गनगनको फल: परमप्रभुको आगो
11
अनि यस्तो भयो: जब मानिसहरूले गनगन गरे, तब यो परमप्रभुका कानमा दुष्ट थियो; अनि परमप्रभुले यो सुन्नुभयो, र उहाँको क्रोध दन्क्यो; अनि तिनीहरूको बीचमा परमप्रभुको आगो सल्केर छाउनीको छेउमा बस्नेहरूलाईक भस्म पारिदियो। 2 तब मानिसहरूले मोशालाई पुकारे; अनि जब मोशाले परमप्रभुलाई प्रार्थना गरे, तब आगो निभ्यो। 3 अनि उनले त्यस ठाउँको नाम ‘तबेरा’ख राखे; किनकि परमप्रभुको आगो तिनीहरूको बीचमा सल्केको थियो।मिश्रित झुण्डले मासुको लालसा गर्यो
4 अनि तिनीहरूको बीचमा भएको मिश्रित झुण्डले अति लालसा गर्न थाल्यो; अनि इस्राएलीहरूले पनि फेरि रोएर भने: “कसले हामीलाई मासु खान देला? 5 हामीलाई माछाको सम्झना आउँछ, जुन माछा हामीले मिस्रमा सित्तैंमा खान्थ्यौं; साथै काँक्रा, खरबुजा, छ्यापीग, प्याज र लसुनकोघ पनि; 6 तर अब त हाम्रो प्राण सुकिसक्यो; हाम्रा आँखाहरूको सामु यो मन्नाबाहेक अरू केही पनि छैन।”
7 अनि मन्ना धनियाँको बीउजस्तो थियो, र त्यसको रङ्ग डेल्लियमङ रङ्गजस्तो थियो। 8 मानिसहरू यताउता गएर त्यो जम्मा गर्थे, र जाँतोहरूमा पिँध्थे वा ओखलीमा कुट्थे; अनि त्यसलाई तावामा पकाउँथे, र त्यसबाट फुरौलाहरू बनाउँथे; अनि त्यसको स्वादचाहिँ ताजा तेलको जस्तो थियो। 9 अनि जब राति छाउनीमाथि शीत पर्थ्यो, तब मन्ना पनि त्यसमाथि झर्थ्यो।
10 अनि मोशाले मानिसहरूलाई आ-आफ्ना परिवारहरूमा हरेक मानिसलाई आफ्नो पालको ढोकामा रोइरहेको सुने; अनि परमप्रभुको रिस ज्यादै दन्क्यो; मोशालाई पनि नराम्रो लाग्यो। 11 अनि मोशाले परमप्रभुलाई भने: “तपाईंले आफ्नो दासलाई किन कष्ट दिनुभएको? अनि किन मैले तपाईंको दृष्टिमा कृपा पाइनँ? र यी सबै मानिसहरूको भार तपाईंले ममाथि राख्नुहुन्छ। 12 के मैले नै यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ? के मैले नै यिनीहरूलाई जन्माएको हुँ, र तपाईं मलाई भन्नुहुन्छ: ‘सुसार गर्ने बुबाले दूधे बालकलाई बोकेझैं तिमीले तिनीहरूलाई आफ्नो काखमा बोकेर त्यस देशमा पुर्याऊ’, जसको विषयमा तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको थियो? 13 यी सबै मानिसहरूलाई दिनका निम्ति म कहाँबाट मासु ल्याऊँ; किनकि ‘खानका निम्ति हामीलाई मासु देऊ’ भन्दै तिनीहरू मेरो सामु रुन्छन्? 14 यी सबै मानिसहरूलाई म एकलै बोक्न सक्दिनँ; किनकि मेरा निम्ति यो बोकिनसक्ने गह्रौं छ। 15 अनि यदि तपाईंले मसित यस्तै व्यवहार गर्नुहुन्छ भने म तपाईंलाई विन्ती गर्छु, मलाई तत्कालै मारिहाल्नुहोस्, यदि मैले तपाईंको दृष्टिमा कृपा पाएको छु भने, र मैले आफ्नो दुर्दशा हेर्नु नपरोस्!”
