कुष्‍ठरोगी निको भएपछि त्यसको शुद्धिकरणको व्यवस्था
14
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “कोरीको शुद्धिको दिनमा त्यसको व्यवस्था यही होस्: त्यो पूजाहारीकहाँ ल्याइयोस्; 3 अनि पूजाहारी छाउनीदेखि बाहिर जाओस्, र पूजाहारीले हेरोस्; अनि हेर, कोरीको कोरको रोग निको भएको छ भने, 4 पूजाहारीले शुद्ध हुने व्यक्तिका निम्ति दुईवटा जिउँदा, शुद्ध चराहरू, देवदारको काठ, सिन्‍दुरे लुगा र हिसप ल्याउनू भनी आज्ञा गरोस्! 5 अनि पूजाहारीले एउटा चरालाई चाहिँ बगिरहेको पानीमाथि एउटा माटोको भाँड़ाभित्र मार्नू भनी आज्ञा देओस्; 6 जिउँदो चराचाहिँ – उसले यसलाई, अनि देवदारको काठ, सिन्‍दुरे लुगा र हिसप लेओस्, र ती कुराहरू र यस जिउँदो चरालाई बगिरहेको पानीमाथि मारेको चराको रगतभित्र चोपलोस्; 7 अनि उसले कोरबाट शुद्ध हुने व्यक्तिमाथि सातपल्‍ट छर्कोस्, र त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस् अनि त्‍यस जिउँदो चरालाई खुला मैदानमा छोड़िदेओस्! 8 अनि त्‍यस शुद्ध हुने व्यक्तिले आफ्ना लुगाहरू धोओस्, आफ्नो सबै रौं खौरोस् र पानीमा नुहाओस्, तब त्यो शुद्ध हुनेछ; अनि त्यसपछि त्यो छाउनीभित्र आओस् र सात दिनसम्‍म आफ्नो पालबाहिरै बसोस्! 9 तर सातौं दिनमा चाहिँ यस्तो होस्: त्यसले आफ्नो टाउकोको सबै केश, आफ्नो दाह्री र आफ्ना आँखीभौंहरू खौरोस्; अँ, आफ्ना सबै रौंहरू त्यसले खौरोस्; अनि त्यसले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्; तब त्यो शुद्ध हुनेछ।
10 अनि आठौं दिनमा त्यसले दुईवटा निष्खोट भेड़ाका पाठाहरू र एक वर्षको एउटा निष्खोट पाठी, अन्‍नबलिका निम्ति एपाको दस भागको तीन भाग तेल मिसाइएको मैदा र एक लोग तेल ल्याओस्! 11 अनि त्‍यस शुद्ध पार्ने पूजाहारीले त्‍यस शुद्ध हुने मानिसलाई यी चीजहरूको साथमा भेट हुने पालको ढोकामा परमप्रभुको सामु हाजिर गराओस्; 12 अनि त्‍यस पूजाहारीले एउटा पाठो लेओस्, र दोषबलिका निम्ति त्यसलाई एक लोग तेलसित चढ़ाओस्, अनि तिनलाई डोलाउने भेटीको रूपमा परमप्रभुको सामु डोलाओस्! 13 अनि पवित्रस्थानमा तिनीहरूले जुन ठाउँमा पापबलि र होमबलि मार्छन्, त्यहीं उसले त्यस पाठालाई मारोस्; किनकि पापबलिजस्तै त्यो दोषबलि पनि पूजाहारीको हुन्‍छ; यो परमपवित्र छ। 14 अनि पूजाहारीले त्यस दोषबलिको रगतबाट केही लेओस्; अनि पूजाहारीले शुद्ध हुने मानिसको दाहिने कानको टुप्पामा, त्यसको दाहिने हातको बूढ़ी औंलामा र त्यसको दाहिने खुट्टाको बूढ़ो औंलामा त्यो लगाओस्! 15 अनि पूजाहारीले त्यो लोग तेलबाट केही लेओस्, र त्यसलाई आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्; 16 अनि पूजाहारी आफ्नो देब्रे हातको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औंला चोपोस् र त्यस तेलबाट केही आफ्नो औंलाले परमप्रभुको सामु सातपल्‍ट छर्कोस्! 