पुरुषमा हुने प्रमेहको अशुद्धता
15
अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: कुनै मानिसलाई आफ्नो शरीरबाट प्रमेह बग्‍ने रोग लागेको छ भने त्यसको प्रमेहको कारणले त्यो अशुद्ध हुन्‍छ। 3 अनि त्यसको धातु-रोगमा त्यसको अशुद्धता यस्तो हुनेछ; त्यसको शरीरबाट त्यसको प्रमेह बगे पनि वा त्यसको शरीरबाट त्यसको प्रमेह बग्‍न बन्द भए पनि यो त्यसको अशुद्धता हो। 4 हरेक ओछ्यान जसमाथि प्रमेही सुत्छ, त्यो अशुद्ध हुन्‍छ; अनि हरेक थोक जसमाथि त्यो बस्छ, त्यो अशुद्ध हुनेछ। 5 हरेक जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 6 अनि जुन थोकमाथि प्रमेही बसेको छ, त्यसमाथि जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 7 अनि जसले प्रमेहीको शरीरलाई छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 8 अनि प्रमेहीले कुनै शुद्ध मानिसमाथि थुक्यो भने त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 9 अनि हरेक काठी, जसमाथि प्रमेही चढ्छ, त्यो अशुद्ध हुनेछ; 10 अनि हरेक जसले त्यसमुनि भएको कुनै थोक छुन्छ, त्यो साँझसम्‍म अशुद्ध हुनेछ; अनि जसले ती कुराहरूमध्ये कुनैलाई बोक्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 11 अनि प्रमेहीले आफ्ना हातहरू पानीले नधोईकन जसकसैलाई छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 12 जुन माटोको भाँड़ा प्रमेहीले छुन्छ, त्यो फुटाइयोस्, अनि काठको हरेक भाँड़ाचाहिँ पानीले धोइयोस्!
13 प्रमेही आफ्नो प्रमेहबाट शुद्ध भएपछि त्यसले आफ्ना निम्ति, आफ्नो शुद्धिका निम्ति सात दिन गन्ती गरोस्, आफ्ना लुगाहरू धोओस् र बगिरहेको पानीमा आफ्नो शरीर नुहाओस्; तब त्यो शुद्ध हुनेछ। 14 अनि आठौं दिनमा त्यसले आफ्ना निम्ति दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्‍चा ल्याओस्, र भेट हुने पालको ढोकामा परमप्रभुको सामु आओस्, अनि ती कुराहरू पूजाहारीलाई देओस्! 15 अनि पूजाहारीले तिनलाई चढ़ाओस् – पापबलिका निम्ति एउटालाई र होमबलिका निम्ति अर्कालाई; अनि पूजाहारीले त्यसको प्रमेहका निम्ति परमप्रभुको सामु त्यसका निम्ति प्रायश्‍चित गरोस्!
16 अनि यदि कुनै पुरुषको वीर्य आफूबाट निस्क्यो भने त्यसले पानीमा आफ्नो सम्पूर्ण शरीर नुहाओस्; अनि त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 17 त्यो वीर्य लागेको हरेक लुगा र हरेक छाला पानीले धोइयोस्, अनि साँझसम्‍म अशुद्ध रहोस्! 18 अनि जुन स्त्रीसँग वीर्य बहेको मानिस सुत्छ, त्‍यो स्‍त्री पनि अशुद्ध हुन्‍छे; ती दुवैले पानीमा नुहाऊन्, र साँझसम्‍म अशुद्ध रहून्!
