नाजीरको विशेष भाकल
6
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब कुनै पुरुष वा स्त्रीले नाजीरको भाकल गर्न अर्थात् परमप्रभुका निम्ति आफूलाई अलग पार्न एउटा विशेष भाकल गर्छ; 3 तब त्यसले आफूलाई दाखमद्य र मदिराबाट अलग राखोस्, र दाखमद्यको सिर्का र मदिराको सिर्का नपिओस्; न ता त्यसले अङ्‍गुरको कुनै रस पिओस्, न ता ताजा वा सुकेको अङ्‍गुर खाओस्! 4 आफ्नो अलग रहने सारा समयभरि त्यसले दाखको बोटबाट बनेको, बियाँदेखि लिएर बोक्रासम्म केही पनि नखाओस्! 5 आफ्नो अलग रहने भाकलको सारा समयभरि त्यसको टाउकोमा छुरा नलागोस्; परमप्रभुका निम्ति आफूलाई अलग पारेका दिनहरू पूरा नहोउन्जेल त्यो पवित्र रहोस्, र त्यसको टाउकोका लत्रेका केश बढ़िरहून्!
6 त्यसले आफूलाई परमप्रभुका निम्ति अलग पारेको सारा समयभरि त्यो कुनै मानिसको लासको नजिक नजाओस्! 7 त्यसले आफ्ना बुबा, आफ्नी आमा, आफ्ना दाजुभाइ वा आफ्ना दिदीबहिनीका निम्ति, जब तिनीहरू मर्छन्, त्यसले आफूलाई अशुद्ध नतुल्याओस्; किनकि आफ्ना परमेश्‍वरका निम्ति अलग रहेको चिन्ह त्यसको टाउकोमा छ। 8 आफ्नो अलग रहने सारा समयभरि नै त्योचाहिँ परमप्रभुका निम्ति पवित्र छ।
9 अनि कुनै मानिस अचानक त्यसको छेउमै मर्‍यो, र त्यसले आफ्नो अलग रहेको टाउको अशुद्ध पारिदियो भने आफ्नो शुद्धिको दिनमा त्यसले आफ्नो टाउको खौरोस्, अर्थात् सातौं दिनमा त्यसले त्यो खौरोस्! 10 अनि आठौं दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्‍चा पूजाहारीकहाँ भेट हुने पालको ढोकामा ल्याओस्! 11 अनि पूजाहारीले पापबलिका निम्ति एउटालाई र होमबलिका निम्ति अर्कालाई चढ़ाओस्, र त्यसका निम्ति प्रायश्‍चित गरोस्; किनकि त्यसले मुर्दाको कारणले पाप गर्‍यो; अनि त्यही दिन त्यसले आफ्नो टाउको पवित्र तुल्याओस्! 12 त्यसपछि त्यसले आफ्ना अलग रहने दिनहरू परमप्रभुका निम्ति फेरि अलग पारोस्, अनि दोषबलिका निम्ति भेड़ाको पहिलो वर्षको पाठो ल्याओस्; तर त्यसको अलग रहेको समय अशुद्ध भएको हुनाले ती अघिका दिनहरू व्यर्थ ठहरून्!
13 अनि त्यसका अलग रहने दिनहरू पूरा भएको बेलामा नाजीरको व्यवस्था यो हो: त्यो भेट हुने पालको ढोकामा ल्याइयोस्; 14 अनि त्यसले परमप्रभुलाई आफ्नो भेटी चढ़ाओस्; होमबलिका निम्ति पहिलो वर्षको निष्खोट भेड़ाको एउटा पाठो, पापबलिका निम्ति पहिलो वर्षको निष्खोट भेड़ाको एउटा पाठी र मेलबलिका निम्ति एउटा निष्खोट भेड़ा; 15 अनि एक डालो अखमिरे रोटीहरू: तेलसँग मिसिएको मैदाका फुरौलाहरू, तेल लगाइएका अखमिरे बाबरहरू, साथै तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू। 16 अनि पूजाहारीले ती कुराहरू परमप्रभुको सामु ल्याओस्; र त्यसको पापबलि र त्यसको होमबलि चढ़ाओस्; 17 अनि अखमिरे रोटीहरूको डालोसित उसले परमप्रभुका निम्ति मेलबलिको रूपमा त्यो भेड़ा चढ़ाओस्; पूजाहारीले त्यसको अन्‍नबलि र त्यसको अर्घबलि पनि चढ़ाओस्! 18 अनि त्यस नाजीरले भेट हुने पालको ढोकामा आफ्नो अलग रहेको टाउको खौरोस्, र आफ्नो अलग रहेको टाउकोको केश लिएर मेलबलिमुनि भएको आगोमा हालिदेओस्! 19 अनि नाजीरको अलग रहेको केश खौरिएपछि पूजाहारीले भेड़ाको उसिनेको पातो, अनि डालोबाट एउटा अखमिरे फुरौलो र एउटा अखमिरे बाबर लेओस्, र तिनलाई त्यसका हातहरूमा राखिदेओस्! 20 अनि पूजाहारीले तिनलाई डोलाउने भेटीको रूपमा परमप्रभुको सामु डोलाओस्; योचाहिँ डोलाउने छाती र माथि उचाल्ने फिलाको साथमा पूजाहारीका निम्ति पवित्र हो; अनि त्यसपछि त्यस नाजीरले दाखमद्य पिउन सक्छ।
21 नाजीरको व्यवस्था यही हो, जसले आफूले जे दिन सक्छ, त्यसबाहेक आफू अलग रहेको समयका निम्ति परमप्रभुलाई आफ्नो भेटी भाकल गर्छ; आफू अलग रहने समयको व्यवस्थाअनुसार त्यसले आफूले गरेको भाकलअनुसारै गरोस्!”
पूजाहारीहरूले दिने आशीर्वाद
22 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 23 “हारून र उसका छोराहरूलाई यसो भन: यस प्रकारले तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद देओ; तिनीहरूलाई यसो भन: 24 ‘परमप्रभुले तिमीलाई आशिष्‌ दिऊन् र तिमीलाई रक्षा गरून्; 25 परमप्रभुले आफ्नो चेहरा तिमीमाथि चम्काऊन्, र तिमीप्रति अनुग्रही होऊन्; 26 परमप्रभुले आफ्नो चेहरा तिमीमाथि लगाइदिऊन् र तिमीलाई शान्ति दिऊन्!’ 27 यसरी उनीहरूले मेरो नाम इस्राएलीहरूमाथि राखून्; अनि म तिनीहरूलाई आशिष्‌ दिनेछु।”