17 अनि आफ्नो हातमा भएको बाँकी तेलबाट केही पूजाहारीले शुद्ध हुने मानिसको दाहिने कानको टुप्पामा, त्यसको दाहिने हातको बूढ़ी औंलामा र त्यसको दाहिने खुट्टाको बूढ़ो औंलामा त्यस दोषबलिको रगतमाथि लगाइदेओस्! 18 अनि पूजाहारीको हातमा भएको बाँकी तेल उसले त्यस शुद्ध हुने मानिसको टाउकोमाथि खन्याइदेओस्; अनि पूजाहारीले परमप्रभुको सामु त्यसका निम्ति प्रायश्‍चित गरोस्! 19 अनि त्‍यस पूजाहारीले पापबलि चढ़ाओस्, र त्यसको अशुद्धताबाट शुद्ध हुने मानिसका निम्ति प्रायश्‍चित गरोस्; अनि त्यसपछि त्यसले होमबलिलाई मारोस्! 20 अनि त्‍यस पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमाथि चढ़ाओस्; अनि पूजाहारीले त्यसका निम्ति प्रायश्‍चित गरोस्; तब त्यो शुद्ध हुनेछ।
21 अनि यदि त्यो गरिब छ, र यति जुटाउने औकात छैन भने त्यसले आफ्ना निम्ति प्रायश्‍चित गर्नलाई डोलाउने दोषबलिका निम्ति एउटा भेड़ाको पाठो, अनि अन्‍नबलिका निम्ति एपाको दस भागको एक भाग तेल मिसाइएको मैदा र एक लोग तेल ल्याओस्; 22 साथै त्यसको जुटाउने औकातअनुसार दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्‍चाहरू ल्याओस्; अनि एउटाचाहिँ पापबलिका निम्ति र अर्कोचाहिँ होमबलिका निम्ति होऊन्! 23 अनि आठौं दिनमा त्यसले तिनलाई आफ्नो शुद्धिका निम्ति पूजाहारीकहाँ भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्याओस्! 24 अनि त्‍यस पूजाहारीले त्यो दोषबलिको पाठो र एक लोग तेल लेओस्; अनि त्‍यस पूजाहारीले तिनलाई डोलाउने भेटीको रूपमा परमप्रभुको सामु डोलाओस्! 25 अनि त्यसले दोषबलिको पाठोलाई मारोस्, अनि पूजाहारीले दोषबलिको रगतबाट केही लेओस्, र शुद्ध हुने मानिसको दाहिने कानको टुप्पामा, त्यसका दाहिने हातको बूढ़ी औंलामा र त्यसको दाहिने खुट्टाको बूढ़ी औंलामा लगाओस्! 26 अनि पूजाहारीले त्यस तेलबाट केही आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्! 27 अनि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा भएको तेलबाट केही आफ्नो दाहिने हातको औंलाले परमप्रभुको सामु सातपल्‍ट छर्कोस्! 28 अनि पूजाहारीले आफ्नो हातमा भएको तेलबाट केही त्यस शुद्ध हुने मानिसको दाहिने कानको टुप्पामा, त्यसको दाहिने हातको बूढ़ी औंलामा र त्यसको दाहिने खुट्टाको बूढ़ी औंलामा त्यस दोषबलिको रगतमाथि लगाइदेओस्! 29 अनि त्‍यस पूजाहारीको हातमा भएको बाँकी तेल उसले परमप्रभुको सामु त्यस शुद्ध हुने मानिसका निम्ति प्रायश्‍चित गर्नलाई त्यसको टाउकोमाथि खन्याइदेओस्! 30 अनि त्यसले आफ्नो जुटाउने औकातअनुसार यी ढुकुरहरूमध्ये वा यी परेवाका बच्‍चाहरूमध्ये एउटालाई चढ़ाओस्! 31 अँ, त्यसले आफूले जुटाउन सक्ने त्यो चीज अर्थात् पापबलिका निम्ति एउटालाई र होमबलिका निम्ति अर्कालाई अन्‍नबलिसित चढ़ाओस्; अनि त्‍यस पूजाहारीले परमप्रभुको सामु त्यस शुद्ध हुने मानिसका निम्ति प्रायश्‍चित गरोस्!
