कुष्‍ठरोगको सम्बन्धमा नियमहरू
13
अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो: 2 “जब कुनै मानिसको शरीरको छालामा सुजन, खाटा वा उज्ज्वल दाग छ, र त्यसको शरीरको छालामा कोरको रोग लाग्छ, तब त्यो पूजाहारी हारूनकहाँ वा उसका छोराहरू अर्थात् पूजाहारीहरूमध्ये एकजनाकहाँ ल्याइयोस्! 3 अनि यस पूजाहारीले त्यस शरीरको छालामा भएको रोग हेरोस्; अनि रोग लागेको ठाउँको रौं सेतो भएको छ भने, र रोग त्यसको शरीरको छालाभन्दा गहिरो देखा पर्छ भने त्यो कोरको रोग हो; अनि यस पूजाहारीले त्यसलाई जाँचोस् र त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्! 4 अनि त्यसको शरीरको छालामा त्यो उज्ज्वल दाग सेतो छ, तर त्यो छालाभन्दा गहिरो देखा पर्दैन र त्यसको रौं सेतो भएको छैन भने पूजाहारीले त्यस रोग लागेकोलाई सात दिनसम्‍म बन्द गरेर राखोस्! 5 अनि सातौं दिनमा पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, उसको दृष्‍टिमा त्यो रोग जहींको तहीं रहेको छ, र त्यो रोग छालामा फैलिएको छैन भने पूजाहारीले त्यसलाई फेरि सात दिन बन्द गरेर राखोस्! 6 अनि सातौं दिनमा पूजाहारीले त्यसलाई फेरि हेरोस्; अनि हेर, त्यो रोग केही धमिलो भएको छ, र त्यो रोग छालामा फैलिएको छैन भने पूजाहारीले त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; त्यो खाटा मात्र हो; अनि त्यसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ। 7 तर आफ्नो शुद्धिका निम्ति त्यसले आफूलाई पूजाहारीकहाँ देखाएपछि यदि त्यो खाटा छालामा निक्‍कै फैलिएर गयो भने त्यो फेरि पूजाहारीद्वारा हेरियोस्! 8 अनि पूजाहारीले हेरोस्; अनि हेर, त्यो खाटा छालामा फैलिएको छ भने पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्! यो कोर हो।
9 कुनै मानिसलाई कोरको रोग लागेको छ भने त्यो पूजाहारीकहाँ ल्याइयोस्! 10 अनि पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, छालामा सुनिएको भाग सेतो भएको छ भने, अनि यसले रौं सेतो पारेको छ, र सुनिएको भागमा आलो मासु छ भने, 11 योचाहिँ त्यसको शरीरको छालामा पुरानो कोर हो; अनि पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्, र त्यसलाई बन्द गरेर नराखोस्; किनकि त्यो अशुद्ध हो। 12 अनि छालामा कोर खूबै फैलिएर गयो र त्यस रोग लागेको मानिसको सम्पूर्ण छालामा त्यसको टाउकोदेखि त्यसको पाउसम्मै पूजाहारीले जता हेर्छ, त्यतै कोरले ढाकेको छ भने, 13 पूजाहारीले ध्यान लगाएर हेरोस्; अनि हेर, कोरले त्यसको सारा शरीरलाई ढाकेको छ भने उसले त्यस रोगीलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; सबै सेतो भएको छ; त्यो शुद्ध छ। 14 तर जब त्यसमा आलो मासु देखा पर्छ, तब त्यो अशुद्ध ठहरियोस्! 15 अनि पूजाहारीले यो आलो मासु हेरोस्, र त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्; किनकि आलो मासु अशुद्ध हो; यो कोर हो। 16 अथवा यदि यो आलो मासु बदलियो, र सेतो भयो भने त्यो मानिस पूजाहारीकहाँ आओस्; 17 अनि पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, यो रोग सेतो भएको छ भने पूजाहारीले त्यस रोग लागेको मानिसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; त्यो शुद्ध छ।
18 अनि कुनै शरीरमा अर्थात् त्यसको छालामा कुनै पिलो निस्क्यो, र यो निको भयो, 19 अनि त्यो पिलो भएको ठाउँमा एउटा सेतो सुनिएको भाग अथवा केही सेतो-केही रातो भएको उज्ज्वल दाग देखा पर्‍यो भने त्यो पूजाहारीलाई देखाइयोस्! 20 अनि जब पूजाहारीले त्यसलाई हेर्छ; अनि हेर, त्यो छालाभन्दा गहिरो देखा पर्‍यो, र त्यसका रौं सेता भए भने पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरिदेओस्; त्यो पिलोबाट निस्केको कोरको रोग हो। 21 तर पूजाहारीले त्यसलाई हेर्छ; अनि हेर, त्यसमा सेता रौं छैनन्, र त्यो छालाभन्दा गहिरो पनि गएको छैन, तर त्यसको रङ्ग केही धमिलो भएको छ भने पूजाहारीले त्यसलाई सात दिनसम्‍म बन्द गरेर राखोस्! 22 अनि छालामा त्यो खूबै फैलिएर गयो भने पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्! त्यो रोग हो। 23 तर त्यो उज्ज्वल दाग जहींको तहीं रहेको छ र फैलिएको छैन भने त्यो पोल्ने पिलो हो; अनि पूजाहारीले त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्!
