चाँदीका दुईवटा तुरहीहरू
10
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “तिमीले आफ्ना निम्ति चाँदीका दुईवटा तुरही बनाऊ; तिमीले तिनलाई पिटेर बनाउनू; र ती तिम्रा निम्ति समुदायलाई भेला गराउने र छाउनीहरूको यात्रा शुरु गर्नका निम्ति काममा आऊन्! 3 जब तिनीहरूले तिनलाई फुक्छन्, तब सारा समुदाय भेट हुने पालको ढोकामा तिमीकहाँ भेला होऊन्! 4 जब तिनीहरूले एउटालाई फुक्छन्, तब शासकहरू, अर्थात् इस्राएलका हजारौंका मुखियाहरू तिमीकहाँ भेला होऊन्! 5 जब तिमीहरूले खतराध्वनि बजाउँछौ, तब पूर्वपट्टि बसेका छाउनीहरू अघि बढ़ून्! 6 जब तिमीहरूले दोस्रोपल्‍ट खतराध्वनि बजाउँछौ, तब दक्षिणपट्टि बसेका छाउनीहरू अघि बढ़्‍न्; तिनीहरूको यात्रा शुरु गर्नका निम्ति तिनीहरूले खतराध्वनि बजाऊन्! 7 तर जब सभा भेला गराइनुपर्छ, तब तिमीहरूले तुरही फुक्नू, तर खतराध्वनि नबजाउनू! 8 अनि हारूनका छोराहरूले अर्थात् पूजाहारीहरूले तुरहीहरू फुकून्; अनि तिमीहरूका पुस्तौंपुस्तासम्म ती नै तिमीहरूको सदा रहिरहने विधि ठहरिऊन्! 9 अनि जब तिमीहरू आफ्नो देशमा तिमीहरूलाई थिचोमिचो गर्ने शत्रुको विरोधमा लड़ाइँ गर्न जान्छौ, तब तिमीहरूले तुरहीहरूमा खतराध्वनि बजाउनू; तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सम्झनामा आउँछौ, र तिमीहरू आफ्ना शत्रुहरूबाट बचाइनेछौ। 10 साथै तिमीहरूको हर्षको दिनमा, तिमीहरूका तोकिएका चाड़हरूमा र तिमीहरूका महिनाहरूका शुरुमा तिमीहरूले आफ्ना होमबलिहरू र आफ्ना मेलबलिहरूमाथि तुरहीहरू फुक्नू; र ती तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति सम्झना ठहरिनेछन्; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।”
सिनाईको उजाड़स्थानबाट प्रस्थान
11 अनि यस्तो भयो: दोस्रो वर्षको दोस्रो महिनाको बीसौं दिनमा साक्षीको निवासस्थानमाथिबाट बादल उठ्यो। 12 अनि इस्राएलीहरूले सिनाईको उजाड़स्थानबाट आफ्‍ना यात्रा शुरु गरे; अनि बादल पारानको उजाड़स्थानमा अड़ियो। 13 अनि मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार तिनीहरूले पहिलोपल्‍ट यात्रा शुरु गरे।
14 सबभन्दा पहिले यहूदीहरूको छाउनीको झण्डा तिनीहरूका दलहरूअनुसार अघि बढ्यो; अनि आफ्नो दलमाथि अम्मिनादाबका छोरा नहशोन प्रधान थिए। 15 अनि इस्साकारीहरूको कुलको दलमाथि सूआरका छोरा नतनेल प्रधान थिए। 16 अनि जबूलूनीहरूको कुलको दलमाथि हेलोनका छोरा एलिआब प्रधान थिए। 17 तब निवासस्थान तल झारियो; अनि गेर्शोनीहरू र मरारीहरू निवासस्थान बोकेर अघि बढ़े।
