पवित्रता र न्यायको सम्बन्धमा नियमहरू
19
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूका सारा समुदायसँग कुरा गर, र तिनीहरूलाई भन: तिमीहरू पवित्र होओ; किनकि म परमप्रभु तिमीहरूको परमेश्‍वर पवित्र छु। 3 तिमीहरू हरेकले आफ्नी आमा र आफ्ना बुबाको डर मान्‍नू, र मेरा विश्रामदिनहरू मान्‍नू; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ। 4 तिमीहरू मूर्तिहरूतिर नलाग्‍नू र आफ्ना निम्ति ढालेका देवताहरू नबनाउनू; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
5 अनि तिमीहरूले परमप्रभुलाई मेलबलि चढ़ायौ भने तिमीहरूले त्यसलाई आफ्नो इच्छाले चढ़ाउनू! 6 तिमीहरूले चढ़ाएकै दिनमा त्यो खाइयोस्, र भोलिपल्ट पनि; अनि जे तेस्रो दिनसम्‍म रहन्छ, त्यो आगोमा जलाइयोस्! 7 अनि कहीं तेस्रो दिनमा त्यो खाइयो भने त्यो घृणित हो; त्यो ग्रहण गरिनेछैन। 8 यसकारण जसले त्यो खान्छ, त्यसले आफ्नो अधर्मको फल भोग्‍नेछ; किनकि त्यसले परमप्रभुको पवित्र वस्तु अशुद्ध पारेको छ; अनि त्यो व्यक्ति आफ्ना जनहरूको बीचबाट नामेट गरियोस्!
9 जब तिमीहरूले आफ्नो देशको फसल काट्छौ, तब तिमीले आफ्नो खेतबारीको छेउ-छेउसम्‍म पूरा नकाट्नू, र आफ्नो फसलका सिलाबाला नटिप्‍नू! 10 अनि आफ्नो दाखबारीको सिला-फल नटिप्‍नू; न आफ्नो दाखबारीको एक-एक दाना अङ्‍गुर नै टिप्‍नू; ती तिमीले गरिब र परदेशीका निम्ति छोड़िराख्‍नू; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
11 तिमीहरूले चोरी नगर्नू, छली काम नगर्नू र एक-अर्कासँग झूट नबोल्नू! 12 अनि तिमीहरूले मेरो नाम लिएर झूटा शपथ नखानू, न ता तिमीले आफ्ना परमेश्‍वरको नाम अपवित्र पार्नू; म नै परमप्रभु हुँ। 13 तिमीले आफ्नो छिमेकीलाई ठगेर नधुत्‍नु, न ता उसलाई लुट्नू; ज्यालामा काम गर्नेको पैसा रातभरि बिहानसम्‍म तिमीसँग नरहोस्! 14 तिमीले बहिरालाई श्राप नदिनू, न ता अन्धाको अघिल्तिर ठेस लाग्‍ने कुरा राख्‍नू, तर तिमीले आफ्ना परमेश्‍वरको डर मान्‍नू; म नै परमप्रभु हुँ।
15 न्याय हुँदा तिमीहरूले कुनै अधर्म नगर्नू; न ता तिमीले गरिबको पक्ष लिनू, न ता ठूलो मान्छेको मुख हेरेर पक्षपात गर्नू, तर तिमीले धार्मिकतापूर्वक आफ्नो छिमेकीको न्याय गर्नू! 16 आफ्ना मानिसहरूको बीचमा तिमी कुराबोकुवा भएर घुमिनहिँड़्नू; तिमी आफ्नो छिमेकीको प्राणको विरोधमा खड़ा नहुनू; म नै परमप्रभु हुँ।
17 तिमीले आफ्नो हृदयमा आफ्नो दाजुभाइलाई घृणा नगर्नू; तिमीले निश्‍चय नै आफ्नो छिमेकीलाई हप्काउनू, र उसको कारणले तिमीले पाप बोक्नु नपरोस्! 18 तिमीले बदला नलिनू, र आफ्ना जाति-भाइहरूप्रति द्वेष नराख्‍नू; तर तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू; म नै परमप्रभु हुँ।
19 तिमीहरूले मेरा विधिहरू पालन गर्नू! तिमीले आफ्ना गाईबस्तुमा दुई जातको पशुद्वारा जन्माउन नदिनू; तिमीले आफ्नो खेतबारीमा दुई किसिमका बीउहरू नछर्नू; न ता सुती र ऊन मिसिएको लुगा तिमीमाथि ओढ़ाइयोस्!