24 अथवा कुनै शरीरमा अर्थात् त्यसको छालामा साह्रै पोल्ने भयो, र पोल्ने आलो मासुमा केही सेतो-केही रातो भएको वा सेतो भएको उज्ज्वल दाग छ भने, 25 पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, त्यस उज्ज्वल दागका रौं सेता भए, र त्यो छालाभन्दा गहिरो देखा पर्‍यो भने त्यो पोल्ने घाउबाट निस्केर आएको कोर हो; यसकारण पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्; यो कोरको रोग हो। 26 तर पूजाहारीले यसलाई हेर्छ; अनि हेर, यस उज्ज्वल दागमा सेता रौं छैनन्, र त्यो छालाभन्दा गहिरो पनि गएको छैन, तर त्यसको रङ्ग केही धमिलो भएको छ भने पूजाहारीले त्यसलाई सात दिनसम्‍म बन्द गरेर राखोस्! 27 अनि सातौं दिनमा पूजाहारीले त्यसलाई हेरोस्; अनि छालामा त्यो खूबै फैलिएको छ भने पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरोस्; यो कोरको रोग हो। 28 तर त्यो उज्ज्वल दाग जहींको तहीं रह्‍यो, र छालामा फैलिएन, तर त्यसको रङ्ग केही धमिलो भएको छ भने त्यो पोल्ने घाउको सुनिएको भाग हो; अनि पूजाहारीले त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; किनकि यो पोल्ने घाउको पोलाइ हो।
29 कुनै पुरुष वा स्त्रीको टाउकोमा वा दाह्रीमा रोग आएको छ भने, 30 पूजाहारीले यो रोग हेरोस्; अनि हेर, यो छालाभन्दा गहिरो देखा पर्छ भने, र यसमा पहेंला मसिना रौंहरू छन् भने पूजाहारीले त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गरिदेओस्; यो पाप्रे चाया हो अर्थात् टाउकोमा वा दाह्रीमा लागेको कोर हो। 31 अनि पूजाहारीले यो पाप्रे चाया रोग हेर्छ; अनि हेर, यो छालाभन्दा गहिरो देखा पर्दैन भने, र यसमा काला रौंहरू छैनन् भने पूजाहारीले यस पाप्रे चायाको रोग लागेको मानिसलाई सात दिनसम्‍म बन्द गरेर राखोस्! 32 अनि सातौं दिनमा पूजाहारीले यो रोग हेरोस्; अनि हेर, यो पाप्रा फैलिएको छैन, र यसमा पहेंला रौंहरू छैनन्, अनि यो पाप्रा छालाभन्दा गहिरो पनि देखा पर्दैन भने, 33 त्यसले आफूलाई खौरोस्, तर यो पाप्राचाहिँ त्यसले नखौरोस्; अनि पूजाहारीले यस पाप्रा हुनेलाई फेरि सात दिन बन्द गरेर राखोस्! 34 अनि सातौं दिनमा पूजाहारीले यो पाप्रा हेरोस्; अनि हेर, छालामा यो पाप्रा फैलिएको छैन, र यो छालाभन्दा गहिरो देखा पर्दैन भने पूजाहारीले त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्; अनि त्यसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ। 35 तर त्यसको शुद्धि भएपछि छालामा यो पाप्रा खूबै फैलियो भने, 36 पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, छालामा यो पाप्रा फैलिएको छ भने पूजाहारीले पहेंला रौंहरूको खोजी नगरोस्; त्यो अशुद्ध हो। 37 तर उसको दृष्‍टिमा यो पाप्रा जहींको तहीं रहेको छ, र यसमा काला रौंहरू उम्रेका छन् भने यो पाप्रा निको भएको छ, र त्यो शुद्ध छ; अनि पूजाहारीले त्यसलाई ‘शुद्ध’ भनी घोषणा गरोस्!
