निस्तार चाड़ मनाइयो
9
अनि इस्राएलीहरूक मिस्र देशबाट निस्केर आएको दोस्रो वर्षको पहिलो महिनामा सिनाईको उजाड़स्थानमा परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूले यसको तोकिएको समयमा निस्तार चाड़ मनाऊन्! 3 यस महिनाको चौधौं दिन, साँझमा यसको तोकिएको समयमा तिमीहरूले यो मनाउनू; यसका सबै विधिहरू र यसका सबै नियमहरूअनुसार तिमीहरूले यो मनाउनू!” 4 अनि तिनीहरूले निस्तार चाड़ मनाउनुपर्छ भनी मोशाले इस्राएलीहरूलाई भने। 5 अनि तिनीहरूले पहिलो महिनाको चौधौं दिन, साँझमा सिनाईको उजाड़स्थानमा निस्तार चाड़ मनाए; परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार इस्राएलीहरूले गरे।6 अनि कति मानिसहरू थिए, जसले मानिसको लासद्वारा अशुद्ध भएका हुनाले त्यस दिन निस्तार चाड़ मनाउन सकेनन्; अनि तिनीहरू त्यस दिन मोशा र हारूनको सामु आए; 7 र ती मानिसहरूले मोशालाईख भने: “मानिसको लासद्वारा हामीचाहिँ अशुद्ध भएका छौं; इस्राएलीहरूको बीचमा, यसको तोकिएको समयमा परमप्रभुको भेटी चढ़ाउन हामीलाई किन रोक्का भयो?” 8 अनि मोशाले तिनीहरूलाई भने: “उभिरहो, र परमप्रभुले तिमीहरूको विषयमा के आज्ञा गर्नुहुन्छ, सो म सुन्नेछु।” 9 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 10 “इस्राएलीहरूलाई यसो भन: तिमीहरू वा तिमीहरूका सन्तानको कुनै मानिस लासको कारणले अशुद्ध भयो भने, अथवा टाढ़ाको यात्रामा छ भने पनि त्यसले परमप्रभुका निम्ति निस्तार चाड़ मनाओस्! 11 दोस्रो महिनाको चौधौं दिन, साँझमा तिनीहरूले यो मनाऊन्; यसलाई तिनीहरूले अखमिरे रोटी र तीता सागपातसँग खाऊन्! 12 यसको कुनै पनि भाग तिनीहरूले बिहानसम्म रहन नदिऊन्, न ता यसको कुनै हड्डी नै भाँचून्; निस्तार चाड़का सबै विधिहरूअनुसार तिनीहरूले यो मनाऊन्! 13 तर त्यो मानिस जो शुद्ध छ र जो यात्रामा छैन, रपनि निस्तार चाड़ मनाउँदैन भने त्यही व्यक्तिचाहिँ आफ्ना मानिसहरूको बीचबाट नामेट गरियोस्; किनभने त्यसले परमप्रभुको भेटी यसको तोकिएको समयमा ल्याएन; त्यस मानिसले आफ्नो पापको फल भोग्नेछ। 14 अनि कुनै परदेशी तिमीहरूको बीचमा बसोबास गर्दछ र परमप्रभुका निम्ति निस्तार चाड़ मनाउन चाहन्छ भने निस्तार चाड़को विधिअनुसार र त्यसको नियमअनुसार त्यसले गरोस्; त्यो परदेशी र यसै देशमा जन्मने मानिसकाग निम्ति तिमीहरूको एउटै विधि होस्!”
निवासस्थानमाथि रहेको बादल
15 अनि जुन दिन निवासस्थान खड़ा गरियो, त्यस दिन बादलले निवासस्थानलाई अर्थात् साक्षीको पाललाई ढाक्यो; अनि साँझमा निवासस्थानमाथि यो आगोजस्तो बिहानसम्म देखा पर्यो। 16 सधैंभरि यस्तै भइरह्यो; दिनमा बादलले त्यसलाई ढाक्थ्यो, अनि रातमा त्यसले आगोको रूप लिन्थ्यो। 17 अनि जब-जब निवासस्थानमाथिबाट बादल उठ्थ्यो, तब इस्राएलीहरूले यात्रा शुरु गर्थे; अनि जुन ठाउँमा बादल अड़ेर बस्थ्यो, इस्राएलीहरू त्यहीं पाल टाँगेर बस्थे। 18 परमप्रभुको आज्ञाअनुसार इस्राएलीहरू यात्रा शुरु गर्थे; अनि परमप्रभुको आज्ञाअनुसारै तिनीहरू पाल टाँगेर बस्थे; जबसम्म बादल निवासस्थानमाथि रहन्थ्यो, तबसम्म तिनीहरू आफ्ना पालहरूमा बस्थे। 19 अनि जब धेरै दिनसम्म बादल निवासस्थानमाथि अड़ेर रहन्थ्यो, तब इस्राएलीहरू परमप्रभुको आदेश मानेर यात्रा गर्दैनथिए। 20 अनि बादल निवासस्थानमाथि थोरै दिन रहँदा पनि यस्तै हुन्थ्यो; परमप्रभुको आज्ञाअनुसार तिनीहरू आफ्ना पालहरूमा बस्थे; अनि परमप्रभुको आज्ञाअनुसार नै तिनीहरूले यात्रा गर्थे। 21 अनि साँझदेखि बिहानसम्म बादल रहँदा पनि यस्तै हुन्थ्यो, जब बिहान बादल उठ्थ्यो, तब तिनीहरूले यात्रा शुरु गर्थे; चाहे दिन होस् चाहे रात, जब बादल उठ्थ्यो, तब तिनीहरूले यात्रा गर्थे। 22 चाहे बादल दुई दिन, एक महिना वा एक वर्ष नै निवासस्थानमाथि अड़ेर बसिरहोस्, इस्राएलीहरू आफ्ना पालहरूमै बस्थे र यात्रा गर्दैनथिए; तर जब बादलघ उठ्थ्यो, तब तिनीहरूले यात्रा गर्थे। 23 परमप्रभुको आज्ञाअनुसार तिनीहरू पालहरूमा बस्थे; अनि परमप्रभुको आज्ञाअनुसार नै तिनीहरू यात्रा गर्थे; मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार तिनीहरू परमप्रभुको आदेश पालन गर्थे।