हारूनको दियाहरू बाल्ने कर्तव्य
8
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “हारूनसँग कुरा गर, र उसलाई भन: तिमीले दियाहरू बाल्दा ती सात दियाहरूले सामदानको अघिल्तिर उज्यालो दिऊन्!” 3 अनि हारूनले त्यस्तै गरे; परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले त्यसका दियाहरू सामदानको अघिल्तिर उज्यालो पर्ने गरी बाले। 4 सामदानको बनावट यस्तो थियो: त्यो पिटेर बनाएको सुनको काम थियो; त्यसको आधारदेखि त्यसका फूलहरूसम्मै त्यो पिटेर बनाएको काम थियो; परमप्रभुले मोशालाई देखाउनुभएको नमुनाअनुसार उनले त्यो सामदान बनाए।लेवीहरूको शुद्धिकरण र समर्पण
5 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 6 “इस्राएलीहरूको बीचबाट लेवीहरूलाई निकाल, र उनीहरूलाई शुद्ध पार! 7 अनि उनीहरूलाई शुद्ध पार्न तिमीले उनीहरूलाई यसो गर्नू: उनीहरूमाथि शुद्ध पार्ने पानी छर्क, र उनीहरूले आ-आफ्नो सारा शरीरभरि छुरा लगाऊन्, आफ्ना लुगाहरू धोऊन् र आफैलाई शुद्ध पारून्! 8 त्यसपछि उनीहरूले एउटा बहर र त्यसको अन्नबलि अर्थात् तेलसँग मिसिएको मैदा ल्याऊन्; अनि पापबलिका निम्ति तिमीले अर्को एउटा बहर लिनू! 9 अनि तिमीले लेवीहरूलाई भेट हुने पालको अघिल्तिर ल्याउनू, र इस्राएलीहरूको सारा समुदायलाई भेला पार्नू! 10 अनि तिमीले लेवीहरूलाई परमप्रभुको सामु ल्याउनू; अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हातहरू राखून्! 11 अनि ती लेवीहरूले परमप्रभुको सेवा गरून् भनेर हारूनले उनीहरूलाई इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा परमप्रभुको सामु चढ़ाओस्क! 12 अनि लेवीहरूले ती बहरहरूका टाउकाहरूमाथि आफ्ना हातहरू राखून्; त्यसपछि ती लेवीहरूका निम्ति प्रायश्चित गर्नलाई तिमीले एउटालाई पापबलिको रूपमा र अर्कालाई होमबलिको रूपमा परमप्रभुका निम्ति चढ़ाइदेऊ! 13 अनि ती लेवीहरूलाई हारून र उसका छोराहरूको सामु खड़ा गर र उनीहरूलाई डोलाउने भेटीको रूपमा परमप्रभुका निम्ति चढ़ाइदेऊख!
14 यसरी तिमीले ती लेवीहरूलाई इस्राएलीहरूको बीचबाट अलग पार्नू; अनि लेवीहरू मेरा होऊन्! 15 अनि त्यसपछि लेवीहरू भेट हुने पालको सेवा गर्न भित्र आऊन्, अनि तिमीले उनीहरूलाई शुद्ध पार र उनीहरूलाई डोलाउने भेटीको रूपमा चढ़ाइदेऊख! 16 किनकि उनीहरूचाहिँ इस्राएलीहरूको बीचबाट पूर्ण रूपले मलाई दिइएका हुन्; हरेक गर्भ खोल्नेको सट्टामा, अर्थात् सबै इस्राएलीहरूको जेठाको सट्टामा मैले उनीहरूलाई आफ्ना निम्ति लिएको छु। 17 किनकि इस्राएलीहरूका सबै जेठाहरू मेरा हुन्, चाहे मानिस होस्, चाहे पशु होस्; जुन दिन मैले मिस्र देशका सबै जेठाहरूलाई मारें, त्यही दिन मैले उनीहरूलाई आफ्ना निम्ति पवित्र ठहराएँ। 18 अनि इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा मैले लेवीहरूलाई लिएको छु। 19 अनि भेट हुने पालमा इस्राएलीहरूको सेवा गर्न र इस्राएलीहरूका निम्ति प्रायश्चित गर्नलाई मैले इस्राएलीहरूको बीचबाट हारून र उसका छोराहरूलाई लेवीहरू दानको रूपमा दिएको छु; फलस्वरूप इस्राएलीहरू पवित्रस्थानको नजिक आउँदा इस्राएलीहरूको बीचमा कुनै विपत्ति आइनपरोस्।”
20 अनि लेवीहरूको सम्बन्धमा परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाअनुसार मोशा, हारून र इस्राएलीहरूको सारा समुदायले लेवीहरूसित गरे; त्यस्तै नै इस्राएलीहरूले उनीहरूसित गरे। 21 अनि लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए; अनि हारूनले उनीहरूलाई परमप्रभुको सामु डोलाउने भेटीको रूपमा चढ़ाए; अनि उनीहरूलाई शुद्ध पार्नलाई हारूनले उनीहरूका निम्ति प्रायश्चित गरे। 22 अनि त्यसपछि हारून र तिनका छोराहरूको सामु भेट हुने पालमा आफ्नो सेवा गर्न भनी लेवीहरू भित्र पसे; जस्तो परमप्रभुले मोशालाई लेवीहरूको सम्बन्धमा आज्ञा गर्नुभएको थियो, त्यस्तै तिनीहरूले उनीहरूसित गरे।
23 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 24 “लेवीहरूको जिम्मामा काम यही हो: पच्चीस वर्ष र त्यसभन्दा माथिकाहरू भेट हुने पालको सेवा गर्न भित्र जाऊन्! 25 अनि पचास वर्ष पुगेपछि उनीहरूले सेवाको कामबाट छुट्टी लिऊन्; र त्यसपछि सेवा नगरून्! 26 तर आफ्नो जिम्मेवारी पूरा गर्नलाई उनीहरूले भेट हुने पालमा आफ्ना भाइहरूलाई साथ दिऊन्, तर सेवाको काम नगरून्! लेवीहरूको जिम्मेवारीको सम्बन्धमा तिमीले उनीहरूसित त्यस्तै गर्नू!”