बाह्र जासुसीहरू कनान देशमा पठाइए
13
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “तिमीले आफ्ना निम्ति मानिसहरू पठाऊ, र तिनीहरूले कनान देशको जासुसी गरून्, जुन देशचाहिँ म इस्राएलीहरूलाई दिन्छु; तिमीहरूले तिनीहरूका पुर्खाहरूको हरेक कुलबाट एक-एकजना मानिस पठाओ, जोचाहिँ तिनीहरूको बीचमा शासक भएको हुनुपर्छ!” 3 अनि परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको उजाड़स्थानबाट उनीहरूलाई पठाए; ती सबै मानिसहरू इस्राएलीहरूका अगुवाहरू थिए।4 उनीहरूका नाम यी हुन्: रूबेन कुलबाट जक्कूरका छोरा शम्मू; 5 शिमोन कुलबाट होरीका छोरा शाफात; 6 यहूदा कुलबाट यपून्नेका छोरा कालेब; 7 इस्साकार कुलबाट यूसुफका छोरा यिगाल; 8 एप्रैम कुलबाट नूनका छोरा होशे; 9 बिन्यामिन कुलबाट राफूका छोरा पल्ती; 10 जबूलून कुलबाट सोदीका छोरा गद्दिएल; 11 यूसुफ कुलबाट अर्थात् मनस्से कुलबाट सूसीका छोरा गद्दी; 12 दान कुलबाट गमल्लीका छोरा अम्मिएल; 13 आशेर कुलबाट मिकाएलका छोरा सतूर; 14 नप्ताली कुलबाट वोप्सीका छोरा नहबी; 15 गाद कुलबाट माकीका छोरा गऊएल। 16 यी ती मानिसहरूका नाम हुन्, जसलाई मोशाले त्यस देशको जासुसी गर्न पठाए। अनि नूनका छोरा होशेको नाम मोशाले यहोशू राखे।
17 अनि मोशाले उनीहरूलाई कनान देशको जासुसी गर्न पठाए र उनीहरूलाई भने: “तिमीहरू यताबाट दक्षिणी देशभित्र पस, र माथि त्यस पहाड़ी मुलुकमा जाओ! 18 अनि त्यस देशलाई हेर – त्यो कस्तो रहेछ, र त्यसमा बस्ने मानिसहरू कस्ता रहेछन्, ती बलिया छन् कि कमजोर, ती धेरै छन् कि थोरै; 19 अनि तिनीहरू बस्ने देश कस्तो रहेछ – त्यो असल रहेछ कि खराब; अनि तिनीहरू बस्ने शहरहरू के-के रहेछन्, पालहरूमाक बस्दा रहेछन् कि किल्लाहरूमा; 20 अनि त्यो देश कस्तो रहेछ – त्यो मलिलो कि रूखो, त्यसमा वन-जङ्गल छ कि छैन। अनि तिमीहरूले हिम्मत बाँध, र त्यस देशको फलबाट केही लिएर आओ!” अनि त्यो समयचाहिँ अङ्गुरको पहिलो पाकेको फलको समय थियो।
21 तब उनीहरू माथि गए, र जीनको उजाड़स्थानदेखि हमातको मुखसम्म अर्थात् रेहोबसम्म त्यस देशको जासुसी गरे। 22 अनि उनीहरू दक्षिणी देशभित्र पसेर हेब्रोनमा आइपुगे, जहाँ अनाकका सन्तान अहिमान, शेशै र तल्मै थिए। (अनि हेब्रोनचाहिँ मिस्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण भएको थियो।) 23 त्यसपछि उनीहरू एश्कोलको बेंसीमा आइपुगे, र त्यहाँ उनीहरूले एक झुप्पा अङ्गुरसितै एउटा हाँगा काटे, र एउटा घोचामा हाली दुईजनाले बोके; अनि उनीहरूले दारिम र नेभाराका केही फल ल्याए। 24 इस्राएलीहरूले त्यस ठाउँमा काटेको एक झुप्पा अङ्गुरको कारणले त्यस ठाउँको नाम एश्कोलखको बेंसी राखियो। 25 अनि चालीस दिनपछि त्यस देशको जासुसी गरेर उनीहरू फर्के।
26 अनि उनीहरू हिँड़ेर पारानको उजाड़स्थानमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूको सम्पूर्ण समुदायकहाँ आए; अनि यिनीहरूले उनीहरूकहाँ र सम्पूर्ण समुदायकहाँ खबर फर्काएर ल्याए, र तिनीहरूलाई त्यस देशको फल देखाए। 27 अनि यिनीहरूले उनलाई बताउँदै भने: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी पुग्यौं, अनि साँच्चै त्यो दूध र मह बग्ने देश रहेछ; अनि त्यसको फल यही हो। 28 तर त्यस देशमा बस्ने मानिसहरूचाहिँ शक्तिशाली छन्, अनि शहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला छन्; साथै हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। 29 दक्षिणी देशमा अमालेकीहरू बस्छन्; अनि हित्ती, यबूसी र एमोरीहरू पहाड़ी मुलुकमा बस्छन्; अनि कनानीहरूचाहिँ समुद्रको नजिकमा र यर्दनको किनारमा बस्छन्।” 30 अनि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने: “हामी तुरुन्त माथि गइहालौं, र यसलाई कब्जा गरौं; किनकि हामी यसलाई अवश्य जित्न सक्छौं।” 31 तर तिनीसँग माथि गएका मानिसहरूले भने: “हामी ती मानिसहरूको विरोधमा माथि जान सक्दैनौं; किनकि ती हामीभन्दा बलिया छन्।” 32 अनि यिनीहरूले यसो भन्दै आफूले जासुसी गरेको देशको खराब खबर इस्राएलीहरूमा फैलाए: “जुन देशमा हामी त्यसको जासुसी गर्न घुमफिर गर्यौं, त्यस देशले त आफ्नै बासिन्दाहरूलाई निल्दो रहेछ; अनि हामीले त्यसमा देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्। 33 अनि त्यहाँ हामीले नेफिलहरू अर्थात् अनाकका सन्तानहरूलाई देख्यौं, जो नेफिलहरूबाट आएका हुन्; अनि हामी आफ्नो दृष्टिमा फट्याङ्ग्राजस्ता थियौं, अनि तिनीहरूको दृष्टिमा पनि हामी त्यस्तै थियौं।”