लेवी कुलको गन्ती
3
अनि जुन दिन परमप्रभुले सिनाई पर्वतमा मोशासँग कुरा गर्नुभयो, त्यस दिन मोशा र हारूनका वंशावलीहरू यी थिए। 2 अनि हारूनका छोराहरूका नाम यी हुन्: जेठा छोरा नादाब, त्यसपछि अबिहू, एलाजार र इतामार। 3 हारूनका छोराहरू अर्थात् अभिषेक गरिएका पूजाहारीहरूका नाम यी नै हुन्, जसलाई मोशालेक पूजाहारी-पदमा रहेर सेवा गर्नलाईख अर्पण गरे: 4 सिनाईको उजाड़स्थानमा नादाब र अबिहूले परमप्रभुको सामु पराई किसिमकोच आगो चढ़ाउँदा उनीहरू परमप्रभुकै सामु मरे; अनि उनीहरूका कोही सन्तान थिएनन्। तब एलाजार र इतामारले आफ्ना बुबा हारूनको उपस्थितिमा पूजाहारी-पदमा सेवा गरे।5 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 6 “लेवी कुललाई नजिक ल्याऊ र उनीहरूलाई पूजाहारी हारूनको सामु खड़ा गर, र उनीहरूले उसको सेवा गरून्; 7 अनि निवासस्थानको काम गर्नका निम्ति उनीहरूले उसप्रतिको जिम्मेवारी र सम्पूर्ण समुदायप्रतिको जिम्मेवारी भेट हुने पालको सामु पूरा गरून्! 8 अनि निवासस्थानको काम गर्नका निम्ति उनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रक्षा गरून्, र इस्राएलीहरूप्रतिको जिम्मेवारी पूरा गरून्! 9 अनि तिमीले हारून र उसका छोराहरूलाई लेवीहरू दिइहाल्नू; उनीहरूचाहिँ इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाईग दिइएका हुन्। 10 अनि तिमीले हारून र उसका छोराहरूलाई नियुक्त गर, र उनीहरूले आफ्नो पूजाहारी-पद सम्हालिराखून्; अनि कुनै पराई मानिस, जो नजिक आउँछ, त्यो मारियोस्!”
11 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 12 “अनि हेर, मैले इस्राएलीहरूको बीचमा गर्भ खोल्ने सबै जेठा छोराहरूको सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूको बीचबाट लिएको छु; यसकारण लेवीहरू मेरा हुनेछन्; 13 किनकि सबै पहिले जन्मेकाचाहिँ मेरा हुन्; किनभने जुन दिन मैले मिस्र देशका सबै जेठाहरूलाई मारें, त्यस दिन मैले इस्राएलका दुवै मानिस र पशुका सबै पहिले जन्मेकाहरूलाई आफ्नो निम्ति पवित्र ठहराएँ; तिनीहरू मेरै होऊन्; म नै परमप्रभु हुँ।”
14 अनि सिनाईको उजाड़स्थानमा परमप्रभुले मोशालाई यसो भन्नुभयो: 15 “उनीहरूका पुर्खाहरूको घरानाअनुसार, उनीहरूका परिवारहरूअनुसार लेवीहरूलाई गन्ती गर; एक महिना र त्यसभन्दा माथिको हरेक पुरुषलाई नै गन्ती गर!” 16 अनि जसरी मोशालाई आज्ञा गरिएको थियो, त्यसरी नै उनले परमप्रभुको वचनअनुसार उनीहरूलाई गन्ती गरे।
17 अनि उनीहरूका नामअनुसार लेवीका छोराहरू यी हुन्: गेर्शोन, कहात र मरारी। 18 आ-आफ्ना परिवारअनुसार गेर्शोनका छोराहरूका नाम यी हुन्: लिब्नी र शिमी। 19 आ-आफ्ना परिवारअनुसार कहातका छोराहरू: अम्राम, त्यसपछि यिसहार, हेब्रोन र उज्जिएल। 20 अनि आ-आफ्ना परिवारअनुसार मरारीका छोराहरू: महली र मूशी। उनीहरूका पुर्खाहरूको घरानाअनुसार लेवीका परिवारहरू यी हुन्।
21 गेर्शोनबाट लिब्नीहरूको परिवार र शिमीहरूको परिवार चले; गेर्शोनीहरूका परिवारहरू यी नै हुन्। 22 एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूको संख्याअनुसार गन्ती गरिएकाहरू, अँ, ती गन्ती गरिएकाहरूको संख्या सात हजार पाँच सय थियो। 23 “गेर्शोनीहरूका परिवारहरू पश्चिमपट्टि, निवासस्थानको पछिल्तिर पाल टाँगेर बसून्! 24 अनि लाएलको छोरा एल्यासाप गेर्शोनीहरूको पुर्खाको घरानाको प्रधान होस्! 25 भेट हुने पालमा गेर्शोनीहरूको जिम्मेवारी यो हो: निवासस्थान, पाल, त्यसको ओढ़ा र भेट हुने पालको ढोकाको पर्दा; 26 साथै निवासस्थान र वेदीको वरिपरिको आँगनका पर्दाहरू, आँगनको ढोकाको पर्दा र त्यसको सबै काममा चाहिने यसका डोरीहरू।”
27 अनि कहातबाट अम्रामीहरूको परिवार, यिसहारीहरूको परिवार, हेब्रोनीहरूको परिवार र उज्जिएलीहरूको परिवार आए; कहातीहरूका परिवारहरू यी नै हुन्। 28 एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूको संख्याअनुसार आठ हजार छ सय थिए; तिनीहरू पवित्रस्थानको जिम्मेवारी पूरा गर्थे। 29 “कहातीहरूका परिवारहरू दक्षिणपट्टि, निवासस्थानको एकापट्टि पाल टाँगेर बसून्! 30 उज्जिएलको छोरा एलिसापान कहातीहरूका परिवारहरूका निम्ति पुर्खाको घरानाको प्रधान होस्! 31 अनि उनीहरूको जिम्मेवारी यो हो: सन्दुक, टेबल, सामदान र वेदीहरू, साथै पवित्रस्थानका सामानहरूघ, जसद्वारा उनीहरू सेवा गर्छन्, अनि पर्दा र त्यसको सबै काम। 32 अनि पूजाहारी हारूनको छोरा एलाजारचाहिँ लेवीहरूका प्रधानहरूको प्रधान र पवित्रस्थानको जिम्मेवारी उठाउनेहरूको निरीक्षक होस्!”
