शुद्ध र अशुद्ध पशुहरू
11
अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूलाई यसो भन: पृथ्वीमाथि भएका सबै पशुहरूमध्ये यी जनावरहरूचाहिँ तिमीहरूले खानुहुन्‍छ: 3 पशुहरूमध्ये जतिको खुर फारिएको छ, चिरिएको खुट्टा हुन्‍छ, र जतिले उग्राउँछ, त्यो तिमीहरूले खानू! 4 तापनि उग्राउनेहरू र खुर फारिएकाहरूमध्ये यिनीहरूलाई चाहिँ तिमीहरूले खानुहुँदैन: ऊँट; किनकि त्यसले उग्राउँछ, तर खुर फारिएको छैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 5 अनि शापान; किनकि त्यसले उग्राउँछ, तर खुर फारिएको छैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 6 अनि खरायो; किनकि त्यसले उग्राउँछ, तर खुर फारिएको छैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 7 अनि सुँगुर; किनभने त्यसको खुर फारिएको र खुट्टा चिरिएको छ, तर त्यसले उग्राउँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 8 तिनीहरूका मासुबाट तिमीहरूले केही खानुहुँदैन, र तिनीहरूको सिनु तिमीहरूले छुनुहुँदैन; ती तिमीहरूका निम्ति अशुद्ध छन्।
9 पानीमा भएका सबै जन्तुहरूमध्ये यिनीहरूलाई तिमीहरूले खानू: पानीमा, समुद्रमा र नदीहरूमा सबै, जसका पखेटा र कत्लाहरू छन्, तिनलाई तिमीहरूले खानू! 10 पानीमा चल्नेहरूमध्ये सबै र पानीमा भएका जिउँदा प्राणीहरूमध्ये सबै अर्थात् समुद्र र नदीहरूमा जस-जसका पखेटा र कत्लाहरू छैनन्, ती तिमीहरूका निम्ति घृणित वस्तु ठहरिऊन्! 11 ती तिमीहरूका निम्ति घृणित वस्तु नै ठहरिऊन्; तिनीहरूका मासुबाट तिमीहरूले केही नखानू, तर तिमीहरूले तिनीहरूको सिनुलाई घृणित वस्तु ठान्‍नू! 12 पानीहरूमा पखेटा र कत्लाहरू नभएको हरेक तिमीहरूका निम्ति घृणित वस्तु ठहरिओस्!
13 अनि पक्षीहरूमध्ये यिनीहरूलाई तिमीहरूले घृणित ठान्‍नू; ती नखाइऊन्; ती घृणित वस्तु हुन्: गरुड़, हाड़फोड़ा र भुँड़ीफोर; 14 अनि चील र सबै किसिमका बेसाराहरू; 15 सबै किसिमका कागहरू; 16 अनि सुतुरमुर्ग, हुचील, पानी-कुखुरा र सबै किसिमका बाजहरू; 17 अनि लाटोकोसेरो, हाड़गील र भुल्का; 18 अनि राजहाँस, धनेस र सिनु खाने गिद्ध; 19 अनि सारस, सबै किसिमका बकुल्‍लाहरू, साथै फाप्रे-चरो र चमेरा।
20 सबै चार खुट्टाले चल्ने र उड़्ने कीराफट्याङ्ग्राहरू तिमीहरूका निम्ति घृणित ठहरिऊन्! 21 तापनि सबै चार खुट्टाले चल्ने र उड़्ने कीराफट्याङ्ग्राहरूमध्ये जसका पाउदेखि माथि जोर्नी भएका खुट्टाहरू हुन्‍छन्, जससित तिनीहरूले पृथ्वीमाथि उफ्रन्छन्, यिनलाई तिमीहरूले खान सक्छौ; 22 अर्थात् तीमध्ये यिनलाई तिमीहरूले खान सक्छौ: सबै किसिमका बगाले-सलहहरू, सबै किसिमका खुइले-सलहहरू, सबै किसिमका उफ्रने सलहहरू र अरू सबै किसिमका सलहहरू। 23 तर अरू सबै उड़्ने कीराहरू, जसका चार खुट्टा हुन्‍छन्, ती तिमीहरूका निम्ति घृणित वस्तु ठहरिऊन्! 24 अनि यिनीहरूको कारणले तिमीहरू अशुद्ध हुनेछौ; हरेक जसले तिनीहरूको सिनु छुन्छ, त्यो साँझसम्‍म अशुद्ध रहनेछ। 25 अनि हरेक जसले तिनीहरूको सिनुको कुनै भाग उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्, र साँझसम्‍म अशुद्ध रहोस्!
