रगतद्वारा प्रायश्चित
17
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “हारून, उसका छोराहरू र सबै इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: परमप्रभुले यसो भन्दै आज्ञा गर्नुभएको कुरा यही हो: 3 इस्राएलको घरानामा हरेक जसले बहर, कि भेड़ाको पाठो,क कि ता बाख्रा छाउनीभित्र मार्छ वा छाउनीबाहिर मार्छ, 4 र परमप्रभुलाई भेटी चढ़ाउनलाई परमप्रभुको निवासस्थानको अघिल्तिर भेट हुने पालको ढोकामा त्यो ल्याउँदैन, त्यस मानिसलाई रगतको दोष लाग्नेछ; त्यसले रगत बगाएको छ; अनि त्यो मानिस आफ्ना जनहरूको बीचबाट नामेट गरियोस्; 5 यस उद्देश्यले कि इस्राएलीहरूले आफ्ना बलिहरू ल्याऊन्, जुनचाहिँ तिनीहरूले खुला मैदानमा चढ़ाउँछन्, अँ, तिनलाई तिनीहरूले परमप्रभुका निम्ति भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याऊन्, र तिनलाई परमप्रभुका निम्ति मेलबलिहरूको रूपमा चढ़ाऊन्! 6 अनि पूजाहारीले भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमाथि त्यो रगत छर्कोस्, र बोसोचाहिँ परमप्रभुका निम्ति मीठो बास्नाको रूपमा जलाओस्! 7 अनि अब उसो तिनीहरूले आफ्ना बलिहरू दुष्ट आत्माहरूलाईख नचढ़ाऊन्, जसका पछि लागेर तिनीहरूले वेश्याकर्म गरेका छन्। तिमीहरूका निम्ति यो तिमीहरूका पुस्तौंपुस्तामा सधैं रहिरहने विधि ठहरियोस्!8 अनि तिमीले तिनीहरूलाई भन्नू: इस्राएलको घरानामध्ये वा तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूमध्ये जसकसैले होमबलि वा अरू कुनै बलिदान चढ़ाउँछ, 9 तर त्यसलाई परमप्रभुका निम्ति चढ़ाउनलाई भेट हुने पालको ढोकामा ल्याउँदैन, त्यो मानिस पनि आफ्ना जनहरूको बीचबाट नामेट गरियोस्!
10 अनि इस्राएलको घरानामध्ये वा तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूमध्ये हरेक जसले कुनै किसिमको रगत खान्छ, म त्यस रगत खाने व्यक्तिको विरोधमा हुनेछु,ग र त्यसलाई त्यसका मानिसहरूको बीचबाट नाश पार्नेछु। 11 किनकि प्राणीको प्राण रगतमा हुन्छ; अनि मैले त्यो रगतघ तिमीहरूका प्राणहरूका निम्ति वेदीमाथि प्रायश्चित गर्न भनी तिमीहरूलाई दिएको छु; किनकि रगतले नै प्राणका निम्ति प्रायश्चित गर्छ। 12 यसैकारण मैले इस्राएलीहरूलाई भनें: तिमीहरूमध्ये कसैले पनि रगत नखाओस्,ङ न ता तिमीहरूको बीचमा बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्! 13 अनि इस्राएलीहरूमध्ये वा तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूमध्ये हरेक जसले शिकार खेल्छ र खानुहुने कुनै पशु वा पक्षीलाई पक्रन्छ, त्यसले यसको रगत बगाओस् र त्यसलाई माटोले पुरोस्! 14 किनकि त्यो सबै प्राणीको प्राण हो; यसको रगतचाहिँ यसको प्राण हो; यसैकारण मैले इस्राएलीहरूलाई भनें: ‘तिमीहरूले कुनै पनि प्राणीको रगत नखानू; किनकि हरेक प्राणीको प्राणचाहिँ त्यसको रगत हो; हरेक जसले यो खान्छ, त्यो नष्ट गरियोस्!’ 15 अनि हरेक व्यक्ति, चाहे त्यो स्वदेशी वा विदेशी होस्, जसले आफै-आफ मरेको वा जङ्गली पशुहरूद्वारा च्यातचुत पारिएको कुनै पशु खान्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्, अनि साँझसम्म अशुद्ध रहोस्; त्यसपछि त्यो शुद्ध हुनेछ। 16 तर त्यसले लुगाहरू धोएन र आफ्नो शरीर नुहाएन भने त्यसले आफ्नो अधर्मको फल भोग्नेछ।”