33 मरारीबाट महलीहरूको परिवार र मूशीहरूको परिवार आए; मरारीका परिवारहरू यी नै हुन्। 34 अनि एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूको संख्याअनुसार गन्ती गरिएकाहरूको संख्या छ हजार दुई सय थियो। 35 “अबिहैलको छोरा सूरीएल मरारीका परिवारहरूका निम्ति पुर्खाको घरानाको प्रधान होस्; यिनीहरू उत्तरपट्टि, निवासस्थानको एकापट्टि पाल टाँगेर बसून्! 36 अनि मरारीहरूका देखरेख र जिम्मेवारी यी हुन्: निवासस्थानका फल्याकहरू, त्यसका साटाहरू, त्यसका खाँबाहरू, त्यसका चूलघरहरू, त्यसका सबै सामानहरू र त्यसको सबै काम; 37 साथै वरिपरिको आँगनका खाँबाहरू, तिनका चूलघरहरू, तिनका कीलाहरू र तिनका डोरीहरू।
38 तर निवासस्थानको अघिल्तिर, पूर्वपट्टि, भेट हुने पालको सामु, घाम झुल्कने दिशातिर पाल टाँगेर बस्नेहरूचाहिँ मोशा, हारून र उसका छोराहरू होऊन्; उनीहरूले इस्राएलीहरूको जिम्मेवारीको रूपमा पवित्रस्थानको जिम्मेवारी उठाऊन्! अनि कुनै पराई मानिस, जो नजिक आउँछ, त्यो मारियोस्!” 39 जुन लेवीहरूलाई मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम तिनीहरूका परिवारहरूअनुसार गन्ती गरे, अर्थात् एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूलाई, ती सबै गन्ती गरिएका लेवीहरूको संख्या बाइस हजार थियो।
इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरू परमप्रभुका भए
40 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “इस्राएलीहरूका एक महिना र त्यसभन्दा माथिका सबै पहिले जन्मेका नरहरूको गन्ती लेऊ, र तिनीहरूका नामहरूको संख्या निकाल! 41 अनि इस्राएलीहरूको बीचमा भएका सबै जेठा छोराहरूको सट्टामा तिमीले मेरा निम्ति लेवीहरूलाई लिनू! म नै परमप्रभु हुँ; अनि इस्रालीहरूका गाईबस्तुहरूको बीचमा भएका सबै पहिले जन्मेकाहरूको सट्टामा तिमीले लेवीहरूका गाईबस्तु लिनू!” 42 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनले इस्राएलीहरूमध्ये सबै जेठाहरूको गन्ती लिए। 43 अनि नामहरूको संख्याअनुसार एक महिना र त्यसभन्दा माथिका सबै जेठा पुरुषहरू अर्थात् गन्ती गरिएकाहरूको संख्या बाइस हजार दुई सय त्रिहत्तर थियो।
44 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 45 “इस्राएलीहरूको बीचमा भएका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई, र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तु लिनू; अनि लेवीहरू मेरा होऊन्! म नै परमप्रभु हुँ। 46 अनि लेवीहरूको संख्याभन्दा बढ़ी भएका इस्राएलीहरूका जेठाहरूका दुई सय त्रिहत्तरजनालाई दाम तिरेर छुटाइनेहरूका निम्ति, 47 तिमीले एक-एकजनाका निम्ति पाँच-पाँच शेकेल लिनू; पवित्रस्थानको शेकेलअनुसार तिमीले लिनू! बीस गेराको एक शेकेल हुन्छ। 48 अनि जुन पैसाले ती संख्यामा बढ़ी भएकाहरू छुटाइन्छन्, त्योङ पैसा तिमीले हारून र उसका छोराहरूलाई दिनू!” 49 अनि लेवीहरूद्वारा जतिजना छुटाइए, तिनीहरूभन्दा बढ़ी भएकाहरूबाट मोशाले छुटकाराको पैसा लिए; 50 इस्राएलीहरूका जेठाहरूबाट उनले त्यो पैसा, अर्थात् पवित्रस्थानको शेकेलअनुसार एक हजार तीन सय पैसट्ठी शेकेल लिए। 51 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैं मोशाले परमप्रभुको वचनअनुसार ती छुटाइएकाहरूको पैसा हारून र तिनका छोराहरूलाई दिए।