेको अधर्मका निम्ति तेस्रो र चौथो पुस्तासम्म तिनीहरूका सन्तानहरूलाई दण्ड दिनुहुने हुनुहुन्छ।’ 19 म तपाईंलाई विन्ती गर्दछु, तपाईंको करुणाको महान्ताअनुसार र जसरी तपाईंले मिस्र देशदेखि अहिलेसम्म यी मानिसहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्!”
20 तब परमप्रभुले भन्नुभयो: “तिम्रो वचनअनुसार मैले क्षमा गरेको छु; 21 तर मेरो जीवनको शपथ! निश्चय सारा पृथ्वी परमप्रभुको महिमाले भरपूर हुनेछ। 22 किनभने यी सबै मानिसहरू, जसले मेरो महिमा र मेरा यी चिन्हहरू देखेका छन्, जुन चिन्हहरू मैले मिस्रमा र उजाड़स्थानमा गरें, रपनि यी दसपल्ट मलाई जाँचेका छन्, र मेरो कुरा मानेकाङ छैनन्, 23 तिनीहरूले निश्चय त्यो देश देख्न पाउनेछैनन् नै, जसको विषयमा मैले तिनीहरूका पितापुर्खाहरूसित शपथ खाएको थिएँ; अँ, मलाई तुच्छ ठान्नेहरूमध्ये एउटाले पनि त्यो देख्न पाउनेछैन। 24 तर मेरो दास कालेबचाहिँ – उससँग अर्कै आत्मा छ, र उसले मलाई पूरा रीतिले पछ्याएको छ; यसैले जुन देशमा ऊ गएको थियो, त्यस देशमा म उसलाई पुर्याउनेछु; अनि उसको वंश त्यस देशको अधिकारी हुनेछ। 25 तर अमालेकीहरू र कनानीहरू बेंसीमा बस्छन्; भोलि तिमीहरू फर्क, र लाल समुद्रको बाटो भएर उजाड़स्थानभित्र पस!”
विद्रोहीहरूमाथि परमप्रभुको दण्ड
26 अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 27 “मेरो विरोधमा गनगन गर्ने यस दुष्ट समुदायलाई म कहिलेसम्म सहूँ? मैले इस्राएलीहरूका गनगनहरू सुनेको छु, जुन गनगनहरू तिनीहरूले मेरो विरोधमा गरेका छन्। 28 तिनीहरूलाई भन: परमप्रभु भन्नुहुन्छ, मेरो जीवनको शपथ! निश्चय जसरी तिमीहरूले मेरा कानमा भनेका छौ, त्यसरी नै म तिमीहरूका निम्ति गर्नेछु; 29 अनि तिमीहरूको सम्पूर्ण संख्याअनुसार तिमीहरूमध्ये गन्ती गरिएकाहरू सबै अर्थात् बीस वर्ष र त्यसभन्दा माथिकाहरू, जसले मेरो विरोधमा गनगन गरेका छौ, अँ, तिमीहरूका लासहरू यही उजाड़स्थानमा पड़िरहनेछन्; 30 यपून्नेको छोरा कालेब र नूनको छोरा यहोशूबाहेक तिमीहरूले निश्चय त्यस देशमा जान पाउनेछैनौ नै, जसको विषयमा ‘म तिमीहरूलाई त्यसमा बसाल्नेछु’ भनी मैले शपथ खाएको थिएँ। 31 तर तिमीहरूका बालबच्चाहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, जसको विषयमा ‘यिनीहरू लुटको माल बन्नेछन्’ भनी तिमीहरूले भनेका थियौ; अँ, तिनीहरूले नै त्यस देशलाई पहिचान गर्नेछन्, जुन देशलाई तिमीहरूले तुच्छ ठानेका छौ। 32 तर तिमीहरूचाहिँ – तिमीहरूका लासहरू यही उजाड़स्थानमा पड़िरहनेछन्। 33 अनि तिमीहरूका छोराछोरीहरूचाहिँ चालीस वर्षसम्म, जबसम्म तिमीहरूका लासहरू उजाड़स्थानमा नष्ट हुँदैनन्, तबसम्म उजाड़स्थानमा घुमिहिँड़्नेछन्च, र तिमीहरूका वेश्याकर्महरूको फल भोग्नेछन्। 34 तिमीहरूले त्यस देशको जासुसी गरेका दिनहरूअनुसार अर्थात् चालीस दिन, दिनको एक वर्षको हिसाबले चालीस वर्ष तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नेछौ, र मेरो विरोधचाहिँ के हो, सो तिमीहरूले जान्नेछौ। 35 म परमप्रभुले भनेको छु, मेरो विरोधमा भेला भएको यस सम्पूर्ण दुष्ट समुदायलाई निश्चय म यो कुरा गर्नेछु: यही उजाड़स्थानमा तिनीहरू नाश हुनेछन्, र यहीं तिनीहरू मर्नेछन्।”
36 अनि ती मानिसहरू, जसलाई मोशाले त्यस देशको जासुसी गर्न पठाए, जो फर्के र त्यस देशको विषयमा खराब खबर फैलाएर सारा समुदायलाई मोशाकोछ विरोधमा गनगन गर्न लगाए, 37 अँ, तिनै मानिसहरू, जसले त्यस देशको विषयमा खराब खबर फैलाए, परमप्रभुकै सामु महामारीले मरे। 38 तर नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबचाहिँ, जो त्यस देशको जासुसी गर्नेहरूमध्येकै थिए, बाँचिरहे।
39 अनि मोशाले यी कुराहरूज सबै इस्राएलीहरूलाई भने; तब मानिसहरूले ठूलो विलाप गरे। 40 अनि तिनीहरू एकाबिहानै उठे, र यसो भन्दै पहाड़को टाकुरामा चढ़े: “हेर, हामी यहाँ छौं, र माथि परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा जानेछौं; किनकि हामीले पाप गरेका छौं।” 41 तर मोशाले भने: “अब किन तिमीहरू परमप्रभुको आज्ञा भङ्ग गर्दछौ? यो सफल हुनेछैन। 42 माथि नजाओ; किनकि परमप्रभु तिमीहरूको बीचमा हुनुहुन्न; नत्र तिमीहरूले आफ्ना शत्रुहरूको सामु हार्नेछौ; 43 किनकि तिमीहरूको सामु अमालेकीहरू र कनानीहरू छन्, अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ; किनकि तिमीहरू परमप्रभुको पछि लाग्नदेखि फर्केका छौ; यसैकारण परमप्रभु तिमीहरूको साथमा हुनुहुनेछैन।” 44 तर तिनीहरू जिद्दी गरेर त्यस पहाड़को टाकुरामा चढ़े; तर परमप्रभुको वाचाको सन्दुक र मोशाचाहिँ छाउनीको बीचबाट हटेनन्। 45 तब त्यस पहाड़मा बस्ने अमालेकीहरू र कनानीहरू आइलागे, तिनीहरूलाई हिर्काए र होर्मासम्म तिनीहरूलाई मार्दै आए।