16 तब परमप्रभुले मोशालाई भन्नुभयो: “इस्राएलका बूढ़ा प्रधानहरूबाट सत्तरी जनालाई मकहाँ भेला गर, जसलाई तिमी यी मानिसहरूका बूढ़ा प्रधानहरू र तिनीहरूका अधिकारीहरू हुन् भनी चिन्दछौ; अनि उनीहरूलाई भेट हुने पालमा ल्याऊ, र त्यहाँ उनीहरू तिमीसित उभिऊन्! 17 अनि म तल ओर्लनेछु, र त्यहाँ तिमीसँग कुरा गर्नेछु; अनि तिमीमाथि भएको आत्माबाट लिएर उनीहरूमाथि राखिदिनेछु; अनि उनीहरूले तिमीसित यी मानिसहरूको भार बोक्नेछन्, र तिमीले त्यो एकलै बोक्नुपर्नेछैन। 18 अनि मानिसहरूलाई भन: भोलिका निम्ति आफूलाई पवित्र पार, र तिमीहरूले मासु खानेछौ; किनकि ‘कसले हामीलाई मासु खान देला? बरु हामीलाई मिस्रमै राम्रो थियो’ भन्दै तिमीहरू परमप्रभुका कानमा रोएका छौ; यसकारण परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले खानेछौ। 19 तिमीहरूले एक दिन होइन, दुई दिन, पाँच दिन, दस दिन वा बीस दिन पनि होइन, 20 तर महिनाभरि तिमीहरूका नाकहरूबाट निस्कुन्जेल र तिमीहरूलाई घिन लागुन्जेल खानेछौ; किनकि तिमीहरूले आफ्ना बीचमा रहनुहुने परमप्रभुलाई तुच्छ ठानेका छौ, र ‘हामी मिस्रबाट किन निस्की आएछौं नि!’ भन्दै उहाँकै सामु रोएका छौ।” 21 अनि मोशाले भने: “यी मानिसहरू, जसको बीचमा म छु, छ लाख पैदल हिँड़्ने सैनिकहरू छन्; अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई मासु दिनेछु, र तिनीहरूले महिनाभरि खानेछन्।’ 22 तिनीहरूका निम्ति पुग्दो हुनलाई के भेड़ाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू तिनीहरूका निम्ति मारिऊन्? अथवा तिनीहरूका निम्ति पुग्दो हुनलाई के समुद्रका सबै माछाहरू तिनीहरूका निम्ति जम्मा पारिऊन्?” 23 तब परमप्रभुले मोशालाई भन्नुभयो: “के परमप्रभुको हात छोटो भएको छ र? मेरो वचन तिम्रा निम्ति पूरा हुन्छ कि हुँदैन, सो तिमीले अब देख्नेछौ।”
छानिएका सत्तरी बूढ़ा प्रधानमाथि परमप्रभुको आत्मा
24 अनि मोशाले निस्केर मानिसहरूलाई परमप्रभुका वचनहरू सुनाए; त्यसपछि उनले मानिसहरूका बूढ़ा प्रधानहरूबाट सत्तरी जनालाई भेला गरेर उनीहरूलाई निवासस्थानको वरिपरि उभ्याए। 25 अनि परमप्रभु बादलमा भएर तल ओर्लनुभयो, र उनीसित कुरा गर्नुभयो, अनि उनीमाथि भएको आत्माबाट लिएर ती सत्तरी बूढ़ा प्रधानहरूमाथि राख्नुभयो; अनि यस्तो भयो: जब आत्मा उनीहरूमाथि आएर बस्नुभयोच, तब उनीहरूले भविष्यवाणी गरे; तर फेरि गरेनन्। 26 तर ती मानिसहरूमध्ये दुईजनाचाहिँ छाउनीमा रहे; एउटाको नाम एल्दाद थियो र अर्काको नाम मेदाद; अनि आत्मा तिनीहरूमाथि आएर बस्नुभयोच; तिनीहरूचाहिँ नाम लेखिएकाहरूमध्येका थिए, तर तिनीहरू निस्केर निवासस्थानमा गएका थिएनन्; अनि तिनीहरूले छाउनीमै भविष्यवाणी गरे। 27 तब एउटा जवान दौड़ेर गयो, र मोशालाई बताएर भन्यो: “एल्दाद र मेदाद छाउनीमा भविष्यवाणी गर्दैछन्।” 28 अनि आफ्नो जवानी अवस्थादेखिकै मोशाका सेवक नूनका छोरा यहोशूले जवाफ दिएर भने: “हे मेरा स्वामी मोशा, तिनीहरूलाई रोक्नुहोस्!” 29 तब मोशाले तिनलाई भने: “के तिमी मेरो खातिर डाहा गर्छौ? परमप्रभुका सबै मानिसहरू भविष्यवक्ता भएका भए, र परमप्रभुले आफ्नो आत्मा तिनीहरूमाथि राखिदिनुभएको भए त कति असल हुनेथ्यो!!”
बट्टाई चराहरू
30 अनि मोशा छाउनीमा फर्के, उनी र इस्राएलका बूढ़ा प्रधानहरू। 31 अनि परमप्रभुबाट बतास निस्केर गयो, अनि समुद्रबाट बट्टाई चराहरू ल्यायो र छाउनीको चारैतिर, एकपट्टि एक दिनको बाटोजति र अर्कापट्टि एक दिनको बाटोजति, र भुइँमाथिछ दुई हातजति हुने गरी छाउनीमाथि खसालिदियो। 32 तब मानिसहरू उठेर त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि बट्टाई चराहरू बटुले; जसले थोरै बटुल्यो, त्यसले दस होमेरज बटुल्यो; अनि तिनीहरूले ती आफ्ना निम्ति छाउनीको चारैतिर जताततै फिँजाइदिए। 33 तर मासु तिनीहरूका दाँतहरूको बीचमै हुँदा, त्यसलाई चपाउनै नपाईकन परमप्रभुको क्रोध मानिसहरूको विरोधमा दन्क्यो; अनि परमप्रभुले ती मानिसहरूलाई अति ठूलो महामारीले हिर्काउनुभयो। 34 अनि उनले त्यस ठाउँको नाम ‘किब्रोत-हत्तावा’झ राखे; किनकि त्यहीं तिनीहरूले ती लालसा गर्ने मानिसहरूलाई गाड़े। 35 अनि मानिसहरूले किब्रोत-हत्तावाबाट हसेरोतसम्म यात्रा गरे, अनि हसेरोतमा बसे।