18 त्यसपछि रूबेनको छाउनीको झण्डा तिनीहरूका दलहरूअनुसार अघि बढ्यो; अनि आफ्नो दलमाथि शदेऊरका छोरा एलिसूर प्रधान थिए। 19 अनि शिमोनीहरूको कुलको दलमाथि सूरीशद्दाईका छोरा शलूमिएल प्रधान थिए। 20 अनि गादीहरूको कुलको दलमाथि देऊएलका छोरा एल्यासाप प्रधान थिए। 21 तब पवित्रस्थान बोकेर कहातीहरू अघि बढ़े; उनीहरू आउँदै गर्दा अरूले निवासस्थान खड़ा गर्थे।
22 त्यसपछि एप्रैमीहरूको छाउनीको झण्डा तिनीहरूका दलहरूअनुसार अघि बढ्यो; अनि आफ्नो दलमाथि अम्मिहूदका छोरा एलिशामा प्रधान थिए। 23 अनि मनस्सेलीहरूको कुलको दलमाथि पदासूरका छोरा गमलिएल प्रधान थिए। 24 अनि बिन्यामिनीहरूको कुलको दलमाथि गिदोनीका छोरा अबिदान प्रधान थिए।
25 त्यसपछि दानीहरूको छाउनीको झण्डा, सबै छाउनीहरूमा पछिल्‍लो भई तिनीहरूका दलहरूअनुसार अघि बढ्यो; अनि आफ्नो दलमाथि अम्मिशद्दाईका छोरा अहिएजेर प्रधान थिए। 26 अनि आशेरीहरूको कुलको दलमाथि ओक्रानका छोरा पगिएल प्रधान थिए। 27 अनि नप्‍तालीनीहरूको कुलको दलमाथि एनानका छोरा अहिरा प्रधान थिए। 28 जब इस्राएलीहरू अघि बढ़्थे, तब तिनीहरूका यात्राहरू यसरी नै तिनीहरूका दलहरूअनुसार हुन्‍थे।
29 अनि मोशाले मिद्यानी रूएलका छोरा होबाब आफ्ना ससुरालाई भने: “हामी त्यस ठाउँमा गइरहेका छौं, जसको विषयमा परमप्रभुले ‘म यो तिमीहरूलाई दिनेछु’ भनी भन्‍नुभएको छ; तिमी हामीसित आऊ; र हामी तिमीलाई भलो गर्नेछौं; किनकि परमप्रभुले इस्राएलको विषयमा भलो कुरा भन्‍नुभएको छ।” 30 तर तिनले उनलाई भने: “म जानेछैनँ; तर म त आफ्नै देश र आफ्नै कुटुम्बकहाँ जानेछु।” 31 तब उनले भने: “म तिमीलाई विन्‍ती गर्दछु, हामीलाई नछोड़; किनकि हामीले उजाड़स्थानमा कहाँ छाउनी हाल्नुपर्छ, सो तिमीलाई थाहा छ, अनि तिमी हाम्रा निम्ति आँखा ठहर्नेछौ। 32 अनि यस्तो हुनेछ: यदि तिमी हामीसँग गयौ भने निश्‍चय यस्तो हुनेछ: जुन भलाइ परमप्रभुले हामीसित गर्नुहुनेछ, त्यही भलाइ हामी तिम्रा निम्ति गर्नेछौं।”
33 अनि परमप्रभुको पर्वतबाट तिनीहरू तीन दिन यात्रा गरे; अनि परमप्रभुको वाचाको सन्दुक तिनीहरूका निम्ति विश्राम गर्ने ठाउँ खोज्‍न त्यस तीन दिनको यात्रामा तिनीहरूको अघि-अघि गयो। 34 अनि जब तिनीहरू छाउनीबाट यात्रा गर्थे, तब दिनको समयमा परमप्रभुको बादल तिनीहरूमाथि रहन्थ्यो। 35 अनि यस्तो हुन्थ्यो: जब सन्दुक अघि बढ्थ्यो, तब मोशाले यसो भन्थे: “हे परमप्रभु, उठ्नुहोस्; र तपाईंका शत्रुहरू तितरबितर होऊन्, र तपाईंलाई घृणा गर्नेहरू तपाईंको सामुबाट भागून्!” 36 अनि सन्दुकले विश्राम गर्दा उनले भन्थे: “हे परमप्रभु, इस्राएलका हजारौं-हजारकहाँ फर्कनुहोस्!”