नादाब र अबिहूको मृत्यु
10
अनि हारूनका छोराहरू नादाब र अबिहू हरेकले आ-आफ्नो धूपौरो लिए, तिनमा आगो हाले र त्यसमाथि धूप राखे, अनि परमप्रभुको सामु बिरानो आगो चढ़ाए, जसको आज्ञा परमप्रभुले उनीहरूलाई गर्नुभकै थिएन। 2 अनि परमप्रभुको सामुबाट आगो निस्क्यो, र त्‍यसले उनीहरूलाई भस्म पार्‍यो; अनि उनीहरू परमप्रभुको सामु मरे। 3 तब मोशाले हारूनलाई भने: “ ‘मेरो नजिक आउनेहरूमा म पवित्र मानिनेछु, र सबै मानिसहरूको सामु म महिमित हुनेछु’ भनी परमप्रभुले भन्‍नुभएको कुरा यही हो”; अनि हारून चुपचाप बसे। 4 अनि मोशाले हारूनका काका उज्जिएलका छोराहरू मिशाएल र एल-सापानलाई बोलाए, र तिनीहरूलाई भने: “नजिक आओ! आफ्ना भाइहरूलाई पवित्रस्थानको सामुबाट छाउनीबाहिर बोकेर लैजाओ!” 5 अनि तिनीहरू नजिक आए, र मोशाले भनेअनुसार उनीहरूलाई उनीहरूले लाएका लबेदाहरूसितै छाउनीदेखि बाहिर बोकेर लगे। 6 अनि मोशाले हारूनलाई र तिनका छोराहरू एलाजार र इतामारलाई भने: “आफ्ना शिरहरू नाङ्गा नपार, र आफ्ना वस्त्रहरू नच्यात; नत्र तिमीहरू मर्नेछौ, र उहाँ सारा समुदायसित क्रोधित हुनुहुनेछ; तर तिमीहरूका भाइबन्धुहरूले, अर्थात् इस्राएलको सारा घरानाले परमप्रभुले जलाउनुभएको आगोका निम्ति विलाप गरून्! 7 तर तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजाओ, नत्र तिमीहरू मर्नेछौ; किनकि परमप्रभुको अभिषेकको तेल तिमीहरूमाथि छ।” अनि उनीहरूले मोशाको वचनअनुसार गरे।
पूजाहारीहरूका निम्ति हुने एक विधि
8 अनि परमप्रभुले हारूनलाई यसो भन्‍नुभयो: 9 “जब तिमीहरू भेट हुने पालभित्र जान्छौ, तब तिमीले र तिमीसित तिम्रा छोराहरूले दाखमद्य र मदिरा नपिउनू; नत्र तिमीहरू मर्नेछौ; तिमीहरूका पुस्तौंपुस्तामा योचाहिँ सदा रहिरहने विधि ठहरियोस्; 10 फलस्वरूप तिमीहरूले पवित्र र अपवित्र, शुद्ध र अशुद्धको बीचमा भिन्‍नता राख्‍न सक; 11 र तिमीहरूले इस्राएलीहरूलाई यी सबै विधिहरू सिकाउन सक, जुन विधिहरू परमप्रभुले मोशाद्वारा तिनीहरूलाई भन्‍नुभएको छ।”
12 अनि मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र इतामारलाई भने: “आगोले चढ़ाइने परमप्रभुका बलिहरूको बाँकी रहेको अन्‍नबलि लेओ र यसलाई वेदीको छेउमा खमिरविना खाओ; किनकि यो परमपवित्र छ! 13 अनि तिमीहरूले यसलाई पवित्र ठाउँमा खाओ; किनकि आगोले चढ़ाइएका परमप्रभुका बलिहरूबाट यो तिम्रो भाग र तिम्रा छोराहरूको भाग हो; किनभने मलाई यस्तै आज्ञा भएको छ। 14 अनि डोलाउने भेटीको छाती र उचाल्ने भेटीको फिलाचाहिँ तिमीहरूले शुद्ध ठाउँमा खानू – तिमीले, र तिम्रो साथमा तिम्रा छोराहरू र तिम्रा छोरीहरूले; किनकि यी कुराहरू इस्राएलीहरूका मेलबलिहरूबाट दिइएको तिम्रो भाग र तिम्रा छोराहरूको भाग हुन्। 15 परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाउनलाई बोसोरूपी आगोले चढ़ाइने बलिहरूको साथमा तिनीहरूले उचाल्ने भेटीको फिला र डोलाउने भेटीको छाती ल्याऊन्; अनि सदा रहिरहने विधिअनुसार यी कुराहरू तिम्रा र तिम्रो साथमा तिम्रा छोराहरूका होऊन्, जस्तो परमप्रभुले आज्ञा गर्नुभएको छ।”
16 अनि मोशाले यत्‍नपूर्वक पापबलिको बोका खोजे; अनि हेर, त्यो त जलाइसकेको रहेछ! अनि यसो भन्दै उनी हारूनका बाँकी छोराहरू एलाजार र इतामारसँग रिसाए: 17 “किन तिमीहरूले यस पापबलिलाई पवित्र ठाउँमा खाएनौ? किनभने यो त परमपवित्र हो; अनि समुदायको अधर्म बोक्न र परमप्रभुको सामु तिनीहरूका निम्ति प्रायश्‍चित गर्न परमेश्‍वरले यो तिमीहरूलाई दिनुभएको हो। 18 हेर, त्यसको रगत पवित्रस्थानभित्र ल्याइएन! मैले आज्ञा गरेअनुसार तिमीहरूले यसलाई पवित्र ठाउँमा साँच्‍ची नै खानुपर्नेथियो!” 19 तब हारूनले मोशालाई भने: “हेर, आजको दिन तिनीहरूले परमप्रभुको सामु आफ्नो पापबलि र आफ्नो होमबलि चढ़ाए; अनि यस्ता कुराहरू ममाथि आइपरे; तब मैले आज पापबलि खाएको भए के त्यो परमप्रभुको दृष्‍टिमा ग्रहणयोग्य हुनेथियो होला?” 20 जब मोशाले त्यो कुरा सुने, तब उनको दृष्‍टिमा त्यो असल ठहरियो।