20 अनि जब कुनै मानिसले एउटी यस्ती स्त्रीसँग गमन गर्छ, जोचाहिँ दासी हो, जसको मगनी एउटा पुरुषसित भएको छ, तर कुनै प्रकारले दाम तिरेर त्यसको छुटकारा भएकै छैन, न ता त्यसलाई स्वतन्‍त्रता दिइएको छ; तब तिनीहरूलाई कोर्रा लगाइयोस्, तर तिनीहरू नमारिऊन्; किनकि त्यो स्वतन्‍त्र भएकी थिइन। 21 अनि त्यस मानिसले आफ्नो दोषबलि अर्थात् दोषबलिका निम्ति एउटा भेड़ा भेट हुने पालको ढोकामा परमप्रभुकहाँ ल्याओस्! 22 अनि पूजाहारीले त्यसले गरेको त्यसको पापको सम्‍बन्‍धमा परमप्रभुको सामु दोषबलिको भेड़ाद्वारा त्यसका निम्ति प्रायश्‍चित गरोस्; अनि त्यसले गरेको त्यसको पाप त्यसलाई क्षमा गरिनेछ।
23 अनि जब तिमीहरू त्यस देशभित्र आउँछौ, र भोजनका निम्ति सब प्रकारका रूखहरू रोप्छौ, तब तिमीहरूले त्यसको फल विनाखतनाको ठान्‍नू; तिमीहरूका निम्ति त्यो तीन वर्षसम्‍म विनाखतनाको ठहरियोस्; त्यो खानुहुँदैन। 24 तर चौथो वर्षमा त्यसका सबै फल परमप्रभुको प्रशंसा गर्न पवित्र ठहरिऊन्! 25 अनि पाँचौं वर्षमा तिमीहरूले त्यसको फल खानू; फलस्वरूप त्यसले तिमीहरूका निम्ति आफ्नो उब्जनी बढ़ाउनेछ; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
26 तिमीहरूले रगतसँग केही नखानू; तिमीहरूले मन्‍त्रतन्‍त्र नगर्नू, र शकुन-अपशकुन नमान्‍नू! 27 तिमीहरूले आफ्ना टाउकाको वरिपरि गोल पारी केश नखौरनू, न ता तिमीले आफ्नो दाह्रीका टुप्पाहरू नै बिगार्नू! 28 तिमीहरूले मरेकोका निम्ति आफ्नो शरीरमा काटेर चोटैचोट नपार्नू, र आफूमाथि खोपेर कुनै किसिमको गोदना नलगाउनू; म नै परमप्रभु हुँ।
29 तिमीले आफ्नी छोरीलाई वेश्या बनाउनलाई उसलाई अशुद्ध नतुल्याउनू, नत्र ता देश वेश्यागामी बन्‍नेछ, र देश दुष्‍टताले भरिनेछ। 30 तिमीहरूले मेरा विश्रामदिनहरू मान्‍नू, र मेरो पवित्रस्थानप्रति भक्तिभय राख्‍नू; म नै परमप्रभु हुँ।
31 भूतप्रेत खेलाउनेहरूतिर नलाग्‍नू, न ता तिनीहरूद्वारा अशुद्ध हुनलाई तिमीहरूले बोक्सेरो-विद्या जान्‍नेहरूको खोज नै गर्नू; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
32 तिमी केश फुलेको मानिसको सामु उठ्नू, र वृद्ध मानिसलाई आदर गर्नू; अनि तिम्रा परमेश्‍वरको डर मान्‍नू; म नै परमप्रभु हुँ।
33 अनि कुनै परदेशी तिमीहरूको देशमा तिमीसँग बसोबास गर्छ भने तिमीहरूले उसलाई थिचोमिचो नगर्नू! 34 तर तिमीहरूसँग रहने त्यो परदेशी तिमीहरूका निम्ति तिमीहरूकै बीचमा जन्मेको मानिसझैं ठहरियोस्; अनि तिमीले त्यसलाई आफैलाई झैं प्रेम गर्नू; किनकि तिमीहरू पनि मिस्र देशमा परदेशी थियौ; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
35 न्यायमा, नापमा, तौलमा र भराइमा तिमीहरूले कुनै अधर्म नगर्नू! 36 तिमीहरूसँग सच्‍चा तराजू, सच्‍चा ढक, सच्‍चा एपा र सच्‍चा हिन रहून्; म नै तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
37 यसकारण तिमीहरूले मेरा सबै विधिहरू र मेरा सबै नियमहरू पालन गर्नू र तिनैलाई मान्‍नू; म नै परमप्रभु हुँ।”