38 अनि कुनै पुरुष वा स्त्रीको शरीरको छालामा उज्ज्वल दागहरू अँ, सेता-सेता उज्ज्वल दागहरू छन् भने, 39 पूजाहारीले हेरोस्; अनि हेर, तिनीहरूको शरीरको छालामा यी उज्ज्वल दागहरू धमिला सेता छन्; यो छालामा निस्केको धमिलो दाग मात्र हो; त्यो शुद्ध छ।
40 अनि जुन मानिसको टाउकोका केशहरू झरेका छन्, त्यो खुइले हो; त्यो शुद्ध छ। 41 अनि जसको टाउकोको अनुहारपट्टिको भागबाट केशहरू झरेका छन्, त्यो निधारखुइले हो; त्यो शुद्ध छ। 42 अनि खुइलेको टाउकोमा वा खुइलेको निधारमा केही सेतो-केही रातो भएको घाउ उछ्र्यो भने यो त्यसको खुइलेको टाउकोमा वा त्यसको खुइलेको निधारमा उछ्रेको कोर हो। 43 तब पूजाहारीले त्यसलाई हेरोस्; अनि हेर, जसरी शरीरको छालामा कोर देखा पर्छ, त्यसरी नै त्यसको खुइलेको टाउकोमा वा त्यसको खुइलेको निधारमा यस घाउको सुनिएको भाग केही सेतो-केही रातो भएको छ भने, 44 त्यो कोर लागेको मानिस हो; त्यो अशुद्ध छ। पूजाहारीले त्यसलाई ‘अग्घोरै अशुद्ध’ भनी घोषणा गरिदेओस्; त्यसको टाउकोमा त्यसको रोग छ।
45 अनि त्यो कोरी जसमा यो रोग छ, त्यसका लुगाहरू च्यातिऊन्, र त्यसको टाउको नाङ्गो रहोस्, अनि त्यसले आफ्नो माथिल्‍लो ओठ ढाकोस्, र ‘अशुद्ध! अशुद्ध!’ भन्दै कराओस्! 46 जति दिनसम्‍म यो रोग त्यसमा रहन्छ, त्यति नै दिनसम्‍म त्यो अशुद्ध हुनेछ; त्यो अशुद्ध छ; त्यो एकलै बसोस्; त्यसको वासस्थान छाउनीदेखि बाहिर होस्!
47 अनि जुन लुगामा कोरको रोग छ, चाहे त्यो ऊनी कपड़ा होस्, चाहे सुती कपड़ा होस्, 48 चाहे त्यो तनौटोमा होस्, वा बुनौटोमा होस्, चाहे त्यो सुती होस्, वा ऊनी होस्; चाहे त्यो छालामा, वा छालाबाट बनेको कुनै चीजमा होस्; 49 अनि लुगामा वा छालामा, तनौटोमा, बुनौटोमा वा छालाबाट बनेको कुनै चीजमा रोग हरियो-हरियो वा रातो-रातो छ भने त्यो कोरको रोग हो, र पूजाहारीलाई देखाइयोस्! 50 अनि पूजाहारीले त्यो रोग हेरोस्, र त्यो रोग लागेको चीज सात दिन बन्द गरेर राखोस्! 51 अनि सातौं दिनमा उसले त्यो रोग हेरोस्; त्यो रोग लुगाको तनौटोमा होस् वा बुनौटोमा, छालामा होस् वा छालाबाट बनेको कुनै चीजमा फैलिएको छ भने त्यो रोग घातक कोर हो; त्यो अशुद्ध छ। 52 यसकारण चाहे त्यो रोग तनौटोमा होस्, वा बुनौटोमा होस्, ऊनी कपड़ामा होस्, वा सुती कपड़ामा होस्, वा छालाको कुनै चीजमै होस्, त्यसले त्यो लुगा जलाइदेओस्; किनकि त्यो घातक कोर हो; त्यो आगोमा जलाइयोस्! 53 अनि पूजाहारीले हेर्छ; अनि हेर, त्यो रोग लुगाको तनौटोमा, वा बुनौटोमा, वा छालाको कुनै चीजमा फैलिएको छैन भने, 54 तिनीहरूले त्यो रोग लागेको चीज धुनू भनी पूजाहारीले आज्ञा देओस्; अनि उसले त्यसलाई फेरि सात दिन बन्द गरेर राखोस्; 55 अनि त्यो धोइएपछि पूजाहारीले त्यो रोग हेरोस्; अनि हेर, त्यस रोगले आफ्नो रङ्ग बदली गरेको छैन, र त्यो रोग फैलिएको छैन भने त्यो अशुद्ध छ; तिमीले त्यसलाई आगोमा जलाइदिनू; कि ता त्यसको भित्रपट्टि कि ता त्यसको बाहिरपट्टि त्यो खाइएको छ। 56 अनि पूजाहारीले हेर्छ; अनि हेर, त्यसलाई धोएपछि त्यो रोग केही धमिलो भएको छ भने त्यसले लुगा, छाला, तनौटो वा बुनौटोबाट त्यो भाग च्यातेर फालोस्! 57 अनि त्यो अझै पनि लुगामा, तनौटोमा वा बनौटोमा, वा छालाको कुनै चीजमा देखा पर्छ भने त्यो फैलिने रोग हो; तिमीले जुन चीजमा त्यो रोग छ, त्यसलाई आगोमा जलाइदिनू! 58 तर त्यो लुगा चाहे तनौटो, बनौटो वा छालाको कुनै पनि चीज होस्, जसलाई जब तिमीले धुन्छौ, तब ती कुराहरूबाट त्यो रोग हटेर गयो भने त्यो फेरि दोस्रोपल्ट धोइयोस् र शुद्ध हुनेछ।
59 ऊनी वा सुती कपड़ामा भएको कोरको रोगको विषयमा चाहे त्यो तनौटोमा होस्, वा बनौटोमा होस्, वा छालाको कुनै चीजमा होस्, त्यसलाई ‘शुद्ध’ भनी घोषणा गर्ने वा त्यसलाई ‘अशुद्ध’ भनी घोषणा गर्ने व्यवस्था यही हो।”