मोशाको विरोधमा मरियम र हारून
12
अनि त्यस कुशी स्त्रीको कारणले, जसलाई मोशाले विवाह गरेका थिएक, मरियम र हारूनले मोशाको विरोधमा बोले; किनकि मोशाले कुशी स्त्रीलाई विवाह गरेका थिएक। 2 अनि तिनीहरूले भने: “के परमप्रभुले साँच्चै मोशाद्वारा मात्र बोल्नुभएको हो? के उहाँले हामीद्वारा पनि बोल्नुभएको होइन र?” अनि परमप्रभुले त्यो सुन्नुभयो। 3 (अनि ती मानिस मोशा पृथ्वीको सतहमाथि बस्ने सबै मानिसहरूभन्दा धेरै नम्र थिए।)4 तब परमप्रभु अचानक मोशा, हारून र मरियमसँग बोल्नुभयो: “तिमीहरू तीनजना भेट हुने पालमा आओ!” अनि ती तीनजना निस्केर आए। 5 तब परमप्रभु बादलको खाँबामा भईकन ओर्लनुभयो, र निवासस्थानको ढोकामा उभिनुभयो, अनि हारून र मरियमलाई बोलाउनुभयो; र ती दुवै अघि आए। 6 अनि उहाँले भन्नुभयो: “अब मेरा वचनहरू सुन; तिमीहरूको बीचमा कोही भविष्यवक्ता छ भने म परमप्रभुले दर्शनमा आफूलाई त्यसकहाँ प्रकट गर्छु र सपनामा त्योसँग बोल्छु। 7 तर मेरो सेवक मोशा त्यस्तो होइन, ऊ त मेरो सम्पूर्ण घरमा विश्वासयोग्य छ। 8 ऊसँग म आमुन्ने-सामुन्ने भई र प्रत्यक्ष रूपले बोल्नेछु, पहेलीहरूमा होइन; अनि परमप्रभुको स्वरूप उसले हेर्नेछ; तब किन तिमीहरू मेरो सेवक मोशाको विरोधमा बोल्न डराएनौ?”
9 तब परमप्रभुको रिस तिनीहरूको विरोधमा दन्क्यो; अनि उहाँ जानुभयो। 10 अनि निवासस्थानमाथिबाट बादल हटेर गयो; अनि हेर, मरियम कोरी भइन्, हिउँजस्तो सेती; तब हारूनले मरियमलाई हेरे; अनि हेर, तिनी कोरी भएकी थिइन्। 11 अनि हारूनले मोशालाई भने: “अहह मेरा प्रभु, म तपाईंलाई विन्ती गर्छु, हामीमाथि त्यो पाप नलगाउनुहोस्, जसद्वारा हामीले मूर्ख काम गरेका छौं र जसद्वारा हामीले पाप गरेका छौं। 12 तिनलाई त्यो मरेको बच्चाजस्तो हुन नदिनुहोस्, जसको मासु आफ्नी आमाको गर्भबाट निस्कँदैखेरि आधा कुहेको हुन्छ!” 13 तब मोशाले परमप्रभुलाई यसो भन्दै पुकारे: “हे परमेश्वर, म तपाईंलाई विन्ती गर्छु, तिनलाई निको पार्नुहोस्!” 14 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “उसका बुबाले उसको अनुहारमा थुकेको मात्र भए के ऊ सात दिनसम्म लज्जित हुनुपर्नेथिएन र? ऊ छाउनीबाहिर सात दिनसम्म थुनेर राखियोस्; अनि त्यसपछि ऊ भित्र ल्याइयोस्!” 15 अनि मरियम सात दिनसम्म छाउनीदेखि बाहिर थुनेर राखिइन्; अनि जबसम्म मरियम भित्र ल्याइनन्, तबसम्म मानिसहरूले यात्रा गरेनन्। 16 अनि त्यसपछि मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको उजाड़स्थानमा पाल टाँगेर बसे।