स्त्रीको बहाउको अशुद्धता
19 अनि कुनै स्त्रीको बहाउ छ भने, अनि त्यसको शरीरमा भएको त्यसको बहाउचाहिँ रगत हो भने त्यो सात दिन अलग रहोस्; हरेक जसले त्यसलाई छुन्छ, त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 20 अनि आफ्नो पर सरेको अवस्थामा जे-जे कुरामा त्यो लेट्छे, त्यो हरेक अशुद्ध हुनेछ; अनि जे-जे कुरामा त्यो बस्छे, त्यो कुरा पनि अशुद्ध हुनेछ। 21 अनि हरेक जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्, अनि साँझसम्‍म अशुद्ध रहोस्! 22 अनि हरेक जसले त्यो बसेको कुनै थोक छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्, अनि साँझसम्‍म अशुद्ध रहोस्! 23 अनि त्यसको ओछ्यानमा वा त्यो बसेकी अरू कुनै थोकमा कुनै चीज छ, जसले त्यो चीज छुन्छ, त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 24 अनि कुनै हालतमा कोही मानिस त्यससँग सुत्यो भने, र त्यसको अशुद्धता त्यसमाथि लाग्यो भने त्यो सात दिनसम्‍म अशुद्ध हुनेछ; अनि हरेक ओछ्यान जसमाथि त्यो मानिस लेट्छ, त्यो अशुद्ध हुनेछ।
25 अनि त्यसको पर सर्ने अवधि नाघेर धेरै दिनसम्‍म त्यसको रगतको बहाउ भइरह्‍यो भने, वा त्यसको पर सरेर रहने समयभन्दा बढ़ी बगिरह्‍यो भने जति दिनसम्‍म त्यसको अशुद्धताको बहाउ रहिरहन्छ, त्यति दिनसम्‍म त्यसको पर सरेको अवधि ठहरियोस्; त्यो अशुद्ध रहोस्! 26 आफ्नो बहाउ भएका सबै दिनहरूमा जुन-जुन ओछ्यानमा त्यो लेट्छे, त्यो हरेक ओछ्यान त्यसका निम्ति त्यसको पर सरेको ओछ्यानजस्तै ठहिरियोस्; अनि जे-जे कुरामा त्यो बस्छे, त्यसको पर सरेको अशुद्धताझैं त्यो हरेक कुराचाहिँ अशुद्ध हुनेछ। 27 अनि हरेक जसले ती कुराहरू छुन्छ, त्यो अशुद्ध हुनेछ; अनि त्यसले आफ्ना लुगाहरू धोओस् र पानीमा नुहाओस्, अनि साँझसम्‍म अशुद्ध रहोस्!
28 तर त्यो आफ्नो बहाउबाट शुद्ध भई भने त्यसले आफ्ना निम्ति सात दिन गन्ती गरोस्, र त्यसपछि त्यो शुद्ध हुन्‍छे। 29 अनि आठौं दिनमा त्यसले आफ्ना निम्ति दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्‍चा लेओस्, र तिनलाई भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्! 30 अनि पूजाहारीले पापबलिका निम्ति एउटालाई र होमबलिका निम्ति अर्कालाई चढ़ाओस्; अनि पूजाहारीले त्यसको अशुद्धताको बहाउका निम्ति परमप्रभुको सामु त्यसका निम्ति प्रायश्‍चित गरोस्!
31 यसरी तिमीहरूले इस्राएलीहरूलाई तिनीहरूको अशुद्धताबाट अलग राख्‍नू, र तिनीहरूको बीचमा भएको मेरो निवासस्थानलाई अशुद्ध पारेर तिनीहरू आफ्नो अशुद्धतामा नमरून्!
32 प्रमेहीका निम्ति व्यवस्था यही हो, साथै त्यस मानिसका निम्ति, जसबाट वीर्य निस्कन्छ र त्यसद्वारा त्यो अशुद्ध हुन्‍छ; 33 अनि त्यस स्त्रीका निम्ति, जसलाई मासिक धर्म लागेर पर सरेकी छ, अनि आफ्नो बहाउ भएको पुरुष र स्त्रीका निम्ति र अशुद्ध भएकी स्त्रीसँग सुत्‍ने मानिसका निम्ति व्यवस्था यही हो।”