26 हरेक पशुको सिनु, जसको खुर फारिएको हुन्‍छ, तर खुट्टा चिरिएको हुँदैन, न ता उग्राउँछ, त्यो तिमीहरूका निम्ति अशुद्ध छ; तिनलाई छुने हरेक अशुद्ध हुनेछ। 27 अनि चार खुट्टाले हिँड़्‍ने सबै किसिमका पशुहरूमध्ये जो आफ्ना पन्जाले टेकेर हिँड़्छन्, ती सबै तिमीहरूका निम्ति अशुद्ध छन्; हरेक जसले तिनीहरूको सिनु छुन्छ, त्यो साँझसम्‍म अशुद्ध रहनेछ। 28 अनि जसले तिनीहरूको सिनु उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्, र साँझसम्‍म अशुद्ध रहोस्! ती तिमीहरूका निम्ति अशुद्ध छन्।
29 अनि पृथ्वीमाथि घस्रेर हिँड़्‍ने जन्तुहरूमध्ये यी पनि तिमीहरूका निम्ति अशुद्ध ठहरिऊन्: छुचुन्द्रो, मुसा र सबै किसिमका छेपाराहरू; 30 अनि माउसुली, गोहोरो, भानेमुङ्‌रो, चिप्ले कीरो र बहुरूपी छेपारो। 31 सबै घस्रनेहरूमध्ये यी तिमीहरूका निम्ति अशुद्ध छन्; हरेक जसले ती मरेपछि तिनलाई छुन्छ, त्यो साँझसम्‍म अशुद्ध रहनेछ। 32 अनि ती मरेपछि तीमध्ये कुनै एउटा कुनै पनि चीजमाथि खस्यो भने त्यो अशुद्ध हुनेछ; चाहे त्यो काठको भाँड़ा होस् अथवा लुगा, छाला, बोरा वा काममा लगाइने कुनै भाँड़ा होस्, त्यो पानीभित्र हालिनुपर्छ, र त्यो साँझसम्‍म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ। 33 अनि तीमध्ये कुनै माटोको कुनै भाँड़ाभित्र खस्यो भने त्यसभित्र जे छ, त्यो अशुद्ध हुनेछ; अनि त्यसलाई तिमीहरूले फोरिदिनू! 34 खानु हुने सबै किसिमका खानेकुरामध्ये कुनैमा त्यस्तो पानी पर्‍यो भने त्यो अशुद्ध हुनेछ; त्यस्तो कुनै भाँड़ामा भएको पिउनु हुने सबै किसिमको पिउने कुरा अशुद्ध हुनेछ। 35 अनि कुनै पनि चीजमा तिनीहरूको सिनुको कुनै भाग खस्यो भने त्यस्तो हरेक चीज अशुद्ध हुनेछ, चाहे त्यो तन्दुर होस्, चाहे चुला, ती भत्काइऊन्; किनकि ती अशुद्ध छन्, र तिमीहरूका निम्ति अशुद्ध ठहरिऊन्! 36 तापनि धारा वा इनारचाहिँ, जहाँ प्रशस्त पानी छ, त्यो शुद्ध रहनेछ; तर जेले तिनीहरूको सिनु छुन्छ, त्यो अशुद्ध हुनेछ। 37 अनि तिनीहरूको सिनुको कुनै भाग छरिनुपर्ने कुनै बीउमाथि खस्यो भने त्योचाहिँ शुद्धै रहनेछ। 38 तर त्यस बीउमाथि पानी हालिएको छ भने, र तिनीहरूको सिनुको कुनै भाग त्यसमाथि खस्यो भने त्यो तिमीहरूका निम्ति अशुद्ध हुनेछ। 39 तिमीहरूका निम्ति भोजन हुने पशुहरूमध्ये कुनै मर्‍यो भने जसले त्यसको सिनु छुन्छ, त्यो साँझसम्‍म अशुद्ध रहनेछ। 40 अनि जसले त्यस सिनुबाट केही खान्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र साँझसम्‍म अशुद्ध रहोस्; अनि जसले त्यसको सिनु बोक्छ, त्यसले पनि आफ्ना लुगाहरू धोओस्, र साँझसम्‍म अशुद्ध रहोस्!
41 अनि पृथ्वीमाथि घस्रेर हिँड़्‍ने हरेक घस्रने जन्तु घृणित वस्तु ठहरियोस्; त्यो नखाइयोस्! 42 पृथ्वीमाथि घस्रेर हिँड़्‍ने सबै घस्रने जन्तुहरूमध्ये जति पेटले सुल्किन्छन्, जति चार खुट्टाले हिँड्छन् र जतिका खुट्टाहरू धेरै हुन्‍छन्, तिनीहरूलाई तिमीहरूले खानुहुँदैन; किनकि ती घृणित वस्तु हुन्। 43 घस्रेर हिँड़्‍ने कुनै पनि घस्रने जन्तुद्वारा तिमीहरूले आफूलाई घृणित नतुल्याउनू, न ता तीद्वारा आफूलाई अशुद्ध पार्नू, जसद्वारा तिमीहरू अशुद्ध हुन्छौ! 44 किनकि म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ; यसैकारण तिमीहरूले आफूलाई पवित्र तुल्याओ, र तिमीहरू पवित्र होओ; किनकि म पवित्र छु; न ता तिमीहरूले पृथ्वीमाथि घस्रेर हिँड़्‍ने कुनै घस्रने जन्तुद्वारा आफूलाई अशुद्ध तुल्याओ! 45 किनकि म नै परमप्रभु हुँ; मैले तिमीहरूलाई तिमीहरूको परमेश्‍वर हुनका निम्ति मिस्र देशबाट निकालेर ल्याएँ; यसैकारण तिमीहरू पवित्र होओ; किनकि म पवित्र छु।
46 पशुहरू, पक्षीहरू, पानीमा चल्ने सबै जीवजन्तुहरू र पृथ्वीमाथि घस्रने सबै जन्तुहरूको सम्बन्धमा व्यवस्था यही हो – 47 अशुद्ध र शुद्ध, खानु हुने र खानु नहुने पशुको बीचमा भिन्‍नता राख्‍नलाई।”