32 जसलाई कोरको रोग लागेको छ, र जससँग आफ्नो शुद्धिका निम्ति चाहिने चीज जुटाउने औकात छैन, त्यस मानिसका निम्ति व्यवस्था यही हो।”
कसैको घरमा लागेको ‘कोर’ को रोग
33 अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो: 34 “जब तिमीहरू कनान देशभित्र आउँछौ, जुन देशचाहिँ म तिमीहरूलाई अधिकारको भागको रूपमा दिन्छु, तब तिमीहरूको अधिकारमा आएको देशको कुनै घरमा मैले कोरको रोग पठाएँ भने, 35 त्यस घरको धनी आओस् र यसो भन्दै पूजाहारीलाई त्यसको जानकारी देओस्: ‘मेरो घरमा कुनै रोग भएजस्तो मलाई लाग्छ।’ 36 तब त्यस घरभित्र भएका सब थोकहरू अशुद्ध नहोऊन् भन्‍ने उद्देश्यले यो रोग हेर्ने पूजाहारीले आफू भित्र जानुभन्दा पहिल्यै तिनीहरूले घर खाली गरून् भनी आज्ञा देओस्; अनि त्यसपछि पूजाहारी त्यो घर हेर्न भित्र जाओस्! 37 अनि उसले यो रोग हेरोस्; अनि हेर, यो रोग घरका भित्ताहरूमा हरिया-हरिया वा राता-राता भासिएका धर्काहरू छन्, जो भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने, 38 पूजाहारी त्यस घरबाट निस्केर त्यस घरको ढोकामा जाओस्, र त्यस घरलाई सात दिनसम्‍म बन्द राखोस्! 39 अनि सातौं दिनमा पूजाहारी फेरि आएर हेरोस्; अनि हेर, यो रोग घरका भित्ताहरूमा फैलिएको छ; 40 तब पूजाहारीले आज्ञा देओस्, र तिनीहरूले जुन ढुङ्गाहरूमा यो रोग छ, तिनलाई निकालून् र तिनलाई शहरदेखि बाहिर कुनै अशुद्ध ठाउँमा फालून्! 41 अनि उसले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाओस्; अनि तिनीहरूले आफूले खुर्केको माटो शहरदेखि बाहिर कुनै अशुद्ध ठाउँमा फालिदिऊन्! 42 अनि तिनीहरूले अरू ढुङ्गाहरू लिऊन्, र ती ढुङ्गाहरूको ठाउँमा हालिदिऊन्, अनि त्यसले अर्को लिउन ल्याएर घर लिपोस्!
43 अनि त्यसले ती ढुङ्गाहरू निकालेपछि, त्यो घर खुर्केपछि र त्यसलाई लिपेपछि पनि त्यस घरमा यो रोग फेरि निस्क्यो भने, 44 पूजाहारी आएर हेरोस्; अनि हेर, त्यस घरमा यो रोग फैलिएको छ भने त्यस घरमा यो घातक कोर छ; त्यो अशुद्ध छ। 45 अनि त्यसले त्यो घर – त्यसका ढुङ्गाहरू, त्यसका काठहरू र त्यस घरको सबै लिउन भत्काओस्, र तिनलाई शहरबाहिर एउटा अशुद्ध ठाउँमा लैजाओस्! 46 साथै त्यो घर बन्द राखिएका सबै दिनहरूमा जो त्यस घरभित्र पस्छ, त्यो साँझसम्‍म अशुद्ध हुनेछ। 47 अनि जो त्यस घरभित्र सुत्छ, त्यसले आफ्ना लुगाहरू धोओस्; अनि जसले त्यस घरभित्र खान्छ, त्यसले आफ्ना लुगाहरू धोओस्!
48 अनि पूजाहारीले भित्र पसेर त्यसलाई हेर्छ; अनि हेर, त्यो घर लिपेपछि त्यस घरभित्र यो रोग फैलिएको छैन भने पूजाहारीले त्यस घरलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; किनकि यो रोग निको भएको छ। 49 अनि त्यसले त्यो घर शुद्ध पार्नलाई दुईवटा चरा, देवदारको काठ, सिन्‍दुरे लुगा र हिसप ल्याओस्! 50 अनि त्यसले बगिरहेको पानीमाथि एउटा माटोको भाँड़ामा ती चराहरूमध्ये एउटालाई मारोस्! 51 अनि उसले देवदारको काठ, हिसप, सिन्‍दुरे लुगा र जिउँदो चरा लिएर मारिएको चराको रगतमा र बगिरहेको पानीमा चोपलोस् र त्यस घरमाथि सातपल्‍ट छर्कोस्! 52 अनि उसले त्यस घरलाई चराको रगतले, बगिरहेको पानीले, जिउँदो चरा, देवदारको काठ, हिसप र सिन्‍दुरे लुगाले शुद्ध पारोस्! 53 अनि त्यो जिउँदो चरा उसले शहरदेखि बाहिर खुला मैदानमा छोड़िदेओस्, र त्यस घरका निम्ति प्रायश्‍चित गरोस्; तब त्यो शुद्ध हुनेछ।
54 सब प्रकारको कोरको रोगका निम्ति, र कत्लाका निम्ति व्यवस्था यही हो; 55 साथै लुगा र घरको कोरका निम्ति, 56 अनि सुजन, खाटा र उज्ज्वल दागका निम्ति; 57 कहिले यो अशुद्ध हुन्‍छ र कहिले यो शुद्ध हुन्‍छ भनी सिकाउनालाई कोरको व्यवस्था यही हो।”